arrow

राष्ट्रपतिको 'खोप कूटनीति' मा सक्रियता

चिनियाँ समकक्षीलाई फोन, भारतीय, अमेरिकी र रुसी समकक्षीलाई पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
Bidhya-bhandari-parmanikarn.jpeg
फाइल तस्बिर

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता बढाएकी छन्।

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जोन बाइडेन, रुसी राष्ट्रपति भ्लादिभिर पुटिन, भारतीय राष्ट्रपति रामनाथ कोविन्द र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन्।

गत शुक्रवार रुसी समकक्षी राष्ट्रपति भ्लादिभिर पुटिनलाई पत्र पठाउँदै रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी छन्।

यसै गरी गत बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनलाईसमेत राष्ट्रपति भण्डारीले अमेरिकी विदेश मन्त्रालयमार्फत खोप सहयोगका लागि पत्र पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिएका हुन्।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको सङ्कटमा रहेको र जनताको जीवन रक्षाका लागि खोप अनिवार्य विकल्प भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको ढकालले जानकारी दिए।

राष्ट्रपति भण्डारीले पठाएको पत्रलाई भोलि सोमबार अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेन समक्ष पेस गर्ने जानकारी अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति कार्यालयलाई परराष्ट्र मन्त्रालयमार्फत पठाएको छ। साथै विदेश मन्त्रालयले नेपालले भोगिरहेको कोरोनाको चपेटाका विषयमा अमेरिका जानकार रहेको र सहयोगका लागि सकारात्मक रहेको सन्देश दिएको छ।

राष्ट्रपति भण्डारीले गत बुधवार दिउसो उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गर्दै टेलिफोन गरेकी थिइन्।

सो क्रममा चिनियाँ समकक्षी सिले असल र घनिष्ठ छिमेकी मुलुकका नाताले नेपाललाई सक्दो सहयोग गर्न चीन सकारात्मक रहेको बताएका थिए। सो क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच करिब ४५ मिनेट कुराकानी भएको थियो।

जवाफमा चिनियाँ राष्ट्रपति सिले नेपाल चीनको अभिन्न मित्र रहेकाले आवश्यक सहयोगबारे आफू सकारात्मक रहेको बताएका थिए भने लगत्तै १० लाख खोप सहयोगको घोषणा भएको थियो। यसअघि पनि चीनले भेरोसेल खोप ८ लाख डोज नेपाललाई उपलब्ध गराइसकेको छ।

सो क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच नेपाल चीन सम्बन्ध, ऐतिहासिक परम्परा तथा बुद्ध जयन्तीका विषयसहित दुवै देशका राष्ट्रपतिबाट भएको भ्रमणमा भएका समझदारी कार्यान्वयनका विषय मासमेत कुराकानी भएको थियो।

त्यसअघि मङ्गलवार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिने विषयमा पहल गरिदिन अनुरोध गरेकी थिइन्।

उनले भारतीय समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन्।  
भारतले समेत यसअघि नेपाललाई १० लाख डोज खोप अनुदान स्वरूप पठाइसकेको छ। त्यसपछि नेपालले थप २० लाख डोज खोप खरिदका लागि भारतलाई रकम पठाएको थियो। सो मध्ये १० लाखसमेत नेपाल आइसकेको छ भने  बाँकी १० लाख डोज आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ