काठमाडौं। ‘परमात्मामा लीन बन्नको लागि तपस्या र तपस्याबाट मुक्ति पाउनको लागि परमात्मा खुशी पार्नु अपरिहार्य रहन्छ।’
यही चिन्तनलाई मनन गर्दै परमात्मामा लीन भएकाहरूको खोजीमा लागियो एकदिने दैनिकी खर्चिएर । शुक्रबारको दिन आफ्नो सबै कार्ययोजनालाई विर्सिएर भगवानको शरणमा पुगेको जोगीको खोजी गर्दै जाँदा पशुपतिको विकल्पमा अन्यत्रको ठाउँ भेटिएन । त्यसमा पनि थाहा थियो कि सबै साधुहरू सन्यासी होईनन् । सन्यासी पनि बैरागी होईनन् र बैरागीहरू अघोरी होईनन् ।
तपस्वीको केही प्रकारहरू थाहाभएपनि घरघरमा शिवको नाम भज्दै पैसा माग्न आउने साधुसँग भन्दा अन्यसँगको साक्षात्कार नभोगेको मैले साधुको विद्वता चिनेर उनीहरूको जीवनी उतार्नु पनि सामान्य कुरा थिएन । यसको लागि पशुपति क्षेत्रभित्र कुन ठाउँमा कस्ता तपस्वीहरू बसोबास गर्छन् भनेर पशुपति क्षेत्रको रेखदेखको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषमा गएर बुझ्ने तयारी गरियो।
शुक्रबारको दिन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनसँग यस विषयमा बुझ्न खोज्दा अनेक प्रकारका तपस्वीहरू पशुपतिको भिन्न भिन्न ठाउँमा रहेको बताए । नेपालमा रहेका तपस्वीहरू मध्ये सबैभन्दा उच्च तहको भनिने ‘अघोरी’को संख्या भने तीन जना रहेकोमा एक जनाको मृत्यु भईसकेकोले नेपालमा अहिले जम्मा दुई जना मात्रै अघोरी रहेको जानकारी पाईयो । त्यसमा पनि एकजना अहिले जनकपुर तिर रहेकोले काठमाडौंमा एकजना सिक्किमबाट आएका इषानाथ बाबा मात्रै रहेको भन्ने खबर पाएपछि सोही अघोरीको खोजीमा समर्पित भईयो।
सिमसिमे पानीमा भिज्दै भएपनि आफ्नो लक्ष्य पूर्तिको लागि पशुपतिको सबैतिर सोध्दै खोज्दै गईयो। कोही बुज्रुकहरू बढी जान्ने बनेर गलत दिशा देखाउँदै एकजना ठूलै बाबा यतातिर बस्ने गरेको जानकारी दिन्थे । त्यही बाटो तर्फ लाग्यो अर्कोले लर्को मेसो लगाईदिन्थ्यो। लगातारको ३ घण्टाको खोजीपछि एकजना साधुसँग भेट भयो । त्यही भन्दा केही अगाडि मात्रै एकजना बुजु्रकले भनेका थिए। अघोरीलाई अघोरी भन्नु हुँदैन। रिसाउँछन् मात्रै। आफूलाई पनि साधुलाई रिसाएर आफ्नो काम बन्दैन भन्ने थाहा थियो। त्यसैले पनि यसमा संयममता अपनाउनु अति आवश्यक थियो।
हिन्दीमा मात्रै कुराकानी गर्ने बाबासँग मैले हिन्दी लवजमा उनको दैनिकीको विषयमा सोधेँ । आफ्नो सबै उद्देश्य बताईसकेपछि शान्त शैलीमा ती साधुले हिन्दीबाट नै बोले ‘तिमीहरू कहाँबाट आयौ ?’ उनले पनि कुनै संस्था बाट आएको हो या त व्यक्तिगत रूपमा आफूलाई जिस्काउन आएको हो भन्ने जिज्ञासा राखे।
आफूले व्यक्तिगत रूपमा सो विषयमा जान्न चाहेको भएपनि उनीसँग बढी भन्दा बढी कुरा गर्न सहज होस् भन्नको लागि आफू पत्रकार रहेको परिचय दिने निर्णय गरेँ । पत्रकार भनिसकेपछि उनले पनि केही सहज तरिकाले उत्तर दिनेछन् भन्ने मेरो सोचाई केही हदसम्म साँचो पनि ठहरियो । उनले स्वीकृति दिए र पहिलो प्रश्न सोधियो ‘२४ घण्टाको दिन कसरी वित्छ तपाईँको र राती कतिबजे सुत्नुहुन्छ र विहान कतिबजे उठ्नुहुन्छ ?
उनले क्रोधित पाराले आफ्नो प्रश्नकर्ताहरू जस्तो सामान्य दैनिकी नरहेको स्पष्ट पारे । हिन्दीभाषामा नै उनले भने ‘हाम्रो तिमीहरूको जस्तो दैनिक सेड्यूल र टाईमटेवल हुँदैन ।’ आफूलाई मनलागेको बेलामा सुत्नु, भोक लागेको बेलामा खानु र बाँकी समय भगवानको तपस्या गरेर बस्नु आफ्नो दैनिकी रहेको कुरा उनले स्पष्ट पारे।
विहान, साँझ, राती आफूलाई केही पनि अन्तर नरहेको भन्दै आफू भगवानसँग साक्षात्कार गर्न मन लागेको बेलामा राती भएपनि आफू उठेर ध्यान गर्ने गरेको पनि उनले स्पष्ट पारे।
पशुपतिनाथको पूर्वी भागमा रहेको एउटा मठमा बसिरहेका उनी हामीहरू पुग्दा विहानको साढे नौ बजेतिर उनका एक सहयोगीले चिया पकाईरहेका थिए । उनी आफू दिनको दुई वटा रोटी, चिया र भाङ मात्रै खाने गरेको बताउँछन् । ‘पशुपति नाथको मन्दिर कति पटक जानुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने ‘हाम्रोलागि पशुपतिनाथ जानु आवश्यक नै छैन । जहिले चाहिन्छ हामीले यहाँ नै सबै भगवानहरूसँग साक्षत्कार गर्न सकिन्छ ।’ उनले यही बसेर सारा वह्माण्डको शक्तिपीठ दर्शन गर्न सक्ने क्षमता रहेको पनि उनले बताए।
हामीलाई यस विषयमा अझै बढी जानकारी दिनु थियो हामीले अझै थप कुराकानी सुरू गर्यो। ‘अघोरी बाबा केलाई भनिन्छ ?’ उनले भने तिमीहरूले जे भोगिरहेका छौं त्यो भन्दा भिन्न रहनु नै अघोरी हो। अङ्ग्रेजी, हिन्दी र संस्कृतका शब्दशब्द तौलिएर बोलेका ती साधुले आफ्नो आहाराको रूपमा रहेको गाँजा तथा भाङ प्रतिबन्ध लगाएर सरकारले आफूहरूमाथि अन्याय गरेको गुनासो पनि गरे। ‘तिमीहरूको सरकारले हामीलाई अन्याय गरेको छ। अहिले लगाएको ताला खोल्न भन्दिेउ, यो पनि भनिदेउ कि यसले साधुसन्तहरूमा अन्याय भएको छ। यो हाम्रो सन्देश पनि हो। यो भनिदेउ तिमीहरूको मिडियाबाट।’ उनले बैधानिक पाराले ल्याउन रोक्न नहुने धारणा पनि व्यक्त गरेका थिए । यसरी रोकतोक गर्दा बढी भन्दा बढी हिंशा बढेको पनि उनको तर्क थियो।
हामीले प्रसंग बदल्यौं । ‘तपाईहरूलाई कुनैपनि महिला देख्दा यौन उत्तेजना बढ्छ कि बढ्दैन ?’ उनले यो जितेर नै सन्यासी बन्न सक्ने धारणा पनि व्यक्त गरे । ‘के ? म गृहस्थी हुँ ? तिमीहरू जस्ता हाउस होल्डर हँ र ?’ विवाह गरेको भए आफू ‘अण्डेमण्डे’ गर्दै अहिलेसम्म गाउँघरमा नै बस्नुपर्ने थियो भन्दै त्यसो भएको भए यत्तिको त्याग प्राप्त गर्न सम्भव नरहेको उनले जानकारी दिए ।
कहाँ जन्मिएको भन्दा आमाको पेटमा भन्दै आक्रोशित बनेका उनी आजसम्म कुनैपनि घर नरहेकोले अहिले आफूले घर भनेर कुनैपनि ठाउँलाई भन्ने नगरेको पनि स्पष्ट पारे।
उनी धेरै विषयमा गहन रूपमा सवाल जवाफ गर्दथे। कहिले ठट्यौली पारामा कुरा गर्ने त कहिले आक्रोशित बन्ने उनी आफूहरूमा महिलाप्रति कुनैपनि उत्तेजना नआउने गरेको स्पष्ट पनि पार्छन्। तपाईको जीवीत गुरू को हुन् भन्दा उनले पशुपति नाथ बताएका उनले पशुपति नाथ त भगवानको मूर्ति हो जीवीत व्यक्ति त होईनन् नि भन्दा उनी निकै आक्रोशित देखिए । टाढा बसेका ती साधु एकाएक हामी माथि झम्टिएर भन्छन् ‘पशुपति नाथ मरेका छन् ? के बोलेको पशुपति नाथ जीवीत होईनन् ? पशुपति नाथ कसरी मरे हँ ? पशुपतिनाथ बाबा किन बोल्दैनन् ? तिमी के बोल्छौं ? गएर बोल बोल्छन् पशुपतिनाथ, उनी जीवीत छन्, जिउँदा छन्।’
त्यसभन्दा अगाडि नै पनि साधुको लागि किन पैसाको लोभ हुन्छ भन्ने प्रश्नमा उनी भन्छन् अरूले किन लोभ गर्छन् थाहा छैन। तर हामीहरू अरूको सेवाको लागि मात्रै पैसाको माग गर्ने गर्दछौं। उनले भूकम्पको बेलामा करोडौं रकम गर्ने सामान नेपाल ल्याउँदा पनि बाबाहरूले यति धेरै सहयोग गरेको भनेर मिडियाले उल्लेख गर्न नसकेको भन्द्र आक्रोश पनि व्यक्त गरे।