arrow

सिद्धार्थको वैराग्य (भाग तीन)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ जेठ ६ बिहिबार
gautam-buddha1.jpg

यसरी दरबारका ऐश आराम त्यागेर गएका सिद्धार्थ घोडाबाट उत्रे र हातले थपथपाएर उ प्रति अगाध प्रेम करुणा प्रदर्शन गरे र बिदा दिए । उनले सारथिलाई आफूले ल्याएको हिराको हार र मण्डन गरेको कपाल पिताजीलाई दिएर आफू कर्तव्यबाट नहटेको तर सद्धर्मको मार्ग पहिल्याएपछि फर्केर आउने सन्देश सुनाइदिन भनेर बिदा दिए । 

दरबारमा हलचल भयो, खोजीमा सबै लागे । चन्नाले बाटोमा खोज्न जाने मानिसलाई भेटे । उनले अव उनी धेरै पर गइसकेका छन्, खोज्न जानु पर्दैन भनेर रोके । चन्ना पनि केही समय बिरामी परेर मरे। 

सिद्धार्थले जंगलमा एक सन्न्यासी भेष धारणा गरेको तर हातमा धनु वाण लिएको एक व्यक्ति भेटे । उनले शिकारीले किन सन्न्यासी भेष गर्नुपरेको भनेर प्रश्न गर्दा जनावरहरू सन्न्यासी भेषसँग डराउँदैनन् र यसरी नडराएपछि शिकार गर्न सजिलो हुने कुरा बतायो । उनले आफूले लगाएको बहुमूल्य कपडा हो, यो बेच, धनी हुन्छौ, जीव हिंसा नगर्नु भनेर आफू भने उसको कपडा लगाए ।

यसरी उनले अहिंसाको बिरुवा पनि हुर्काउँदै गए । उनले अर्को एउटा सन्न्यासी भेट गरे र आफूले अहिलेसम्म कुनै गुरु नबनाएको कुरा बताए । ती सन्न्यासीले धेरै टाढा आलाम कालाम आफ्ना शिष्यहरू सहित बसेको कुरा बताएपछि त्यतै तिर लागे र नौ दिनको यात्रापछि आलाम कालामलाई भेट गरे, दीक्षा लिए र अरू सन्न्यासी सरह आफ्नो जीवन बिताउन थाले । 

आचार्य आलाम कालामले पनि उनको साधनाको स्तर बुझे । उनको विगतको बारेमा जानकारी लिन खोज्दा उनी यो कुनै महत्त्वको कुरा होइन, राग, द्वेष राखेर काम छैन, साधनामा नै लागि परिरहनुपर्छ भनेर टाल्दथे । उनको चित्त हावा नचलेको समयको पात जस्तो भइसकेको थियो । उनले आचार्यलाई धन्यवाद दिए र बिदा लिएर अझ गहिराइमा डुबेर सद्मार्गको बाटो पहिल्याउने कुरा बताउँदै अघि बढे । 

यात्राको क्रममा उनले अनेक साधु, सन्न्यासी, साधकलाई भेट गरे । मगधमा बिम्बिसारले उनलाई श्रद्धापूर्वक राख्ने विचार गरे तर उनी जङ्गलमा नै साधनामा बस्ने भनेर त्यो आग्रह स्वीकार गरेनन् तर आफ्नो लक्ष प्राप्त गरेपछि फर्केर आउने वचन दिएर अगाडि बढे । उनले उद्रेकलाई भेट गरे, जो वृद्ध भइसकेका थिए । उद्रक उनलाई चेला बनाउने विचारमा थिए । 

उनको मनमा वोधिसत्व प्राप्त गर्न आफैँले नै प्रयास गर्नु पर्ने रहेछ भन्ने अठोट थियो । उनले सोचे, हामीले आगो पाउनु छ भने गिलो जमिन र काँचो दाउरामा घर्षण गरेर हुँदैन, सुकेको दाउरामा मात्र घर्षण सम्भव छ भन्ने अठोट लिए । मानिसले मनले भोगहरूलाई पर राख्दछ तर शरीरले भने त्यसैमा लिप्त भइरहन्छ भने बुद्धत्व प्राप्त गर्न सक्तैन, त्यसैले राग, द्वेष आदिबाट मुक्त भएर तपस्या गरे मात्र उन्नति हुने ठहर गरे । 

जब मानिस अज्ञानबाट मुक्त हुन्छ तब उसमा सङ्कल्प विकल्प कुनै रहँदैन जसरी सूर्यको उदय भएपछि अन्धकार रहँदैन । उनले भोजनको पनि वास्ता गरेनन् र तपस्यामा नै लागि रहे । उनी दुर्बल हुँदै गए र नुहाएको नदीबाट माथि आउन नसक्ने स्थितिमा पुगे । अनि शरीरलाई पीडा दिएर तप गर्न मनासिब नहुने कुरा बुझे । सुजाताले उनलाई खीर ल्याएर ख्वाइन् । उनी तङ्ग्रे ।

उनी जे गर्नुपर्ने हो होशमा गर्नुपर्छ भन्दथे । यदि खानु नै छ भने पनि होसपूर्वक खानु पर्छ । सिद्धार्थ पिपलको बोट मुनि तपस्या गर्न बसे । त्यस वेलामा अनेक प्रकारका मारहरू आए । हावा, हुरी देखि अनेक कुतत्त्वहरू तथा सुन्दर केटीहरूले उनको तपस्यामा बाधा पार्न खोजे, तर उनी अडिग भएरै ४९ दिनको घोर तपस्या पछि उनले बुद्धत्व प्राप्त गर्न सफल भए । आफ्नो उन्नति आफैँले गर्नुपर्छ भन्ने उनको अनमोल देशना अथवा अर्को अर्थमा अप्प दीपो भव मनमा लिएर साधनामा लागौँ । (अस्तु) (बुद्ध साहित्यमा आधारित)

यो पनि पढ्नुस् : 

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ