arrow

युरेनियम अन्वेषणमा नयाँ तथ्य, पेट्रोल र नुनखानी भेटियो

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
pet.jpg.jpeg

मुस्ताङ । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०÷७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ ।

त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि.सं २०७०÷७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो ।

“युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ”, खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने “समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।” युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए ।

“यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ”, उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ ।

खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए ।

“नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो”, प्रमुख पौडेलले भने । लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।

“कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन, आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ”, उनले भने । सोमबार मुस्ताङ पुगेको टोली बुधबार राजधानी फर्किएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ