arrow

आत्माको दुर्विज्ञता

logo
ज्ञान,
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
manu-brihaspati.jpg

मनु महाराज बृहस्पतिलाई भन्छन्, हे बृहस्पते! मनुष्यले त्यस आत्माको दर्शन यस आँखाले गर्नु सक्तैन, त्वचा द्वारा स्पर्श गर्नु सक्तैन। आत्मा सर्वज्ञ र सबैको साक्षी छ तथा सर्वज्ञ हुनको कारण यी सबैलाई देख्छ पनि । तर जसरी मनुष्यले नदेखे पनि हिमालयको पृष्ठभाग अनि चन्द्रमाको पृष्ठभागको विषयमा त्यो छँदै-छैन भन्न सकिँदैन, उस्तै प्रकार सम्पूर्ण भूतहरूको ज्ञान स्वरूप आत्मा इन्द्रियहरूको विषय नभएर पनि ‘छैन’ भन्न सकिँदैन । 

रूपवान वस्तुहरू उत्पत्ति हुनुभन्दा पहिले अनि नष्ट भएपछि रूपहीन रहन्छन्, यस नियम द्वारा जसरी बुद्धिमान मानिसले त्यसको अरूपताको कल्पना गर्छ अनि सूर्य उदय र अस्त हुनुबाट जसरी त्यसको गतिको अनुमान हुन्छ, उस्तै प्रकार विवेकीजन बुद्धि रूप प्रकाश द्वारा दूरस्थ ब्रह्मको साक्षात्कार गर्दछन् । 

जसरी मृग द्वारा मृगलाई, पक्षी द्वारा पक्षीलाई अनि हात्ती द्वारा हात्तीलाई पक्रन सकिन्छ, उस्तै प्रकार ज्ञान स्वरूप आत्मालाई ज्ञान द्वारा ग्रहण वा जान्न सकिन्छ । हामीले सुनेका छौं कि साँपको खुट्टा साँपले मात्र देख्छ । उस्तै प्रकार समस्त शरीरहरूमा स्थित ज्ञेय आत्मालाई मनुष्यले ज्ञान द्वारा नै जान्न सक्छ । जसरी अन्धकार रूप राहू चन्द्रमातिर आएको वा चन्द्रमालाई छोडेर गएको (चन्द्र ग्रहणको समय) देखिँदैन, उस्तै प्रकार जीवात्मा शरीरमा आएको अनि शरीरलाई छोडेर गएको देखिँदैन । 

जसरी चन्द्रमा वा सूर्यको संयोग हुँदा राहू देखिन थाल्छ, उस्तै गरी शरीरसँग संयुक्त हुँदा आत्माको ‘यो देहधारी हो' यस्तो ज्ञान हुन थाल्छ । तर जसरी चन्द्रमा र सूर्यबाट अलग भएपछि राहुको उपस्थिति रहँदैन, उस्तै प्रकार शरीर छूटेपछि जीव देखिँदैन । जसरी औँसीको राति चन्द्रमा स्वयं अदृश्य भएर नक्षत्रहरूमा मिल्छ, उस्तै प्रकार जीव शरीर छूटेपछि आफ्नो कर्मको फलस्वरूप अर्को शरीरसँग जुडछ अर्थात् कुनै अन्य शरीरमा जन्म लिन्छ ।

जसरी मनुष्यले शुद्ध तथा स्थिर पानीमा आफ्नो आँखाले आफ्नो रूपलाई देख्न सक्छ, उस्तै गरी इन्द्रियहरू शुद्ध अनि स्थिर भएपछि उसले ज्ञान-दृष्टि द्वारा ज्ञेयरूप आत्माको साक्षात्कार गर्नु सक्छ अनि पानी यदि हल्लियो भने जसरी आफ्नो रूप देखिँदैन, उस्तै प्रकार इन्द्रियहरू चञ्चल भयो भने बुद्धि द्वारा आत्माको अनुभव हुन सक्तैन। अज्ञान द्वारा अविद्या उत्पन्न हुन्छ अनि अविद्या द्वारा मन रागादि दोषहरूमा फस्छ । यस प्रकार मन दूषित हुनाले त्यसको अधीनमा बस्ने पाँच ज्ञानेन्द्रियहरू पनि दूषित हुन्छ । 

अतः अज्ञानी मनुष्य विषयहरूमा सदा डुबेर कहिल्यै तृप्त हुँदैन अनि आफ्नो प्रारब्ध अनुसार त्यो विषय- भोगहरूको इच्छाले यस संसारको जन्म-मरणको चक्रमा घुमिरहन्छ । पापको कारण नै संसारमा मनुष्यको तृष्णाको अन्त्य हुँदैन; जब पापहरू नष्ट हुन्छन्, तब उसको तृष्णा समाप्त हुन्छ । विषयहरूको संसर्गले, सर्वदा त्यसैमा डुबेर बस्नाले अनि मन द्वारा विपरीत साधनहरूको अवलम्बन गर्नाले परब्रह्मको प्राप्ति हुँदैन । जब पाप कर्महरू नष्ट भएर जान्छ, तब मनुष्यलाई ज्ञान प्राप्ति हुन्छ । ऐना स्वच्छ छ भने जसरी आफ्नो प्रतिबिम्ब स्पष्ट देखिन थाल्छ, उस्तै प्रकार उसले आफ्नो शुद्ध हृदयमा परमात्माको साक्षात्कार गर्न थाल्छ ।

विषयहरूतिर इन्द्रियहरू फैलिनको कारण मनुष्य दुःखी बनेको छ अनि ती इन्द्रियहरू समेटिएर सङ्कुचित बन्दा सुखी हुन सक्छ । अतः उसले बुद्धि द्वारा इन्द्रियहरूलाई विषयहरूबाट रोकेर वशमा गर्नु पर्छ । इन्द्रियहरूभन्दा मन श्रेष्ठ छ, मनभन्दा बुद्धि श्रेष्ठ छ, बुद्धिभन्दा ज्ञान श्रेष्ठ छ अनि ज्ञानभन्दा परमात्मा श्रेष्ठ छ । अव्यक्त परमात्माबाटै ज्ञान उत्पन्न भएको छ अनि ज्ञानबाट बुद्धि, बुद्धिबाट मन प्रकट भएको छ । यो मनले नै श्रोतादि इन्द्रियहरूसँग संयुक्त भएर विषयहरूलाई देख्छ । जुन पुरुषले विषय, सम्पूर्ण व्यक्त पदार्थ अनि प्राकृतिक विषयहरूलाई त्याग्छ, उसले अमरत्व प्राप्त गर्दछ । तर सकाम कर्म गर्ने पुरुष पटक-पटक जन्म-मरणको चक्रमा परेर सुख-दुखादि कर्मफल भोगिरहन्छ । 

इन्द्रियहरू द्वारा विषयहरू ग्रहण गर्नाले पुरुषको विषय त छुट्छ, तर त्यसमा उसको आशक्ति बनिरहन्छ, उ तब छुट्न सक्छ, जब उसलाई परब्रह्मको साक्षात्कार हुन्छ । जुन समय बुद्धि कर्मजनित गुणहरूबाट छुटेर मननात्मक वृत्तिमा स्थित हुन्छ, त्यस समय मन ब्रह्ममा लीन भएर एकाकार हुन्छ। परब्रह्म स्पर्श, श्रवण, रसन, दर्शन, घ्राण अनि सङ्कल्प सबै प्रकारका कर्महरूले रहित छ, यस कारण उनीसम्म केवल विशुद्ध बुद्धि मात्र पुग्न सक्छ। विषयहरू मनमा लय हुन्छ, मन बुद्धिमा, बुद्धि ज्ञानमा अनि ज्ञान परमात्मामा लय हुन्छ।

इन्द्रियहरूले मनलाई जान्दैन, मनले बुद्धिलाई जान्दैन अनि बुद्धिले अव्यक्त आत्मालाई जान्दैन; तर अव्यक्तले ती सबैलाई जान्दछ । ( महाभारतको शान्तिपर्वबाट)



नयाँ