arrow

महामारीसँगै विपन्न वर्गमा भोकमरीको चिन्ता बढ्दो

logo
राम धामी,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
lockdown-hunger.jpg
तस्बिर : गत वर्ष लकडाउनका बेला एकीकृत विकास समाज नामक स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधीहरु विपन्न समुदायलाई राहत वितरणगर्दै । राम धामी

डडेलधुरा । कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै विपन्न परिवारमा भोकमरी बल्झिने चिन्ता बढेको छ । कोरोनाको दोस्रो लहर बढेसँगै डडेलधुरासहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा वैशाख दोस्रो सातादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण मुख्य गरी दैनिक रूपमा ज्याला मजदुरी गर्ने परिवार समस्यामा परेका हुन् । 

निषेधाज्ञाले दैनिक मजदुरी गरेर छाक टार्दै आएकाहरूले काम गर्न पाएका छैनन् । विपन्न परिवारको आम्दानी गुमेपछि उनीहरूलाई छाक कसरी टार्ने ? भन्ने पिरलो बढेको हो । मुख्यतया बाढी र पहिरोका कारण विस्थापित, आगलागी पीडित र भारतबाट रोजगारी गुमाएर गाउँ फिर्ता भएका परिवारलाई भोकमरीको चिन्ता छ । 

अघिल्लो वर्षजस्तो यसपालि स्थानीय तह र सामाजिक संस्थाहरूले राहत वितरण नगरेपछि विपन्न परिवारमा भोकमरीको चिन्ता छाएको हो । ‘निषेधाज्ञाले काम गर्न पाइएको छैन । आम्दानी नभएपछि महामारीसँगै भोकमरीको चिन्ताले सताउन थालेको छ ।’ डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा दैनिक ज्यालादारी काम गर्दै आएका स्थानीय राजु  विश्वकर्माले भने । ‘खेती गरौँ भने जग्गा छैन, सङ्कलन गरिएको बालुवा गिट्टी बिक्री हुँदैन । राहत बाँड्न पनि कोही आएनन्, अब त रोगले भन्दा भोकले मर्ने अवस्था आएको छ ।’ रुडुवाखोलामा दिनहुँ गिट्टी बालुवा सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएकी स्थानीय पार्वती बोहराले भनिन् । 

परशुराम नगरपालिका–६ सिमल खेतका रूपलाल डाङीको पीडा पनि उस्तै छ । ‘कोरोनाभन्दा हामीलाई भोकमरीको डर भयो,’ उनले भने, ‘बाढीका कारण घरबारविहीन भएका सयौँ परिवारका सदस्यहरू दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा निषेधाज्ञाका कारण बिचल्लीमा परेका छन् ।’

सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लामा अधिकांश परिवारलाई स्थानीय उत्पादनले वर्ष भरी खान पुग्दैन । यस कारण अधिकांश परिवारका सदस्य मजदुरीका लागि भारत जान्छन् । तर, भारतमा कोरोना महामारी फैलिएपछि अधिकांश सुदूरपश्चिमवासी गाउँ फर्किएका छन् । भारतमा रोजगारी गुमाएर फिर्ता भएको र गाउँमा उत्पादन पनि राम्रो नहुने भएपछि धेरै परिवारमा यही महामारीमा भोकमरीको अवस्था आउने खतरा बढेको छ । 

भोकमरीको चपेटामा सबैभन्दा बढी दैनिक मजदुरी गर्ने परिवार, प्राकृतिक प्रकोपका कारण विस्थापित, विपन्न र दलित समुदाय पर्ने देखिएको दलित महिला सङ्घ डडेलधुराकी कार्यक्रम संयोजक सुनिता रोकाले बताइन । उनले गत वर्ष कोरोना महामारीमा बेला संस्थाका विभिन्न कार्यक्रम कटौती गरेर विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई राहत वितरण गरेको स्मरण गर्दै निषेधाज्ञा लम्बिँदै गएमा यसबर्ष पनि सरकारी तथा गैर सरकारी संस्था र निकायहरूले राहत वितरणका कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याईन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ