arrow

जाजली मुनि र तुलाधार वैश्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
jajli-tuladhar.jpg

काठमाडौं । जाजली नामको एक ऋषि थिए । उनी महान् तपस्वी थिए। उनले घोर तपस्या गरेका थिए । ब्रह्मर्षि जाजलीको तेजस्वीताको समानता थिएन । वर्षाकलामा उनी खुल्ला आकाशमुनि सुत्थे अनि जाडो याममा पानीभित्र बस्थे । ग्रीष्म कालमा कडा घाममा खडा रहन्थे, तर पनि उनलाई धर्मको साँचो ज्ञान मिलेन ।

जाजली ऋषिको कपाल लट्टा परेको थियो, उनको शरीरमा मैलाको कात्रो जमेको थियो । निराहार बस्नुको कारण उनको शरीर सुकेर सिट्ठा भएको थियो । उनको मनमा अलिकति पनि व्यग्रता थिएन । उनी रूखको ठुटा जस्तो देखिन्थे । त्यस समय चराले उनको कपालमा गुँड लगायो । उनले त्यो चरालाई भगाउने चेष्टा गरेनन्। चराले अण्डा पारेको उनलाई थाहा लाग्यो, तर उनले केही गरेनन् । चराहरू दिनभरि दाना चरेर फेरि त्यही जट्टामा आएर सुखपूर्वक बस्थे । अण्डाहरूबाट बच्चाहरू निस्के अनि ठुलो भएर हुर्के, तर पनि जाजली मुनि हलचल नगरी बसिरहे ।

चराको बच्चाहरू हुर्केर उड्न थाले, त्यो देखेर ऋषि खुशी हुन्थे । चराको जोड़ी पनि बच्चाहरूसँग निर्भयपूर्वक ऋषिको जट्टामा आफ्नो गुँडमा बस्थे । बच्चाहरू पनि दिनभरि आमा-बाबालाई छोडेर जान्थे अनि घुमफिर गरेर साँझ त्यहीँ फर्केर आउँथे । तर एक दिन सबै यस्तरी उडेर गयो कि महिना दिनसम्म फर्केर आएन, तब जाजली मुनि पनि त्यहाँबाट उठेर अन्यत्र गए ।

जाजली मुनि आफ्नो कपालमा त्यसरी चराले आफ्नो गुँड लगाएर अनि बच्चाहरू हुर्काएर लगेकोमा आफूलाई महान् धर्मात्मा सम्झन थाले । त्यही समय आकाशवाणी हुन्छ, ' हे जाजली! तिमी धर्मको विषयमा तुलाधारको दाँजोमा पनि आउँदैनौ, जाऊ, वाराणसी गएर तुलाधारबाट तिमीले धर्मको शिक्षा लेउ ।'

जाजली मुनि वाराणसी पुगे । वहाँ उनले तुलाधार वैश्यलाई सौदा बेच्दै गरेको देखे । तुलाधारले उनको स्वागत गरे अनि भने, 'मलाई यो थाहा लागिसकेको छ कि तपाईँले यति घोर तपस्या गर्नुभयो कि तपाईँको जट्टामा चराले गुँड लगायो, अण्डा पायो, अण्डाबाट बच्चाहरू निस्के अनि हुर्केर गए, तर पनि तपाईँ विचलित हुनुभएन । यस कारणले तपाईँलाई स्वयं धर्मज्ञ भएको गर्व भयो अनि आकाशवाणी सुनेर तपाईँ मेरोमा आउनुभएको छ । भन्नुहोस्, म तपाईँको कुन प्रिय कार्य गरूँ?' जाजलीलाई एकदमै आश्चर्य लाग्यो कि यो सौदा बेच्ने वैश्यले मेरो सबै कुरा कसरी जान्यो? उनले भने, 'तिमीलाई यो धर्म बुद्धि कहाँबाट अनि कसरी मिल्यो? तिमी त पसले हौ, मलाई धर्मको यो रहस्य बताऊ ।'

तुलाधारले धर्मको सारा रहस्य जाजलीको सामु खोलेर राखिदिए । उनले भने, 'जसले सबै प्राणीको हित गर्छ अनि सबैको साथ मित्रताको भावना राख्छ, उही असलमा सच्चा धर्मज्ञ हो । कुनै पनि प्राणीको साथ विभेद गर्नु हुँदैन, यदि नसके कम-से-कम विभेद गर्नाले काम चल्छ भने त्यही जीवन- वृत्ति श्रेष्ठ धर्म हो । म यस्तै प्रकारले आफ्नो जीवन निर्वाह गर्छु । चन्दन आदि साथै अन्य चीजहरू खरिद गरेर बेच्छु, म मदिरा बेच्दिन । बेच्नुको लागि छल-कपट अनि झूटको सहारा लिँदिन । सबैलाई आफ्नो सुहृदय मान्छु अनि सबैको हितमा सदा लागिरहन्छु । यही त धर्मको रहस्य हो । मेरो तराजु सबैको लागि समान छ । कसैसँग कुनै भेद-भाव म गर्दिन । म सदा अनासक्त रहन्छु । न त कसैको झूटो प्रशंसा गर्छु औ न कसैको निन्दा गर्छु । इन्द्रिय-विषयहरूतिर मेरो मन जाँदैन । म सबैलाई अभय दान दिन्छु । जसले अभय दिन्छ, त्यही निर्भय रहन्छ । अतः सदैव अभय-दानको आचरण गर्नुपर्छ । परब्रह्मको प्राप्ति सम्पूर्ण अनि निष्काम अभय-दान द्वारा नै हुन्छ । अभय-दानभन्दा ठुलो कुनै यज्ञ छैन । सबै प्राणीलाई आफू समान सम्झनु पर्छ । पराया कोही छैन । अन्धानुकरण कहिल्यै गर्नु हुँदैन । विवेक-पूर्वक आफ्नो शुद्ध आत्माको आदेश मानेर नै सबै सत्कर्म गर्नुपर्छ । धर्मको सिद्धि कसरी हुन्छ, यसको एक मात्र मार्ग हो कुनै प्राणीमाथि हिंसा नगर्नु । सकाम कर्म गर्नाले स्वर्ग आदि फल मिल्छ, तर त्यो फल क्षीण भएपछि स्वर्गबाट उसको पतन हुन्छ । यस कारण निष्काम कर्म गर्नुमा नै आफ्नो जीवनको कल्याण छ ।'

जजालि मुनिले भन्छन्, 'तिमीले हातमा तराजु लिएर सौदा तौलँदा जुन धर्मको उपदेश गर्छौ, त्यसबाट त स्वर्गको द्वार नै बन्द हुनेछ । तिमी भन्छौ कि खेती गर्नाले कति जीवहरूको नाश हुन्छ, तब अन्न नै पैदा भएन भने कसरी हुनेछ? यो त नास्तिकवाद भयो।'

तुलाधारले जवाफमा भन्छन् , 'म नास्तिक होइन । यज्ञको निन्दा पनि गर्दिन, तर संसारमा यस्तो पुरुष दुर्लभ छ जसले यज्ञको सच्चा स्वरूपलाई जान्दछ । यज्ञ आज कहाँ छ ? वेदका मन्त्रहरूको तात्पर्य नसम्झी यज्ञको प्रचार गरिरहेका छन्। सत्कर्मरूपी हविष्य द्वारा नै देवताहरू सन्तुष्ट हुन्छन् । जसले कुनै लौकिक कामना लिएर यज्ञ गर्छ, उसको सन्तान मूर्ख जन्मन्छ। समदर्शी व्यक्तिको पुत्र पनि समदर्शी हुन्छ । जस्तो राजा उस्तै प्रजा । श्रद्धापूर्वक निष्काम बुद्धि द्वारा गरेको यज्ञले नै मनुष्यलाई धर्मको सींढ़िमा माथि उक्लाउँछ। सङ्कल्प राम्रो छ भने वृक्ष - लताहरूमा सुन्दर फल-फूलहरू लाग्छन्। ब्राह्मणहरूले, क्षत्रियहरूले, वैश्यहरूले सदाचारी अनि ईष्या- द्वेष रहित हुनुपर्छ । सबै रसहरूमा श्रेष्ठ रस ब्रह्मानन्द रस हो। ब्रह्मलाई जान्यो अनि ब्रह्मको साक्षात्कार गयो भने, धर्मको रहस्य स्वतः स्पष्ट रूपले खुल्ने छ।'

जाजली मुनिले भन्छन्, 'हे तुलाधार! धर्मको यस्तो प्रतिपादित रूप मैले आजसम्म सुनेको थिइन । म एउटा कुरा सोध्ने छु, त्यो यो हो कि अज्ञानी व्यक्तिले आत्म-यज्ञ गर्नु सकेन भने, फेरि उसलाई कुन धर्ममा सुख मिल्न सक्छ?'

तुलाधारले भन्छन्, 'अश्रद्धा आदि दोषहरूको कारण यज्ञ रहँदैन । त्यो दम्भ मात्र हुन्छ। श्रद्धालाई पत्नी बनाऊ अनि ज्ञानीले पनि देवता समान आफ्नो आराध्य बनाऊ, तब यज्ञ पुरुष भगवान् विष्णु मिल्न सक्छ । हे जाजली! प्रधान तीर्थ हाम्रो आत्मा नै हो । तीर्थहरू गर्नु देश-देशान्तर किन भटकिहिंड्नु ? मैले जुन अहिंसा प्रधान धर्म बताएँ, त्यसैको आचरण गर्नुपर्छ ।'

त्यसपछि तुलाधार वैश्य द्वारा आत्मज्ञान प्राप्त गरेर तपस्वी जाजली मुनिको गर्व भङ्ग भयो ।



नयाँ