arrow

अब जसपा एक हुन नसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
Jasapa-upen-mahantha-mahato.jpg
तस्बिर : फाइल

काठमाडौँ। अन्ततः जनता समाजवादी पार्टी फुट्ने भएको छ। पार्टी फुटाउन दुवै पक्षले कार्यकारिणी समितिका सदस्यहरू र सांसदहरूको गणना गर्न सुरु गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले बहुमत जुटाएका छन्। बहुमत सदस्यको हस्ताक्षर जुटाइ भट्टराई र यादव पक्षले जसपा बाट प्रतिनिधित्व गरेका लुम्बिनी प्रदेशका ४ प्रदेश मन्त्रीलाई कारबाही गराएका छन्।

४ मन्त्रीलाई कारबाही गरे लगत्तै त्यसको प्रतिवाद महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले गरेका छन्। ठाकुर र महतोले शुक्रवार निर्वाचन आयोग र प्रदेश सभा सचिवालयलाई चिठी लेखी जसपा बाट प्रतिनिधित्व गरेका ४ मन्त्रीलाई कारबाही गर्ने निर्णय पार्टीको आधिकारिक नभएको बताएका छन्। ठाकुर र महतोले चिठी लेख्नु अघि नै लुम्बिनी प्रदेशका सभामुखले ४ मन्त्रीलाई कारबाही गरेको निर्णय सुनाएका थिए। लुम्बिनी प्रदेश सभाका सभामुखले गरेको निर्णय विरुद्ध अदालतमा जाने घोषणा ठाकुर—महतो पक्षधरहरूले गरेका छन्।

लुम्बिनी प्रदेशमा पूर्व समाजवादीका ५ र पूर्व राजपाका एक सांसद छन्। ६ सांसदमध्ये ४ सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले प्रदेश मन्त्री बनाएका छन्। ४ सांसदलाई कारबाही गरे पछि हाल लुम्बिनी प्रदेशमा पूर्व समाजवादीका २ सांसद मात्र छन्।

गत वैशाख १४ गते कार्यकारिणी समितिको बैठक बसी उक्त बैठकमा उपस्थित बहुमत सदस्यहरूको सर्वसम्मत निर्णयबाट लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गर्ने निर्णय भएको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बताए । कार्यकारिणी समितिले गरेको निर्णय वैधानिक भएको पनि उनले दाबी गरे। 
तर ठाकुर पक्षधर नेता डा.सुरेन्द्र झाले भने लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गर्ने निर्णय पूर्ण रूपमा अवैधानिक भएको दाबी गर्दै यस्तो निर्णयविरुद्ध आफूहरू अदालतमा जाने घोषणा गरे।

गत वैशाख १४गते जसपाका शीर्ष नेताहरूको बैठक बोलाइएको थियो । उक्त बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने कि नबोलाउने भन्नेमा विवाद भयो। भट्टराई—यादव पक्षधर नेताहरू कार्यकारिणी समितिको बैठक बोलाउनु पर्ने अडानमा थिए भने ठाकुर र महतो करोनाको महामारीको कारण बैठक बोलाउन नसकिने अडानमा रहे।

बैठक पछि ठाकुर र महतो बैठक स्थलबाट हिँडे। ठाकुर र महतो हिँडिसके पछि भट्टराई र यादवले आफू पक्षधर नेताहरूलाई बेलाई बैठक गर्न लगाए। उक्त बैठकलाई ठाकुर र महतो पक्षधर नेताहरूले अवैधानिक भएको र बैठक नै नभएको दाबी गर्दै आएका छन्। भट्टराई–यादव पक्षधर नेताहरू भने वैशाख १४ गते बसेको  छलफललाई बैठक मान्नु पर्ने दाबी गर्दै आएका छन्।

यसबिचमा भट्टराई र यादवले पूर्व राजपाका कार्यकारिणी समितिका केही नेताहरूलाई आफूतिर ल्याउन सफल भएका छन्। पूर्व राजपाका अध्यक्ष मण्डल सदस्य महेन्द्र यादव र यादव पक्षधर नेता रमेश यादवलाई भट्टराई–यादवले आफूतिर ल्याएका छन्। यसै गरी राज किशोर यादवसँग निकट भएको गजाधार यादवलाई पनि भट्टराई यादवले आफ्नो पक्षमा ल्याएका छन्।

कार्यकारिणी समितिको बैठक बसेको माइन्युटिङमा महेन्द्र यादव,र मेस यादव र गजाधर यादवले हस्ताक्षर गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ