arrow

पर्वतकै ठूलो सिँचाइ नहर भासियो, रोपाइँ गर्न समस्या

logo
प्रकाशित २०७३ असार १९ आइतबार
Parbati-hamrakura.jpg.jpeg
फलेवास। धौलागिरि अञ्चलकै पहिलो र पुरानो नहरका रुपमा चिनिएको पर्वतको फलेवासमा रहेको सिँचाइ नहर निरन्तरको वर्षाले भत्किएको छ।
 
धानखेतीका लागि पकेट क्षेत्रका रुपमा परिचित फलेवास क्षेत्रका खानीगाउँ, देवीस्थान र मुडिकुवा गाविसमा सिँचाइका लागि विगत तीन दशकअघि निर्माण भएको सिँचाइ नहर शनिबार बिहान भासिएको हो। धान रोपाइँ गर्ने बेलामा नहर भासिएपछि उक्त क्षेत्रको सयौँ हेक्टर खेतमा रोपाइँ गर्न समस्या सिर्जना भएको छ।
 
भत्किएको कुलो मर्मत गर्नका लागि ठूलो धनराशि र धेरै समय लाग्ने स्थानीयवासी कृषक भरत श्रेष्ठले जानकारी दिए। शनिबार बिहान नहरमा ठूलो भेल पसेपछि भेल थेग्न नसकेर कुलो भत्किएको श्रेष्ठले जानकारी दिए।
 
नहर करिब पाँच मिटर गहिरो भई भासिएको स्थानीयवासी बुद्धि पौडेलले जानकारी दिए। विसं २०४१ मा निर्माण गरिएको उक्त नहर मर्मत नहुँदा ठाउँठाउँमा भत्किने गरेको छ। नहर भत्किएसँगै पानीको अभावले रोपाइँ गर्न समस्या सिर्जना भएको पौडेलले गुनासो गरे। उक्त नहरमार्फत जिल्लाको सबैभन्दा बढी धानखेती हुने देवीस्थानमा दुई सय ५०, मुडिकुवामा दुई सय र खानीगाउँमा झन्डै एक सय हेक्टर खेतमा सिँचाइ हुँदै आएको छ। झन्डै चार किमी दूरीमा रहेको लमाए खोलाबाट ल्याइने पानी नहर भत्किएपछि स्थानीयवासी समस्यामा परेका छन्।
 
उनीहरुले तत्काल नहरको मर्मतका लागि पहल गरिदिन सिँचाइ डिभिजन कार्यालयसँग अनुरोध गरेका छन्। समयमै रोपाइँ गर्न नसके उत्पादनमा ह्रास आउने भएकाले पनि मर्मतका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
 
केही दिन अघि सिँचाइ मन्त्री उमेश यादवले स्थलगत रुपमा कुलोको अवलोकन गरेका थियो  मन्त्रीसहितको टोलीको अवलोकनपछि मर्मतको योजना पनि बनिरहेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ