arrow

मासिक साठी लाखको दूधको कारोबार

logo
प्रकाशित २०७३ असार १८ शनिबार
Milk.jpg.jpeg
बाबियाचौर (म्याग्दी) । बेनी बजारमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको छ । दूग्ध व्यवसायी सङ्घ बेनीका अनुसार बेनीमा दैनिक दुई हजार ५०० लिटर दूध खपत हुन्छ । दुई हजार लिटर डेरी पसलबाट र ५०० लिटर कृषकले सिधैँ ग्राहकको घरमा लगेर दूध बेच्ने गरेका सङ्घका अध्यक्ष कोषानन्द आचार्यले जानकारी दिए । 
 
प्रतिलिटर रु ६५ मा कृषकबाट खरिद हुने दूध रु ८० का दरले बिक्री हुने गरेको छ । मासिक ७५ हजार लिटर दूध खपत हुने बेनीमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको अध्यक्ष आचार्यले बताए । 
 
बेनीमा ३९ वटा दूध डेरी रहेका छन् । ७० प्रतिशत म्याग्दी र ३० प्रतिशत पर्वतको माझफाँट, लेकफाँट गाविसबाट दूध आयात हुने गरेको छ । सिङ्गा, बरङ्जा, ज्यामरुककोट, अथुङ्गे, बास्कुना र घतानका कृषकले बेनीमा दूध बिक्री गर्दै आएका छन् । पछिल्लो समय कृषक व्यावसायिक गाईभैँसीपालन तर्फ आकर्षित हुने क्रमसँगै दूध उत्पादन पनि बढेको जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले बताए । 
 
उनका अनुसार जिल्लामा हाल करिब १०० वटा गाईभैँसी फार्म दर्ता भएर सञ्चालन भएका छन् । जिल्लामा उत्पादन बढ्न थालेपछि पर्वत र पोखराबाट दूध आयात घट्दै गएको छ । दूध सहरबाट गाउँमा पैसा भित्र्याउने माध्यम बनेको छ । बेनी नगरपालिका– १३ र १४ वडामा पर्ने सिङ्गा, बास्कुना क्षेत्रबाट मात्रै वार्षिक रु एक करोड बराबरको दूध निकासी हुने गरेको छ । 
 
गाईभैँसीपालन गरी दूध उत्पादन गर्ने पेसा कृषकको जीविनस्तर सुधार र आयआर्जन वृद्धी गर्न प्रभावकारी बनेको बास्कुनाका कृषक तिलक गुरुङले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ