arrow

वर्षाको वितण्डाले दार्चुलामा दुईको मृत्यु, एक बेपत्ता

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
darchula.jpg.png
बैतडी । गएराति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर आज बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन् । 
 
यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ । घरमा रहेको लत्ताकपडा, अन्नलगायत गाईवस्तुसमेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पानी परिरहेका कारण उद्घारमा समस्या भएको बताइएको छ । 
 
यसैगरी, अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी र नाम खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ । 
 
उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खस्दा प्रहरी चौकी सारिएको छ । बिहीबार राति प्रहरी चौकी भवनमा माथिबाट पहिरो आएपछि प्रहरी चौकी वन रेन्जपोस्ट कार्यालयमा सारिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 
वर्षाले दार्चुलाका विभिन्न क्षेत्रमा पहिरो जानका साथै घर भत्किएका छन् । खरकडा–५ ओडीगाँउ, उकु–२ च्युरानी, उकु–९ पन्तवाली, हुनैनाथ–९ औतालेक, सर्मोली–२, भगवती–४, डाँडाकोट–८ लिमेतीलगायतमा स्थानमा पहिरो गएको प्रारम्भिक खबर आएको प्रहरीले बताएको छ । बिहीबार रातिदेखि परेको मुसलधारे वर्षाले दार्चुला जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ । (रासस)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ