arrow

काँग्रेस कार्यसमितिले कहिले पाउला पूर्णता, जिल्लाको अधिवेशनसमेत सकिएन

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
congress.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसको गत फागुनमा भएको महाधिवेशनमा निर्वाचित सभापति शेरबहादुर देउवाले महाधिवेशनको चार महिना पूरा हुँदा पनि कार्यसमितिलाई पूर्णता दिन सकेका छैनन् । आकांक्षी धेरै भएपछि उनले अहिलेसम्म कार्यसमितिलाई पूर्णता दिन नसकेका हुन् । विमलेन्द्र निधि उपसभापतिका प्रमुख दावेदार मानिदै आएका छन् । उनले शेरबहादुरलाई काँधमा थापेको धेरै भइसकेको छ । तर चुनावका बेलामा अर्का नेता खुमबहादुर खड्काले निकै मेहनत गरेकाले पनि उनी नै उपसभापति हुने अभिलाषा बोक्दै आइरहेका छन् । देउवाले आफ्नो खेमालाई वास्ता गर्छन् कि अर्को खेमाबाट आएको व्यक्तिलाई भनी निकै गाइँगुइँ पनि भइरहेको छ ।
त्यस्तै महामन्त्रीका आकांक्षी पनि धेरै देखिएका छन् । त्यसमा पूर्णबहादुर खड्काको नाम देउवा क्याम्पमा रहेको छ । तर त्यसबाहेक प्रकाशशरण महत पनि आकांक्षाी देखिएका छन् । त्यतिमात्र नभई वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा रहेका नेताहरु पनि आकांक्षी भइरहँदा सन्तुलनमा ल्याउन देउवालाई सकस भएको छ ।
सामान्यतया निर्वाचन भएको एक महिनाभित्र पदाधिकारी थपेर कार्यसमितिलाई पूरा गर्नुपर्ने नियम छ ।
त्यसो त निर्वाचन भएको चार महिना पूरा हुँदा पनि अहिलेसम्म काँग्रेसले चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै गर्न सकेको छैन ।
काँग्रेसको १३औँ महाधिवेशनमा आन्तरिक विवादका कारण सात जिल्लाको अधिवेशन हुन सकेको थिएन । गत जेठ २२ गते बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले असार पहिलो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न परिपत्र गरे पनि असारको तेस्रो हप्ता हुँदासम्म तीन जिल्लाबाहेक चार जिल्ला र एक क्षेत्रको अधिवेशन हुन नसकेको हो । अधिवेशन हुन नसकेकामा थानमा सिरहा, धनुषा, महोत्तरी, पर्सा र धनुषाको क्षेत्र नं ५ हो ।

पछिल्लोपटक अधिवेशन सम्पन्न भएका जिल्लामध्ये सिन्धुपाल्चोकमा विकास लामा, बझाङमा हर्कजङ्ग बहादुर सिंह र कञ्चनपुरमा हरिप्रसाद बोहरा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले केन्द्रबाट सबै जिल्लामा अधिवेशन गर्न परिपत्र गरिसकिएको, जिल्लाका निर्वाचन अधिकृतले निर्वाचनको कार्यतालिका मिलाउँदै गर्दा ढिला भएको बताएका छन् । उनले अरू जिल्लामा पनि छिट्टै अधिवेशन गर्न लागिरहेको बताए ।
अपूर्ण केन्द्रले तत्काल चुनाव गर्न दबाब दिने तर जिल्लाहरु चुनाव नै गर्न नसक्ने स्थितिमा पुग्दा पुराना पार्टीका पुरानै कुरा भनेरसमेत आलोचना हुन थालेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ