arrow

असन्तुष्ट नेविसंघ नेताहरु भागवण्डाविरुद्ध आमरण अनसन बस्ने

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
nebisangha-300x155.jpg.jpeg
काठमाडौं । आसन्न नेपाल विद्यार्थी संघको महाधिवेशन विधिवत् रूपमा नगरिएको भन्दै नेविसंघका केही नेताहरूले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि विद्यापीठमा आयोजित नेविसंघको महाधिवेशनमा चुनौती शीर्षकको बहसमा बोल्ने नेताहरूले विधिवत रूपमा सातदिन भित्र महाधिवेशनको काम सुरूवात गर्न पनि अल्टिमेटम दिएका छन् । 
 
अहिले निर्विवादित ढङ्गले अधिवेशन भएको जिल्ला जम्मा ४१ वटा मात्रै रहेको भन्दै भागवण्डामा अधिवेशन टुङ्गाईएका जिल्लाहरूमा फेरि अधिवेशन गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन् । उनीहरूले मिति तोक्नु मात्रै ठूलो कुरा नरहेको भन्दै विवादरहित ढङ्गले काम गर्नु महत्वपूर्ण हुने तर्क पनि गरे । 
 
यसको लागि ४१ जिल्ला बाहेकका सबै जिल्लामा पुनः अधिवेशन गर्नुपर्ने माग उनीहरूको थियो । कार्यक्रममा बोल्दै नेविसंघ नेता कुन्दन काफ्लेले भागवण्डाको नेतृत्व मान्न नसकिने स्पष्ट पारे । सातदिन भित्र प्रक्रियागत ढङ्गबाट ४१ जिल्ला भन्दा बाहेकका जिल्लामा अधिवेशन गर्न आग्रह गर्दै यसो नभए आफूहरू नेतृत्वविरूद्ध आमरण अनसन बस्न सुरू गर्ने चेतावनी पनि दिए । 
 
कार्यक्रममा बोल्दै नेता गणेश सापकोटाले पनि आफूहरू नेविसंघलाई भागवण्डाको राजनीतिबाट मुक्त गराउने पक्षमा रहेको भएपनि नेतृत्वले भागवण्डाकै राजनीति मौलाउन प्रोत्साहन गरेकोले आफूहरू आन्दोलनमा जान समेत तयार हुनु परेको स्पष्ट पारे । उनले पनि ४१ जिल्ला बाहेक अन्यत्रको सबै जिल्लामा फेरि अधिवेशन हुनुपर्ने जिकिर गरे । 
 
कार्यक्रममा विद्यार्थीनेताहरू बलदेव तिमल्सिना, जीत शेरचन, तुलसा पन्त, कैलाली जिल्लाका नेविसंघ सभापति पवनय लामा, काभे्रका जिल्ला सभापति माधव ढकाल, त्यस्तै, डिल्लीराम सुवेदी, लगायतले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ