arrow

च्याउ खाँदा आमाको मृत्यु ,तीन जना छोराछोरीसहित छ जना बिरामी

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
musroom.jpg.jpeg
दोलखा । बुधबार दोलखाको दुर्गम गाविस कालिञ्चोक–७ मा च्याउ खाँदा आमाको मृत्यु भएको छ भने तीन जना छोराछोरीको अवस्था गम्भीर रहेको बताइएको छ । 
 
मृत्यु हुनेमा ४८ वर्षीया फूलमाया तामाङ रहेको स्थानीयवासीले बताएका छन् । आमासँगै विषालु च्याउ खाएर गम्भीर बिरामी परेका १७ वर्षीया छोरी अनिता तामाङ, १४ वर्षीय छोरा काले तामाङ र नौ वर्षीया छोरी सानुकान्छी तामाङ भने बेहोस अवस्थामा रहेको कालिञ्चोकबाट स्थानीय ग्लाबो तामाङले जानकारी दिए । 
 
च्याउ खाएकै कारण सोही स्थानका अन्य तीन जना पाख्रिन परिवार पनि बिरामी परेका थिए । उनीहरुलाई भने घरेलु उपचारपछि सामान्य अवस्थामा फर्काइएको बताइएको छ । फूलमायाका छ जना छोराछोरीमध्ये एक जना विदेशमा रहेको र अरु दुई जना भैँसी गोठमा जङ्गलमा बुबासँग बसेका कारण उनीहरुलाई केही नभएको बताइएको छ । 
 
जङ्गली विषालु च्याउ खाँदा आमालाई सुरुमा मानसिक समस्या देखिएको र पछि उनी खोलामा लडेर मरिरहेको अवस्थामा भेटेको स्थानीयवासीले बताएका छन् । एकै परिवारका चार जनाले खाएको च्याउले आमाको ज्यान लिएको छ भने छोरोछोरी बेहोस अवस्था रहेकाले उपचारका लागि चरिकोट ल्याउन लागिएको बताइएको छ । घटनास्थलतर्फ प्रहरी गएको छ । 
 
घटनास्थलतर्फ प्रहरी गए पनि वर्षा तथा टाढा भएका कारण प्रहरीले आधिकारिक जानकारी दिन नसकेको प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए । घटना च्याउ खाएर नै होकि होइन भन्ने प्रहरीले आवश्यक अनुसन्धानबाट पत्ता लगाउने बताएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ