arrow

सञ्चारकर्मी भर्सेस मालिक

logo
कृष्णप्रसाद मरासिनी, 
प्रकाशित २०७८ जेठ २३ आइतबार
krishan prasad marasinia.jpg

नेपालमा पत्रकारिताको इतिहास छोटो छ । छोटो समयमा यसको पहिचान र आवश्यकता जति उचो छ त्यसभित्रको समस्या र विकृति पनि मौलाउँदो छ । एक समय थियो पत्रकार भनेपछि समाजका जुनसुकै व्यक्ति, समुदायले आदरभाव र सम्मान प्रकट गर्थे । राष्ट्रका अंग पनि त्यसप्रति सचेत थिए । अहिले पत्रकारिताको दायरा बढ्दै छ । तर, साख भने गिर्दो अवस्थामा छ । 

पत्रकार के हो र को हो भन्ने प्रश्न उठ्न थालेको छ । त्यसको कारण हो पत्रकारको पेशागत आचरण र पत्रकारिताको भविष्य । यस लेखमा मूलतः पत्रकारको भविष्यका विषयमा चर्चा गरिनेछ । समस्या के छ ? समाधान के हुनसक्छ ? यसमा चर्चा गरिनेछ । अहिलेको अवस्थामा पत्रकार मात्रै भएर बाँच्न सकिन्छ कि सकिँदैन ? हुनत हामीले व्यावसायिक पत्रकारिता भनेर धेरै ठाउँ धेरै पटक बोल्ने, लेख्ने गरेका छौं । साँच्चिकै पत्रकार व्यावसायिक छ त ? मूल प्रश्न हो यो । 

पत्रकार व्यावसायिक बन्नका लागि ऊ स्वतन्त्र हुनुपर्छ । स्वतन्त्र भन्नाले अभिव्यक्ति स्वतन्त्रतामात्र होइन आर्थिक, सामाजिक र व्यावसायिक स्वतन्त्रता पनि हो । पत्रकारिता यी विषयमा परनिर्भर बन्दै गएको देखिन्छ । एक पत्रकारले पत्रकारको हैसियत कसरी गुमाउन पुग्यो ? कसैप्रति दोष दिनुभन्दा पहिले यस विषयमा बहस हुनुपर्छ । हामी आफूलाई श्रमजीवी पत्रकार भन्छौ । 

पत्रकार आचारसंहिता, २०७३ अनुसार पत्रकार भन्नाले ‘सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनु पर्दछ’ भनिएको छ । समाचार संकलनदेखि सम्प्रेषण हुँदासम्म प्रयोग हुने जनशक्तिलाई पत्रकार भनिएको छ । पत्रकारको परिभाषालाई जति फराकिलो बनाइएको छ यसको भविष्य त्यति नै साँघुरिएको पाइन्छ । 

जतिखेर नेपालमा पत्रकारिता शुरू भयो त्यो अन्तरमनको खोज, सामाजिक र राजनीतिक आवश्यकताले भएको थियो । त्यसमा आर्थिक प्रलोभन, लालच र मोलाहिजा थिएन । त्यो एक प्रकारको विद्रोह तथा सामाजिक जागरण थियो । त्यस्तो गौरबमय इतिहास बोकेको पत्रकारिता पेशा अहिले विकृतिको केन्द्र बनेको छ । यसको कारण हो हाम्रो गैरव्यावसायिक चरित्र । नेपाल पत्रकार महासंघमा नेतृत्व गर्ने जे जति पत्रकार छन् तिनीहरू व्यावसायिक हकहितका लागि भन्दा पनि कुनै समूहको स्वार्थपूर्तिका लागि त्यहाँ पुगेका हुन् कि भन्ने प्रस्ट हुन्छ । यद्यपि आशाका किरणहरू जीवितै छन् । अहिले ‘आश गरौं भर नपरौं’ भन्ने स्थिति छ । 
 
नेपालमा पत्रकारिता शुरू गर्दाको अवस्थामा सञ्चारकर्मी र मिडियामालिक एकै व्यक्ति हुन्थे । चेतना अभिवृद्धिको लागि उनीहरूले व्यक्तिगत धन सम्पत्ति, आयआर्जन सबै त्यसैमा समर्पण गरेका थिए । त्यसको बदलामा उनीहरूको अपेक्षा मात्र जनजागरण थियो । यसरी व्यक्तिगत आहुतीबाट शुरू भएको पवित्र पेशा अहिले विकृतिको आहाल बनेको छ । यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको आम्दानीको स्रोत पनि पारदर्शी छैन । त्यहाँ भित्र गरिने क्रियाकलाप त यति धेरै विकृतिपूर्ण छन् कि भनिसाध्य छैन । पदीय हैसियतमा नेतृत्व गर्ने पत्रकार र समग्र न्युजरूमको नेतृत्व गर्ने सम्पादक ती मिडिया मालिकका मतियार मात्र भएका छन् । यस्तो अवस्थामा यस पेशाभित्र बसेर सुधारको अपेक्षा गर्नु कति जोखिमपूर्ण छ कल्पना पनि गर्न सकिँदैन । 

मूलधारे मिडियामा देखिएको विकृति डिजिटल मिडियामा भित्रिसकेको नभए पनि उत्साह भरिने ठाउँ भने छैन । सबै क्षेत्रमा मूलधारमा काम गरेर थाकेका व्यक्तिले नेतृत्व गरिरहेका छन् त्यहाँ पनि ।  समाचार संकलन, सम्प्रेषणमा सबैतिर एक खालको सिन्डिकेट छ । मूल समस्या र आवश्यकतालाई पछ्याउने भन्दा ‘भ्युज’ बढाउन भाइरलको पछि कुद्ने रोग यिनमा देखिन्छ । 

मूल समस्या के हो ?
देखिने समस्या तलब सुविधा नपाउने, पाए पनि समयमा नपाउने, परेवाले गुँड फेरेझैं सञ्चारमाध्यम फेरिरहनु पर्ने, सेवाबाट बाहिरिँदा खाली हात जानुपर्ने, घर धान्न र दैनन्दिनको समस्या समाधान गर्न आसेपासे, व्यापारी, नेता र पार्टीका कार्यकर्ताको झोले बन्नुपर्ने छ । सतहमा द्वन्द्व सञ्चारकर्मी र मिडिया मालिक बीचमा देखिए पनि यसको शुरूआत न्युजरूमबाट भएको देखिन्छ । 

न्युजरूमको नेतृत्व गर्ने पत्रकार या मिडिया हाउसमा सम्पूर्ण सञ्चारकर्मीको नेतृत्व गर्ने सम्पादक यसका प्रणेता हुन् । एक दुईजना छिटफुटलाई छोडेर बजारमा बग्रेल्ती भेटिने सम्पादक अहिलेको यो परिस्थिति आउनमा जिम्मेवार छन् । उनीहरूले पेशागत मर्यादालाई भुलेर आफूलाई मन परेको व्यक्ति (पत्रकार) को एक महिनामा तीनपटक तलब बढाउन, भ्रमणमा पठाउन र बिदा स्वीकृत गराउन व्यवस्थापन पक्षसँग साँठगाँठ गर्ने तर व्यावसायिक धर्ममा बाँधिएर न्युज संकलन, सम्पादन र सम्प्रेषण गर्ने पत्रकारको गुनासो र आवश्यकतालाई वर्षौंसम्म सुनुवाइ नगर्ने गैरव्यावसायिक चरित्रको उपज हो अहिलेको अवस्था । त्यतिमात्र नभएर आफ्नो धरातलबाट ओर्लिएर गरिएको नेतृत्व र त्यसको दुस्परिणाम अहिले सारा नेपाली सञ्चार क्षेत्रले व्यहोरिरहेको छ । 

व्यक्तिगत स्वार्थ र प्रलोभनले बढुवा हुने, तलब वृद्धि गर्ने र मिडिया मालिकसँग उठबस गर्ने सञ्चारकर्मी र सम्पादकीय मन्डलले यसको जिम्मेवारी लिनुपर्छ । मारमा श्रमजीवी छन् । श्रमजीवी पत्रकार बिहान बेलुकाको छाक टार्न धौ धौ पर्ने अवस्थामा छन् । सुविधा उपभोग टाठाबाठा, चाप्लुसी चाकडी गर्नेले भेटिरहेका छन् । उनीहरूको सुविधाको लागि श्रमजीवी पत्रकार बली चढिरहनु पर्ने अवस्था छ । श्रमजीवीको लागि वर्तमान अवस्था चरम संकटकालको अवस्था हो । कयौं सञ्चारमाध्यमले श्रमिक कटौतीको नाममा श्रमजीवीलाई सेवाबाट हटाउने, सरूवा गरिदिने, सेवा परिवर्तन गरिदिने, सुविधा नदिने र दिएको सुविधा पनि कटौती गर्ने गरेका छन् । 

श्रमजीवीप्रति मिडिया मालिक नाङ्गोे रूपमा उत्रिँदा पनि धेरै वर्ष सञ्चारकर्मीको रूपमा काम गरेर बढुवा हुँदै सम्पादकीय नेतृत्व गर्ने हैसियतमा पुगेका र नेतृत्वमा रहेका कुनै पनि सञ्चारमाध्यमका सम्पादकले श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्न नसक्नु अहिलेको दुर्भाग्य हो । यसबाट प्रष्ट हुन्छ उनीहरू कोबाट र के बाट पालित पोषित छन् । मैले सुविधा पाइन, मेरो तलब खोसियो, मेरो सुविधा रोकियो, मेरो श्रम शोषण भयो भनेर सडकमा ओर्लिने पत्रकार एक्लो हुनुपर्ने बाध्यता छ । ठूला साना भनिने सबैजसो मिडिया हाउसमा समस्या यथावत छ । तर आजको दिनसम्म श्रमजीवीको लागि सम्पादकीय मण्डलले कहीँ कतै आवाज उठाएको देखिँदैन । यो विडम्बनापूर्ण परिस्थितिमा पुनः एकपटक त्यही समूहलाई जिम्मेवार बनाउनुपर्ने अवस्था छ । 

समस्याको जड कहाँ छ ? 
समस्याको जड हामी आफैं हौं । हामीभित्र डर छ । हामीभित्र आत्मविश्वासको कमी छ । हामीभित्र सम्झौतावादी चरित्र छ । हामीभित्र पछौटेपन र विषयगत दक्षताको कमी छ । हामी अविवेकी छौं । हामी आफूलाई हेर्दैनौं अरूलाई मात्र हेर्छौं । त्यसैले हामीमा अन्तरदृष्टिको अभाव छ । यतिधेरै समस्याले घेरिएका हामीलाई कसैले पनि सजिलै प्रयोग गर्न सक्छ । हामी प्रयोग भइदिन्छांै । कहिले हामी मिडिया मालिकको एजेन्ट भएर काम गर्छौं । कहिले राजनीतिक पार्टीको मुखपत्र भइदिन्छौं । यसरी छिनछिनमा फेरिने हाम्रो रंग नै समस्याको मूल जड हो ।

दुई चार रूपैयाँ, सानातिना आश्वासन र प्रलोभनमा पर्ने हामी पत्रकार त्यसैको लोभमा परेर आफ्ना सहकर्मीप्रति घात गरिरहन्छौं । अनि भन्छौं व्यावसायिक पत्रकारिता । तिनैका कुरा सुन्छौं, तिनैका आश्वासनमा हिड्छौं अनि हामी आफैलाई भुल्छौं ।  

समाधान के त ?   
विषयगत ज्ञान भएका दक्ष जनशक्ति भविष्यको चिन्ताले यस क्षेत्रबाट पलायन हुन थालेका छन् । विकसित देशमा कुनै पनि पेशाको पेशागत दक्षता हासिल गरिसकेपछि त्यहाँ भएका समस्या र आवश्यकताको वास्तविक सूचना संप्रेषण र प्रतिनिधित्व गर्न सञ्चार क्षेत्रमा प्रवेश गर्ने गर्छन् । पेशागत सुरक्षा पहिलो आवश्यकता हो । 

नेपालमा करिब १५ हजार जनशक्ति पेशाकर्मीको रूपमा यस क्षेत्रमा छन् । प्रत्येक वर्ष नव प्रवेशीको संख्या पनि बढ्दै छ । जसरी संख्या बढ्दै छ त्यही रूपमा पेशागत असुरक्षा पनि बढ्दै छ । पेशागत असुरक्षा नवप्रवेशीको कारणले नभएर अग्रज र दाइ पत्रकारको अमर्यादित र गैरव्यावसायिक चरित्रले हो । मिडिया मालिकको निजी स्वार्थ, लोभ र प्रलोभनमा परेर आफ्नै सहकर्मीमाथि घाँटी निमोठ्न पुग्ने दाइ पत्रकारको व्यवहार यसको उपज हो । 

पत्रकारिता पेशालाई सुरक्षित र भविष्यउन्मुख बनाउन हामीले विद्यमान ऐन, कानून र नियमलाई पछ्याउनु पर्छ । विकृतिको आहालमा डुबेका दाइ र भाइ पत्रकारबाट यसको समाधान खोज्न सकिँदैन । पेशागत रूपमा खरो उत्रन सक्ने र आफ्नो हकहितका लागि चट्टान झंै सम्झौता नगर्ने शून्य सहनशीलताबाट मात्र पार पाउन सकिन्छ । त्यसको लागि श्रमजीवी एक हुनुको विकल्प छैन । कुनै त्यस्तो मिडिया हाउस छैन जहाँ यस्तो विकृति नदेखिएको होस् । कुनै न कुनै रूपमा समस्या जीवित छ । मिडिया मालिक उदार भएको ठाउँमा दाइ पत्रकारको थिचोमिचो छ भने मिडिया मालिक अनुदार भएको ठाउँमा दाइ पत्रकार तिनै मिडिया मालिकको मतियार बनेर काम गरिरहेका छन् । प्रत्येक दिनजस्तै पत्रकार लुटिएको छ ।

न्यूनतम पारिश्रमिकको ग्यारेन्टी, अनिवार्य नियुक्ति पत्रको व्यवस्था, सेवामा जोडिएको दिनदेखि श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ बमोजिम सामाजिक सुरक्षा, बिमाको व्यवस्था, पारिश्रमिकको नियमित भुक्तानी, उपचार खर्च तथा चाडपर्व भत्ता लगायतको ग्यारेन्टी हुनुपर्छ । ऐन र नियमावलीमा भएको व्यवस्थालाई सेवामा जोडिँदामात्र होइन सेवाबाट बाहिरिँदासमेत प्रत्याभूति हुने वातावरण बनाउनु पर्छ । 

त्यसैमा सम्झौता गरेर हामीमध्ये कोही विशेष गरी हाम्रै प्रतिनिधि मतियार बनेर हिँड्दा विकृति निम्तिएको हो । यस्ता प्रवृत्ति भएका व्यक्तिहरूलाई पहिचान गरी सार्वजनिक गर्ने, सामाजिक बहिस्कार गर्ने र कानूनी उपचारमा जाने हो भने कसैसँग सम्झौता गर्न पर्दैन । समाधान टाढा पनि छैन । (पत्रकारितासमेत गरेका लेखक अधिवक्ता हुन्)                   
 



नयाँ