arrow

नेपालमा ब्ल्याक फङ्गसका सङ्क्रमित बढ्न सक्ने

'सफा र सुख्खा मास्क प्रयोग गर्ने, फोहरमा नजाने, धेरै धुलो भएको ओसिलो ठाउँमा नजाने'

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ जेठ १९ बुधबार
black-fungus.jpg

काठमाडौं । नेपालमा म्युकोरमाइकोसिस (ब्ल्याक फङ्गस) अथवा कालो ढुसीका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने देखिएको छ ।कोरोना भाइरसबाट सङ्क्रमित भएर निको हुने क्रम हालै सुरु भइरहेका कारण निको भएकाहरुमा सङ्क्रमण देखिन सक्ने सम्भावना भएको विज्ञहरूले बताएका हुन् ।

भारतका कोरोना सङ्क्रमण एवं निको हुने दर घट्दै जाँदा ब्ल्याक फङ्गसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको थियो । भारतमा अहिले हजारौँको सङ्ख्यामा सङ्क्रमित बढेका छन्, भने थुप्रै राज्यहरूले यसलाई महामारी घोषणा गरेका छन् ।

नेपालमा पनि सङ्क्रमण निको हुने क्रम बढ्दै जाँदा ब्ल्याक फङ्गसका सङ्क्रमितहरूको सङ्ख्या पनि बढ्ने जोखिम रहेको विज्ञहरूले बताएका हुन् ।

को छन् उच्च जोखिममा ?
खासगरी सङ्क्रमणको अवस्थामा अनावश्यक औषधिहरू सेवन गरेका, सुगरको बिरामी र निकै गम्भीर अवस्थामा पुगेकाहरूमा ब्ल्याक फङ्गसको जोखिम उच्च रहेको छ ।

स्टेरोइड र अन्य औषधि जथाभाबी सेवन गर्दा ब्ल्याक फङ्गसको सङ्क्रमण हुने देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन बताउँछन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका सुगरका बिरामीहरूको उपचारका क्रममा स्टेरोइड प्रयोग गर्दा यसले सुगरको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता कम गराउने हुँदा यस्तो बिरामी ब्ल्याक फङ्गसले सङ्क्रमण बढ्दो देखिएको छ ।
त्यस्तै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र गम्भीर अवस्थामा पुगेका सङ्क्रमितहरूमा पनि ब्ल्याक फङ्गसको सङ्क्रमण हुनसक्ने डा. पुन बताउँछन् ।

ब्ल्याक फङ्गसको सङ्क्रमण भएको कसरी थाहा पाउने ?
ब्ल्याक फङ्गसको सङ्क्रमण भएको अवस्थामा नाक, गाला, आँखाको छेउछाउ दुख्ने सुरुवाती लक्षणका रूपमा देखिन्छ ।यस्तै ज्वरो आउने, आँखा, नाक सुन्निने, रातो हुने या दुख्ने र आँखाको ढकनी सुनिने दुख्नेलगायतका लक्षणहरू पनि देखिन्छन् ।

नाकको वरिपरिको छालाको रङ्ग कालो हुने र कालो सिँगान बग्ने एवं दाँत दुख्ने र हल्लिनेलगायका लक्षणहरू देखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समयमै उपचार गरे ज्यान जोगिने
ब्ल्याक फङ्गसबाट सङ्क्रमितको मृत्युदर झण्डै ५४ प्रतिशत देखिएको डा. पुन बताउँछन् । यद्यपि, सुरुवाती अवस्थामा नै थाहा पाएर उपचार गर्न सकेमा ज्यान जोगिने सम्भावना उच्च हुने डा. पुनको भनाइ छ ।

सुरुवाती लक्षण देखिएकै अवस्थामा लापरबाही नगरी चेकजाँच गरेर उपचार गर्न सकेमा ब्ल्याक फङ्गसको सङ्क्रमणलाई जित्न सकिने डा. पुनको भनाइ छ ।

सङ्क्रमणबाट जोगिन के गर्न सकिन्छ ?
ब्ल्याक फङ्गसको सङ्क्रमणबाट जोगिन पनि कोभिड१९को सङ्क्रमणबाट जोगिन जस्ता उपाय अपनाउन सकिन्छ ।
नियमित रूपमा सरसफाइ, सफा र सुख्खा मास्क प्रयोग गर्ने, फोहरमा नजाने, धेरै धुलो भएको ओसिलो ठाउँमा नजाने, मधुमेहका बिरामीले सुगर नियन्त्रणमा राख्ने र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मात्रै औषधि सेवन गर्नेलगायतका सावधानी अपनाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड-१९का बिरामी किन निशानामा ?
ब्ल्याक फङ्गसबाट खास गरी अहिले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरू मात्रै सङ्क्रमित भइरहेका छन् । ब्ल्याक फङ्गस अर्थात् कालो ढुसीसँग हाम्रो लसपस भइरहने भए पनि रोग प्रतिरोधात्मक क्षमताले यसलाई सङ्क्रमण बढाउन नदिने गर्छ ।

तर, कोभिड१९ को सङ्क्रमणपछि रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा कालो ढुसीले सङ्क्रमण बढाउन सकेको विज्ञहरू बताउँछन् । कुहिएका फलफूल, काठ, तरकारीलगायतका कुरामा कालो ढुसी हुने गर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ