arrow

'शरीरको जन्म-मरण चलिरहन्छ'

logo
ज्ञान,
प्रकाशित २०७८ जेठ ३ सोमबार
krishna-arjuna-geeta.jpg

काठमाडौँ ।  भगवान् श्रीकृष्ण कर्मयोग शास्त्र गीतामा अष्टधा प्रकृतिको विषयमा भन्नुहुन्छ । पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र  अहंकार यसप्रकार आठ किसिमले विभाजित मेरो जड प्रकृति  छ अनि यसदेखि अर्को प्रकृति जसद्वारा यो सम्पूर्ण जगतलाई धारण गरिन्छ, त्यसलाई मेरो परा अर्थात् चेतन प्रकृति जान । बाहिरी गोलाकारमा आठ अर्थात् अष्टधा प्रकृति छन् । जुन रहस्यको कुरा भगवान् श्रीकृष्णले भन्नभयो, हे अर्जुन! यो सारा संसार तीन गुणले बनेको छ-सत, रज र तम। यही सारा संसारको आधारभूत तत्त्व हुन् ।

 हाम्रा सन्तहरूले भनेका छन् यो जुन प्रकृति छ, यसको  परिवर्तन हुन्छ । यो परिवर्तन हुने चीज हो । यो संसार जसलाई  ब्रह्माले रचेका हुन्, यसको पनि अन्त्य हुनेछ । यो पनि शाश्वत छैन, तर त्यो शक्तिलाई सनातन भनियो जसको न त सुरुआत छ  न त्यसको अन्त्य नै छ, न जसको जन्म हुन्छ न त  त्यसको मरण नै हुन्छ । यस कारण भगवान् श्रीकृष्णले कर्मयोग गर्नु हुन्थ्यो । रासलीलामा शास्त्र गीतामा सम्झाउँछु हुन्छ ।
 नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
 न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।

भगवान् श्रीकृष्ण भन्नुहुन्छ  हे अर्जुन! आत्मा अजर, अमर, अविनाशी छ. शरीरको अन्त्य हुन्छ, आत्माको हुँदैन । जसरी एउटा बोतल भिन्न जुन आकाश तत्त्व हुन्छ, त्यो असीम हुन्छ अनि जुन आसमानमा आकाश तत्त्व छ, त्यो पनि असीम छ, तर जसै हामी बोतलको मुख बन्द गछौं, त्यसभित्रको असीमित आकाश सीमित बन्छ।

ठिक उस्तै गरी यो आत्मा बाँधिन्छ। हामी मृत्युलाई स्थूल शरीरको सूक्ष्म शरीरमा परिवर्तन मान्दछौँ। अर्थात् यो जुन स्थूल पाञ्चभौतिक शरीर थियो, त्यो अब समाप्त भयो । सूक्ष्म शरीरको बारेमा अनेक प्रयोग गरिएका छन्  भन्नुको अर्थ त्यो स्थल शरीर अब सूक्ष्ममा परिवर्तन भयो । जहिलेसम्म हाम्रा सूक्ष्म शरीर रहन्छ, तबसम्म हाम्रो अस्तित्व रहने छ ।

शङ्कराचार्यले भनेका छन् -'पुनरपि जन्म पुनरपि मरणं', यो शरीरको जन्म-मरण चलिरहने छ । स्थूल र सूक्ष्म शरीर समाप्त भएपछि जब कारण शरीर पनि समाप्त हुने छ, तब हाम्रो मुक्ति हुन्छ। जब कुनै मानिस मर्छ, तब मानिसहरूले त्यहाँ दियो बाल्छन् उसको सूक्ष्म शरीर वहाँ आउँछ भनेर।  

अर्जुनले जब भगवान् श्रीकृष्णलाई भन्छन्, मेरो पुत्र अभिमन्युलाई चक्रव्यूहभित्र धोका दिएर मारियो। म आफ्नो प्रिय पुत्रसँग भेट गर्न चाहन्छु । तब भगवान् श्रीकृष्ण अर्जुनलाई लिएर अभिमन्युको सूक्ष्म शरीरलाई हेर्न स्वर्गमा जानुभयो, अनि अभिमन्युलाई देखेर अर्जुन मोहग्रस्त भएर पुत्र-पुत्र भन्न थाल्छन् । तर अभिमन्युले भन्छन्, तपाईँले कसलाई पुत्र भन्नु हुँदै छ ? कहिले तपाई मेरो पुत्र बन्नु भयो अनि कहिले म तपाईँको पुत्र बने यो क्रम त चलिरहन्छ । संसारमा यस प्रकारले जुन्म - मरणको चक्र त सदा चलिनै रहन्छ। तब अर्जुनले बुझे जसलाई हामी आफ्नो भन्छौँ, ऊ हाम्रो होइन, वास्तविकता त अर्कै तत्त्व रहेछ ।

उस्तै अष्टावक्रले राजा जनकलाई भन्छन्, राजन! तिमीले जुन सपनामा आफू भिखारी भएको अनि आँखा खुल्दा आफू राजमहलमा राजा नै भएको देख्यौ त्यो सबै अवस्था सत्य होइन । राजन! सत्य त त्यो शक्ति हो। जसद्वारा तिमीले दुवै अवस्थाको अनुभव गरिरहेका छौ । जुन तिम्रो चेतनाको शक्ति छ, जुन तिम्रो चेतना छ त्यही हर अवस्थामा सत्य हो।

 दुई भौतिक आँखाले संसारलाई देख्न सक्छौँ, तर आफ्ना आँखाले आफ्नो अनुहार देख्न सक्तैन । हामीलाई हाम्रो अनुहार हेर्न ऐना- चाहिन्छ। उस्तै गरी आफैले आफैलाई जान्नको लागि हामीले  ऐनारूपी सद्गुरुकोमा जानै पर्छ जसले हामीलाई आफैँमा ज्ञान गराइदिन्छन् ।

 जब हामी आफ्नो आत्माद्वारा आत्मालाई जान्ने छौँ,  त्यसमा पनि प्रतिबिम्ब हुन्छ, त्यसमा पनि अनन्तताको अनुभव हुन्छ । यस कारण अनन्तको अनुभव गर्नका लागि आत्मा द्वारा आत्मालाई जान्नै पर्छ अनि यही रहस्यको कुरा भगवान् श्रीकृष्णले गीता कर्मयोग शास्त्रमा सम्झाउनुभएको छ । हे अर्जुन आत्मालाई आत्माद्वारा जान आत्मालाई आत्माद्वारा हेर । मानिसहरू त आत्माद्वारा शरीरलाई हेर्दछन्, पाञ्चभौतिक शरीरलाई मात्र हेर्दछन् आत्मा द्वार  आत्मालाई हेर्दैनन् ।

जब एकनाथ गङ्गा स्नान गरेर भक्ति मण्डली साथ एक पात्रमा गंगा जल लिएर भगवान् शंकरलाई चढाउन गइरहेका थिए, बाटामा तिर्खाले तडपिरहेको एउटा गधा भेटे। त्यो पानी नपाएर छटपटाइरहेको थियो, जुन यात्रीहरू गंगाजल लिएर  जान्थे, उनीहरूले त केवल गधाको शरीरलाई मात्र हेर्थे, अरे  यो त गधा हो। एकनाथले आत्माको दृष्टिले हेरे अनि उनले आफ्नो सारा गङ्गा जल त्यो तिर्खाएको गधालाई पिलाएर भने  तपाई नै मेरो शङ्कर भगवान् हो। उनले गधाको शरीरलाई हेरेनन्, गधाको आत्मालाई हेरे अनि आत्मालाई नै पानी पिलाए। भगवान् शङ्कर प्रसन्न हुनुभयो, हे भक्त एकनाथ तिम्रो  भक्ति सफल भयो । तिमीले मलाई तत्त्व द्वारा चिन्यौ, तिमीले  चेतनालाई मात्र हेर्‍यौ, शरीरलाई हेरेनौ।



नयाँ