arrow

अमेरिकाको आफ्नै योजनामा आउन लागेको खोपलाई राष्ट्रपतिको पत्रसँग जोडियो

सल्लाहकारहरूले धैर्यता गुमाउँदा अफवाह फैलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौं। बिहीबार अमेरिकाले विश्वका विभिन्न मुलुकहरूलाई २ करोड ५० लाख डोज खोप वितरण गर्ने योजना सार्वजनिक गरेको थियो । तर, ह्वाइट हाउसले सार्वजनिक गरेको फ्याक्ट सिटलाई राम्रोसँग नहेरी राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले नेपालाई अमेरिकाले ५० लाख डोज खोप दिन लागेको भन्दै अफवाह फैलाए ।

उनले ट्विट गर्दै उक्त कुरा फैलाए जसको आधारमा धेरै सञ्चार माध्यमहरूमा समाचार बने र केही समयपछि ढकालले उक्त कुरा गलत रहेको लेखे। उनले गलत लेखुन्जेल समाचार फैलिसकेको थियो। राष्ट्रपतिलाई पुरै 'क्रेडिट' दिनका लागि उक्त कार्य गरिएको देखिन्छ तर राष्ट्रपतिका सल्लाहकारको हतारले सबै कुरा बिगार्‍यो। 

उनी मात्रै हैन, प्रधानमन्त्री ओलीका सञ्चार सल्लाहकार सूर्य थापाले समेत अमेरिकाले ५० लाख डोज खोप दिइरहेको भन्दै अफवाह फैलाए । प्रधानमन्त्रीका सल्लाहकारले पनि राष्ट्रपतिका सल्लाहकार जस्तै हतारमा ट्विट लेखे र पछि मेटे तर उनले चुपचाप ट्विट मेटेर अर्को ट्विट गरे। प्रमका सल्लाहकारले आफूले गल्ती गरेकोसम्म स्विकारेनन्। 

सञ्चारविज्ञ टिका ढकालले त ‘सम्माननीय राष्ट्रपतिको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले खोप प्राप्तिमा सफलता भएको’ भन्दै गर्वका साथ ट्विट गरे ।

तर, यो दुवै कुरा अफवाह थियो भन्ने स्पष्ट देखिन्छ । किनकि मे २०२१ मा नै अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले विश्वभर ८ करोड डोज खोप आपूर्ति गर्ने घोषणा गरेको थियो । उक्त घोषणाकै आधारमा बिहीबार अमेरिकाले घोषणा गरेको खोप वितरण गर्ने कुरालाई राष्ट्रपतिको चिठ्ठीको सफलताका रूपमा सल्लाहकारहरू स्थापित गर्न लागे तर गलत कुरालाई स्थापित गर्न खोज्दा बदनामी हुन्छ भन्ने हेक्का राखेनन्। 

विश्वभर ८ करोड डोज वितरण गर्ने योजना अन्तर्गत पहिलो चरणमा अहिले अमेरिकाले २ करोड ५० लाख डोज खोप वितरण गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराइदिनका लागि पत्र लेख्नु अघि कै योजना अनुसार अमेरिकाले खोप वितरण गरिरहेको यसबाट स्पष्ट हुन्छ ।

तर, सर्वसाधारणमाझ छवि उच्च पार्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले आफूहरूको बयानबाजी गर्नु हास्यास्पद देखिन्छ । उनीहरुको हतारो र गलत कार्यले सम्मानित संस्थाहरुको बदनामी भएको छ। 

 

के हो यथार्थ ?

गत मे १८ मा अमेरिकी राष्ट्रपति बाइडेनले ६ हप्ताभित्र अर्थात् लगभग जुनको अन्त्यसम्म विश्वभर ८ करोड डोज खोप वितरण गर्ने योजनाको घोषणा गरेका थिए । उनले यो घोषणा आफ्नो ट्विट मार्फत सार्वजनिक गरेका थिए ।

बिहीबार (हिजो) अर्थात् जुन ३ मा ह्वाइट हाउसले एक वक्तव्य जारी गर्दै ८ करोड डोज खोप वितरण गर्ने योजना अन्तर्गत २ करोड ५० लाख डोज खोप पहिलो चरणमा विभिन्न मुलुकहरूलाई वितरण गर्ने बताएको हो ।

८ करोड डोज खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधामार्फत नै विश्वभर वितरण गरिने उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

पहिलो चरणमा वितरण हुन लागेको २ करोड ५० लाख डोज खोपमध्ये पनि १ करोड ९० लाख डोज खोप कोभ्याक्स सुविधाबाट नै वितरण गरिने कुरा समेत उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

कोभ्याक्स सुविधाको खोप नेपालले पाउने

२ करोड ५० लाख डोज खोप वितरण गर्ने योजनालाई दुई बुँदामा राख्दै पहिलो बुँदामा १ करोड ९० लाख डोज कोभ्याक्समार्फत वितरण गरिने ह्वाइट हाउसको वक्तव्यमा उल्लेख छ ।

दोस्रो बुँदामा बाँकी ६० लाख डोज खोप क्षेत्रीय प्राथमिकता र अन्य मुलुकहरूलाई दिने उल्लेख गरिएको छ ।

कोभ्याक्स सुविधामार्फत वितरण गरिने भनिएको १ करोड ९० लाख डोज खोपमध्ये ६० लाख दक्षिण र मध्य अमेरिका, ७० लाख एसिया र ५० लाख अफ्रिकामा वितरण गरिने उल्लेख छ ।

नेपाल एसिया अन्तर्गत रहेर कोभ्याक्स सुविधाबाट बाँडिने ७० लाख डोज खोप पाउने १६ देश तथा क्षेत्रमध्येकै एक देश बनेको हो ।

कति डोज खोप पाइन्छ ?

एसियामा ७० लाख डोज खोप पाउनेमा भारत, नेपाल, बंग्लादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुआ न्यु गिनी, ताइवान र  प्रशान्तिय टापुहरू रहेका छन् ।

यी १६ देश र क्षेत्रहरूलाई ७० लाख डोज खोप बाँड्दा नेपालको भागमा अमेरिकाले कति पार्छ भन्ने कुरा अहिले स्पष्ट छैन ।

सबैलाई बराबरी दिने हो भने, करिब ४ लाख डोज खोप प्रत्येकको भागमा पर्ने छ । जनसंख्या वा अन्य कुनै आधारमा वितरण गर्दा केही तलमाथि हुनसक्छ ।

नेपालमा कोभ्याक्स सुविधाबाट खोप आइरहेको हो या प्रत्यक्षरुपमा हो भनेर परराष्ट्र मन्त्रालयसँग अझै स्पष्ट जानकारी भई नसकेको परराष्ट्रले जनाएको छ । त्यस्तै कति खोप आउँछ भन्नेबारे परराष्ट्रले जानकारी पाइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ