arrow

एन्फामा अध्यक्षको चुनाव हुने छाँट छैन, फिफालाई गुहार्ने तयारी

logo
बाबु नेपाली,
प्रकाशित २०७३ असार १८ शनिबार
anfa-logo.jpg.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विवाद तत्काल समाधान हुने सम्भावना सकिएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बित चार पदाधिकारीलाई पुनर्बहाली गरी अध्यक्षको निर्वाचन गर्न निर्देशन दिए पनि त्यो निर्देशनलाई लत्याउँदै संस्थापन पक्ष भने चुप लागेर बसेको छ । एन्फा पारदर्शी हुनुपर्ने तथा संस्था विधि र विधानअनुसार चल्नुपर्ने माग गर्दै उपाध्यक्षत्रय कर्माछिरिङ्ग शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज चन्दले आवाज उठाएकामा गणेश थापा नेतृत्वको एन्फाले कार्वाही गरेको थियो ।
 
तर पारदर्शी नभएकै कारण र पदीय दुरुपयोग गरेको आरोपमा फिफाले गणेश थापालाई नै २० लाख रुपैयाँ जरिवानासहित १० वर्ष फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसपछि खाली भएको पदमा निर्वाचन हुन सकेको छैन । प्रतिनिधि चयन नभइ आएका नरेन्द्र श्रेष्ठले लामो समयदेखि एन्फाको कार्यबाहक अध्यक्षको रुपमा एन्फामा काम गरिरहेका छन् । 
 
फिफाले निर्वाचन गर्न दिएको समय गुज्रिसकेको छ । तर त्यो समयको पर्वाह नगरी संस्थापन पक्षले दैनिक काम कार्वाही गरिरहेको छ । संस्थापन पक्ष भने समय आएपछि चुनाव गर्ने बताउँदै आएको छ । अहिले पुनर्बहाली भएका चार पदाधिकारी एन्फामा जाने र चुनाव गर्नका लागि कहिले हो कार्यसमिति बैठक डाक्ने ? भनी प्रश्न गर्दै फर्कने गरेका छन् । उनीहरुलाई त्यहाँ बस्ने कुर्सीकोसमेत व्यवस्था गरिएको छैन । 
 
यस सम्बन्धमा कर्माछिरिङ्ग शेर्पा भन्छन् – ‘हामी काम गर्न आएका हौं, काम गर्नका लागि कार्यसमिति बैठक डाकेर अध्यक्षको निर्वाचन हुनु जरुरी छ । तर त्यो माहोल बनाउन अहिलेको नेतृत्व तयार छैन ।’ शेर्पा अगाडि थप्छन् –‘अहिले पनि प्रतिवन्धित अध्यक्षको आदेशमा नेतृत्वले काम गरिरहेको छ । ०७० सालको कहीं पनि दर्ता नभएको विधानअनुसार अगाडि बढ्न खोजिएको छ । त्यो कदापि हुनु हुँदैन भनेर हामीले निवेदन गर्दा पनि गरिसकेका छौं ।
 
हामी ०६६ सालको सर्वमान्य विधानअनुसार अध्यक्षको निर्वाचन हुने पक्षमा छौं ।’ नेतृत्व तह भने समय आएपछि चुनाव हुने भन्दै पन्छिएको छ । कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रक्रिया अगाडि बढिरहेको भन्दै समय आएपछि चुनाव हुने बताएका छन् । 
 
असन्तुष्ट पक्ष भने अब फेरि पनि फिफालाई डाक्ने अवस्था आएको बताउँछ । उपाध्यक्ष शेर्पा भन्छन् –‘हामी दैनिकजसो बुझ्नलाई एन्फामा गइरहेका छौं तर हाम्रो सुनुवाइ भइरहेको छैन । यही गति रहिरहे केही दिनमै फिफालाई गुहार्ने तयारी गर्दैछौं ।’ 
पुनर्बहाली भएपछि एन्फामा स्वागत गर्ने क्रममा कुनै पनि पदाधिकारी उपस्थित थिएनन् । एन्फा प्रवक्ता एवं प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले स्वागत गरेका थिए । पुनर्बहाली भएको टिमले तुलाधरमार्फत एन्फालाई धन्यबाद दिंदै तत्काल कार्यसमिति बैठक डाकेर अध्यक्षको चुनावको तिथि तोक्न आग्रह गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ