- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सूर्यप्रसाद उपाध्याय ढुङ्गेलको जन्म १९७० साल बैशाख १९ गते काठमाडौंको भाटभटेनीमा पिता शंकरप्रसाद उपाध्याय ढुङ्गेल र माता हेमकुमारी ढुङ्गेलका छोराका रूपमा सम्पन्न परिवारमा भएको थियो । उनले एमए, बीएल र बीटीसम्मको अध्ययन गरेका थिए । उपाध्यायको विवाह १९८७ सालमा बुनु उपाध्यायसँग सम्पन्न भएको थियो । उनका सन्तानका रूपमा छोरी उर्मिला थिइन् ।
सूर्यप्रसादले अध्ययन पूरा गरेपछि राजनीतिमा सक्रिय भए । त्यसबखत उनले भारतीय स्वतन्त्रता संग्राममा भाग लिएका थिए । अंग्रेजहरूले उनलाई पक्रिएर हजारीबाग जेलमा राखेका थिए । यसै जेलमा पण्डित जवाहरलाल नेहरू पनि सँगै थिए । जेलमा सूर्यप्रसाद उपाध्यायको बौद्धिक तर्कसँग जवाहरलाल नेहरू अत्यन्तै प्रभावित भएका थिए ।
संयुक्त बसाईले गर्दा सूर्यप्रसाद उपाध्याय र जवाहरलाल नेहरूका बीचमा घनिष्ट सम्बन्ध हुनपुग्यो । उनीहरू जेलमा रहँदा ईन्दिरा गान्धी आफ्ना पिता नेहरूलाई भेट्न बारम्बार आउँथिन् । यसै क्रममा जवाहरलाल नेहरूले सूर्यप्रसादलाई नेपालका ठूला र विद्वान नेता हुन् भनेर ईन्दिरालाई परिचय गराएका थिए । यसले गर्दा जवाहरलाल नेहरू र सूर्यप्रसाद उपाध्यायको सम्बन्ध घनिष्टताका साथै पारिवारिक सम्बन्ध हुनपुग्यो । सूर्यप्रसाद उपाध्यायले इन्दीरा गान्धीलाई इन्दु भनेर नेहरूले गर्ने संबोधननै गर्थे ।
भारत स्वतन्त्र भएपछि सूर्यप्रसाद उपाध्यायलाई नेपालमा पनि लोकतन्त्र स्थापना गर्नुपर्छ भन्ने लाग्यो । यसै क्रममा सुवर्ण शमशेर राणा, महावीर शमशेर राणा, महेन्द्र शाह भएर भारतमा रहेका व्यक्तिहरू जम्मा गरी पार्टी गठन गर्ने विषयमा सूर्यप्रसाद उपाध्याय पनि सक्रिय रूपमा लागे ।
नेपालका राणा शासकहरू भारतका अंग्रेज शासन भन्दा पनि थप निरंकुश छन् भन्ने उनीहरूले बुझेका थिए । त्यसैले नेपालमा लोकतन्त्र स्थापनाका लागि सशस्त्र क्रान्तिमात्र एक विकल्प हो भन्नेमा उनीहरू स्पष्ट थिए । त्यसैले २००५ साल साउन १ गते लोकतन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने उद्देश्यका साथ ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को स्थापना भयो । यसरी स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसको सुर्यप्रसाद उपाध्याय संस्थापक महामन्त्री हुनपुगे ।
सूर्यप्रसाद उपाध्यायले नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस समान उद्देश्य भएका नेपालीहरूको संस्था भएको हुँदा दुवैको शक्ति एकै ठाउँमा हुनु पर्छ भन्ने दृष्टिकोण लिएका थिए । उनको जस्तै विचार सुवर्ण शमशेर राणाको पनि थियो । सुवर्णलाई भेट्न वीपी कोइराला पटना जाँदा सुवर्णले पार्टी एकीकरण गरौं र सशस्त्र क्रान्ति गरेर जहानियाँ राणा शासन समाप्त पारौं भन्ने प्रस्ताव राखे ।
वीपी, सुवर्ण, सूर्यप्रसादहरूको छलफल पनि पार्टी एकीकरण गर्ने र सशस्त्र क्रान्ति गर्ने निष्कर्षमा पुग्यो । २००७ सालको क्रान्तिका लागि आवश्यक पर्ने भारतीय सहयोग जुटाउने जिम्मा सूर्यप्रसाद उपाध्यायलाई पार्टीले दिएको थियो । यस कामका लागि सूर्यप्रसाद उपाध्यायले आफ्नो घनिष्ट सम्बन्ध रहेको पण्डित जवाहरलाल नेहरूसँग मद्दत लिए । नेहरूले सकेको सहयोग गरे ।
२००७ सालको क्रान्ति सफल भएपछि सूर्यप्रसाद उपाध्यायलगायत सबै नेताहरू नेपाल आए । लोकतन्त्र स्थापना भएको खुशीयाली दुखी नेपालीको घरसम्म पु-याउनु पर्छ भन्ने उद्देश्य सूर्यप्रसाद उपाध्यायको थियो । राणा शासनले दबिएका जनताको मनोवल बढाउने र शिक्षालाई सहज बनाउनु पर्छ भनेर सूर्यप्रसाद उपाध्याय लागि रहे ।
नेपाली कांग्रेसमा चार ताराको रूपमा वीपी कोइराला, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई लिने गरिन्थ्यो । सम्पन्न परिवारमा जन्मिएर हुर्किएका सूर्यप्रसाद उपाध्यायले वीपी कोइराला र गणेशमान सिंहले जति संघर्षको राजनीति नगरे पनि बौद्धिक र पार्टीको दस्तावेजीकरण गर्ने काममा महत्वपूर्ण योगदान रहेको छ ।
२०१५ सालको संसदीय चुनावमा काठमाडौं र रामेछापबाट सूर्यप्रसाद उपाध्याय चुनाव लडे । तर दुबै ठाउँबाट पराजित हुन पुगे । त्यस समयको विधान अनुरूप पराजित भए पनि सभामुख र मन्त्री बन्न मिल्ने भएको हुँदा कृष्णप्रसाद भट्टराई सभामुख र सूर्यप्रसाद उपाध्याय मन्त्री बने । जनताको जीउधनको रक्षा र विकासलाई तीव्र गति दिन सूर्यप्रसाद उपाध्याय निरन्तर लागि रहे । सरकारले जनचाहना अनुरूप तीव्र रूपमा विकासको काम गरिरहेको थियो ।
तत्कालीन राजा महेन्द्रको निरंकुश बन्ने महत्वाकांक्षाले गर्दा २०१७ साल पुस १ गते प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतका नेताहरूलाई सैनिकको बलमा थुनेर जनप्रतिनिधि संस्था संसद विघटन गरिदिए । नेपाल पुनः अँधेरो सुरूङ्गमा प्रवेश गर्यो । शाहवंशीय राजाहरूको विरूद्धमा नेपाली कांग्रेसले यसै समयदेखि आन्दोलन अघि बढाउनु पर्यो ।
सूर्यप्रसाद उपाध्यायको स्वास्थ्यको कारण केही वर्षको कारावासपछि रिहा भए । उनको भाटभटेनीस्थित निवास सबैका लागि आश्रय स्थल बन्न पुग्यो । दुःखमा रहेका सबैलाई सूर्यप्रसाद उपाध्यायले सहयोग गरे । राजासँग पनि मेलमिलापको नीति लिएर नेताहरू छुटाउन सकिन्छ की भनेर प्रयास गरिरहे ।
कपटले भरिपूर्ण भएका राजा महेन्द्र शाहको अगाडि सूर्यप्रसादको प्रयासले सार्थकता पाउन सकेन । युवाहरूलाई संगठित गर्ने र त्यसलाई वैचारिक, सैद्धान्तिक र आर्थिक खुराकले सक्षम बनाएर प्रजातन्त्र पुनःस्थापना गराउने आन्दोलनलाई उनले निरन्तर अघि बढाई रहे । सूर्यप्रसाद उपाध्याय यस समयमा शान्तिपूर्ण आन्दोलनको पक्षमा थिए ।
महेन्द्र शाहले बोलाएर ‘प्रधानमन्त्री बन्न पर्यो’ भनेछन् । महेन्द्र शाहको कुटील राजनीतिलाई नजिकबाट चिनेका कुशल राजनीतिज्ञ सूर्यप्रसाद उपाध्यायले भनेछन्, ‘म तयार छु तर मेरा नेताहरू र सबै कार्यकर्ताहरू रिहा हुनुपर्यो । उनीहरू माथिको मुद्दा रद्द हुनुपर्यो, लुटिएको सम्पत्ति फिर्ता हुनुपर्यो ।’
कांग्रेसले बाहिर बसेर गरेको सशस्त्र आन्दोलनको पक्षमा उनी रहेनन् । मेलमिलापको नीतिबाटै समस्याको समाधान निकाल्नुपर्छ भनेर लागे । सूर्यप्रसाद सँगसँगै सुवर्ण शमशेरले पनि शान्तिपूर्ण आन्दोलनका साथै मेलमिलाप र संवादको नीति अघि सारे । यसैले गर्दा २०२५ सालमा वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू रिहा हुन सम्भव भयो ।
सूर्यप्रसाद उपाध्याय चनाखो र कुशलताको प्रतीक थिए । २०१७ सालको घटनापछि राजा महेन्द्र शाहले नेपाली कांग्रेसका नेताहरूलाई प्रलोभनमा पारेर आफूतर्फ तान्न प्रयासरत थिए । यसै क्रममा कांग्रेसबाट पलायन भएका डा. तुलसी गिरी र विश्ववन्धु थापाले महेन्द्र शाहलाई सूर्यप्रसाद उपाध्यायलाई प्रधानमन्त्री बनाएर पक्षमा ल्याउनु पर्यो भनेछन् ।
त्यसपछि महेन्द्र शाहले बोलाएर ‘प्रधानमन्त्री बन्न पर्यो’ भनेछन् । महेन्द्र शाहको कुटील राजनीतिलाई नजिकबाट चिनेका कुशल राजनीतिज्ञ सूर्यप्रसाद उपाध्यायले भनेछन्, ‘म तयार छु तर मेरा नेताहरू र सबै कार्यकर्ताहरू रिहा हुनुपर्यो । उनीहरू माथिको मुद्दा रद्द हुनुपर्यो, लुटिएको सम्पत्ति फिर्ता हुनुपर्यो ।’
महेन्द्र शाहले ‘प्रधानमन्त्री बनेर आफैंले नै रिहा लगायतको काम गर’ भनेछन् । त्यसपछि सूर्यप्रसाद उपाध्यायले भनेछन्, ‘मेरो अर्को सर्त छ– नेपाली कांग्रेसलाई अहिले तीन जनाले धोका दिएका छन्, डा.तुलसी गिरी, विश्ववन्धु थापा र नागेश्वरप्रसाद सिंह यिनीहरुलाई मन्त्रिमण्डलमा राख्दिन ।’
त्यसपछि राजाले आफ्नो स्वार्थपूर्ति नहुने देखेपछि यो कुरा तीनै जनालाई सुनाएछन् । त्यसपछि सूर्यप्रसाद उपाध्यायलाई राज्य लगाएर विभिन्न किसिमले अपमानित गर्ने र दुःख दिने काम निरन्तर भइरह्यो ।
सूर्यप्रसाद उपाध्यायले वीपी कोइरालालाई नेता भनेर संबोधन गर्थे । सुवर्ण शमशेर राणा र गणेशमान सिंह उनका समकक्षी थिए । नेपाली कांग्रेसको घोषणापत्र दस्तावेजहरू सूर्यप्रसाद उपाध्यायले नै लेख्थे । उनले लेखेको त्यस समयमा सबैले मन पराउँथे । नेपाली कांग्रेसमा चार ताराको रूपमा वीपी कोइराला, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई लिने गरिन्थ्यो । सम्पन्न परिवारमा जन्मिएर हुर्किएका सूर्यप्रसाद उपाध्यायले वीपी कोइराला र गणेशमान सिंहले जति संघर्षको राजनीति नगरे पनि बौद्धिक र पार्टीको दस्तावेजीकरण गर्ने काममा महत्वपूर्ण योगदान रहेको छ ।
आफ्नो पछिल्लो पुस्ताको संरक्षण गर्ने महत्वपूर्ण काम सूर्यप्रसाद उपाध्यायबाट भएको छ । वर्तमान कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी लगायतका नेताहरूलाई राजनीतिक, सैद्धान्तिक, बैचारिक र आर्थिक रूपले पनि सहयोग गरेका थिए ।
पञ्चायत कालभरका राजाहरू र पञ्चहरूको बक्रदृष्टि सधैं नै सूर्यप्रसाद उपाध्याय माथि पर्यो । उनको व्यक्तित्वलाई अपमानित गराउन विभिन्न परिपञ्चहरू रचिएका छन् । उनलाई तत्कालीन जनवर्गीय किसान संगठनको सदस्यता लिन लगाएर अपमान गरिएको थियो । सूर्यप्रसाद उपाध्यायले यो आफ्ना नेताहरूलाई जेलबाट छुटाउन तत्कालीन राजा महेन्द्रको विश्वास जित्न गरेका थिए ।
सरल, सादगी, निष्ठा र विद्धताले भरिपूर्ण भएको सूर्यप्रसाद उपाध्यायको व्यक्तित्वबाट त्यस बखतका शासक क्षुब्ध रहे । तर पनि आफ्नो जीवनभर सूर्यप्रसाद उपाध्यायले निष्ठाको धरोहर लोकतन्त्र र कांग्रेसलाई डगमगाउन दिएनन् । नेपाली कांग्रेसको एक नक्षत्रका रूपमा आज पनि सूर्यबाबु अमर छन् ।