arrow

चौधरी फाउन्डेसन, नबिल बैङ्क र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर

फाउन्डेसनले १८ शय्याको आईसीयू वार्ड र नबिलले अक्सिजन प्लान्ट स्थापना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
chaudhary-nabil-bir-mou.jpg

काठमाडौँ। चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ। फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा.देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

त्यसै गरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ। वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो। अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर-प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताए। “कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,” उनले भने, “हरेक नागरिक, सामाजिक सङ्घसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ।”

नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैङ्कलाई धन्यवाद दिए। “यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने चौधरी फाउन्डेसन र नबिल बैङ्कको निर्णयलाई हामी हृदयदेखि नै स्वागत गर्दछौँ। यो वार्डले सयौँ कोरोना बिरामीलाई जीवनदान दिनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने।

अक्सिजन प्लान्ट स्थापना गर्न लागेको नबिल बैङ्कका सीईओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे। “जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ। त्यसैले पहिले अक्सिजनकै व्यवस्थापनमा लागेका हौँ,” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ