arrow

होम आइसोलेसनमा रहेका संक्रमितका लागि फोन स्वास्थ्य सेवा

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ जेठ ५ बुधबार
mobile-sewa.jpg

दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको लागि फोन स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको मङ्गलवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले उद्घाटन गरे । 

संक्रमित भई होम आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य अवस्था बुझ्न फोन स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो । दार्चुलामा ९० प्रतिशत संक्रमित अहिले होम आइसोलेसनमा रहेका छन् । ‘लकडाउनको समयमा होम आइसोलेसनमा रहेकाहरूलाई कोरोनाको त्रासका कारण बढी मात्रामा मानसिक असर परेको देखिन्छ’, जिल्ला जनस्वास्थ्य अधिकृत जयराज भट्टले भने,-‘हामीले मेन्टल हेल्थ सम्बन्धी तालिम लिएका ५ जना स्वास्थ्यकर्मी परिचालन गरेका छौ । उनीहरूले नियमित रूपमा फोनबाट काउन्सिलिङ गर्छन् ।’

होम आइसोलेसनमा रहेकाहरूको स्वास्थ्यस्थितको मूल्याङ्कन गर्न, समयमै अस्पताल आउन, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा कोभिडबाट हुने क्षति कम गर्न फोन स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

हेल्थ असिस्टेन्ट बल बहादुर लुहारले फोनबाटै काउन्सिलिङ गरिरहेको जानकारी दिए । लकडाउनको समय भएकाले भेटेरै प्रत्यक्ष मनोविमर्श गर्न समस्या हुने भएकाले फोनबाटै परामर्श दिने गरेको उनले बताए । ३ जना स्टाफ नर्स र २ जना हेल्थ असिस्टेन्टले फोनबाटै काउन्सिलिङ गरिरहेका छन् । 

लकडाउनको समयमा परामर्शका लागि शुरु गरिएको फोन स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ । कोरोना संक्रमित ३ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना अस्पतालहरूमा उपचाररत छन् ।
 
दार्चुलामा मङ्गलवारसम्म ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ५३ जना कोरोनामुक्त भएका छन् भने ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ