काठमाडौं । म क्रिकेट संघमा बस्नु भन्दा पनि बाहिर रहेरै क्रिकेटको विकासका लागि योगदान गर्न सक्छु । क्यान भित्र नबस्ने निर्णय गरे । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दाहालसंगको टेलिफोन कुराकानीमा शुक्रबारै नेपाल क्रिकेट संघ क्यान सीइओ भावना घिमिरेले भनिन् । दाहालले आफुलाई फोन गरेर त्यति जानकारी गराएको सुनाए ।
भावनाले ट्वीट गर्नु अघि नै आफुलाई टेलिफोन गरेको दाहालले बताए । भावनाले बाहिरै रहेर पनि निरन्तर नेपाली क्रिकेटको विकासमा लागि रहने सुनाएको दाहालले जानकारी गराए । घिमिरेले शुक्रबार साँझ ट्वीट गर्दै आफुले तीन दिन अघि गरेको निर्णयको जानकारी बाँडेकी हुन् । उनको यो निर्णयबारे निलम्बित क्यान तदर्थ समितिका संयोजक रमेश शिलवाल र केही पलाधिकारीलाई जानकारी छ । उनले तीन दिन पहिले नै आफ्नो राजीनामा शिलवाल कहाँ पेश गरेकी छन् ।
स्रोतका अनुसार उनको राजीनामा भने स्वीकृत भएको छैन । आइसीसीबाट पारिश्रमिक पाउँदै आएको भएपनि उनको असन्तुष्टी के हो भन्नेबारे छलफल गर्ने तयारी तदर्थ समितिले गरेको छ । चतुरबहादुर चन्द नेतृत्वको क्यान पदाधिकारीहरुको भनाईले आइसीसीबाटै कुनै प्रेसर आएर भावना विच्किएको हुन सक्ने केहीको अड्कल छ । केही समय अघि चन्द पक्षले गराएको एक जानकारी अनुसार आइसीसी कुनै परामर्श लिनु परे चन्द पक्षसंग पहिले सम्पर्क गर्ने र कुनै जानकारी पठाउनु परे समेत पहिले चन्द पक्षलाई पठाउने गरेको छ । राखेप र तदर्थ समितिअघि चन्द पक्षले नै सुचना पाउने गरेको छ ।