काठमाडौं। नेविसंघको महाधिवेशन तोकिएकै मितिमा हुन्छ या हुँदैन भन्ने यावत आशंकाहरू उब्जिरहेको बेलामा माउ पार्टी नेपाली काँग्रेसले भने समयमा नै निर्वाचन सम्पन्न गर्नको लागि निर्देशन समिति गठन गर्ने तयारी गरेको छ। काँग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा गठन गर्न लागिएको समितिमा अन्य ४ सदस्य राख्ने तयारी गरिएको काँग्रेस नेताहरूले बताएका छन्।
निर्देशन समिति गठन गर्ने विषयमा पार्टी नेतृत्वबिच अनौपचारिक सहमति भईसकेको छ। यसले शनिबार या त आईतबार पूर्णता पाउने बताईएको छ। नेविसंघको महाधिवेशन यो पटक पनि सर्ने हो कि भन्ने आशंका बढ्दै जाँदा विद्यार्थीहरुलाई आश्वस्त पार्न पनि पार्टीले समिति गठन गर्न लागेको हो।
बिगतमा नेविसंघको नेतृत्व सम्हालिसकेका विद्यार्थी पृष्ठभूमिका नेताहरू समावेश भएको समिति गठन गरेर तोकिएको मितिमा निर्वाचन गर्नको लागि पार्टी पनि सक्रिय रहेको विश्वास दिलाउन पार्टीबाट पहल हुन थालेको हो भने त्यसले समयमै महाधिवेशन गर्ने कुरामा विश्वास बढाउने नेविसंघका नेताहरू बताउँछन्।
यसरी गठन हुन लागेको समितिको सदस्यहरूमा गोविन्द भट्टराई, विश्व प्रकाश शर्मा, गुरूराज घिमिरे र प्रदीप पौडेलको नाम चर्चामा रहेको छ। काँग्रेस नेता तथा नेबिसंघका पूर्व महामन्त्री समेत रहेका गगन थापालाई पनि यस समितिमा बस्न भनिएपनि उनी यहि बिचमा पार्टी काम तथा अमेरिकी सरकारकव निमन्त्रणामा त्यसतर्फ गएको हुनाले उनी समितिमा हुने नहुने बारेमा टुङगो लागेको छैन। उनीहरूले नेविसंघ महाधिवेशन अवधिभर आवश्यक नीति निर्देशन दिने, विवादित जिल्ला तथा क्याम्पसका विवादहरू मिलाएर तोकिएकै मितिमा निर्वाचन गराउन सहयोग गर्ने मुख्य जिम्मेवारी तोकिने छ।