arrow

खस साम्राज्यको राजधानी सिंजामा इलाका प्रशासन कार्यालय

logo
प्रकाशित २०७३ असार १८ शनिबार
Jumla--hamrakura.jpg.jpeg
जुम्ला । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले तत्कालीन कर्णाली खस राज्यको राजधानी सिंजामा स्थापित नराकोट इलाका प्रशासन कार्यालय जुम्लाको उद्घाटन गरेका छन् । 
 
कार्यालयको शुक्रबारबाट सेवा प्रारम्भ भएको छ भने यो कार्यालय निर्माणको लागि भवनको शिलान्यास पनि गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राज्यमन्त्री महतले नेपाली भाषाको उद्गमस्थल र मुलुकको लामो इतिहास बोकेको सिंजाले विसं १८४६ पछि पहिलो पटक सरकारको प्रतिनिधिमूलक कार्यालय प्राप्त गरेकोमा आफूलाई खुसी लागेको बताए ।
 
सिंजावासीलाई अब प्रशासनिक सुलभता मिलेको छ, नागरिकको घरदैलोमा राज्यले आफ्नो उपस्थिति देखाएको छ, राज्यमन्त्री महतले भने । यसमा झन सङ्घीय संरचनाले स्थानीय तहसम्मका जनतालाई अधिकतम बलियो बनाउने उनको भनाइ थियो । सेवा प्रारम्भ गरेको इलाका प्रशासन नराकोटले छ वटा नागरिकता र एउटा नाबालक परिचयपत्र जारी गरेको छ । नराकोट–२ जुम्लाका १७ वर्षीय गणेश जिसीलाई राज्यमन्त्री महतले पहिलो नागरिकता प्रदान गरेका थिए । 
 
व्यवस्थापिका–संसद् सदस्य ललितजंग शाहीले जनताले आफ्नै घरदैलोमा सेवा सुविधा प्राप्त गरेको ऐतिहासिक क्षणबाट आफूलाई खुशी लागेको बताए । संसद् गोमा कुँवरले शक्तिशाली कर्णाली खस साम्राज्यको राजधानी रहेको सिंजाले २१५ वर्षपछि राज्यबाट न्याय पाएको बताए  । 
 
कर्णालीको हुम्ला र डोल्पामा अहिले पनि सडक नपुगेको भन्दै मुलुक समानान्तर विकासबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो । संसद् डिल्लीप्रसाद काफ्लेले सिंजावासीले लामो त्याग तपस्यापछि ऐतिहासिक दिन भेटेको बताए । उनले यसको सुरक्षा, जगेर्ना र स्थायित्वमा सबैले ध्यान पुर्‍याउन सुझाए । 
 
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दुई वर्षभित्र भवन निर्माण भइसक्ने बताए । अहिले तत्कालका लागि रु ४० लाख बजेट जुटेको र असोजबाट कार्य थालनी हुने प्रजिअ पण्डितले स्थानीयलाई विश्वास दिलाए । उनले नापी, मालपोत कार्यालयका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन राज्यमन्त्रीसहित सबै संसद् सदस्यलाई सहयोग गर्न आग्रह गरे ।
 
 त्यसको साथै क वर्गको इलाका प्रहरी कार्यालय र नेपाल टेलिकम जिएसएम सेवाका लागि आफूले तत्काल पहल गर्ने उनले वचन दिए । स्थानीय विकास अधिकारी राजेश पौडेलले उपलब्धिलाई संस्थागत गर्दै लैजान सुझाव दिए । उनले थप सेवा बढाउनु पर्नेमा जोड दिँदै सिंजा विकासका लागि जिविसले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । 
 
इलाका प्रशासन कार्यालय सिंजामै बनेपछि स्थानीयवासी खुसीले दङ्ग छन् । नागरिकता बनाउन सदरमुकाम खलङ्गा जाँदा लाग्ने तीन दिनको झन्झट सदाका लागि हट्यो, धाँपा ९ चुलेलगाउँका एक स्थानीय लक्ष्मीकान्त आचार्यले खुसी हुँदै भने । अब नापी, मालपोत, नेपाल प्रहरी, नेपाली सेना रहनुपर्ने उनको माग थियो ।
 
 सिंजा क्षेत्रमा रहेका महावैपाथरखोला, कालीकाखेतु, बड्की, शनिगाउँ, धाँपा, पाण्डवगुफा, विराट, कनकासुन्दरी र मालिकाबोता गाविसले तत्काल कृषि, पशु, स्वास्थ्य, प्रशासनिकलगायतका सेवा इलाका प्रशासन कार्यालय नराकोटबाट लिने भएका छन् । 
 
उक्त कार्यालयको प्रशासन प्रमुख सुमन धिताल नियुक्ति भएका छन् । धितालसँगै दुई नायब सुब्बा, एक सह लेखापाल, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी गरी जम्मा सात जनाको दरबन्दी रहने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ