arrow

देवकोटा चोकबाट बुद्धको मूर्ति नहटाइने

logo
प्रकाशित २०७३ असार १९ आइतबार
लुम्बिनी (रुपन्देही) । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवाको देवकोटा चोकमा रहेको बुद्धको मूर्ति अन्यस्थानमा सारी उक्त स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक राख्ने जिल्लास्तरीय निर्णयबाट स्थानीय राजनीतिक दल तथा सरोकारवाला पछाडि हटेका छन् । 
 
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा गत असार १३ गते बसेको सर्वपक्षीय भेलाले देवकोटा चोकमा महाकवि देवकोटाको प्रतिमा राख्ने निर्णयप्रति बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संस्थाले विरोध जनाएपछि दल तथा सरोकारवाला आफूले गरेको निर्णयबाट पछाडि हटेका हुन् । 
 
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय भेलाले देवकोटा चोकमा रहेको भगवान गौतम बुद्धको मूर्तिलाई यथावत् राख्ने, अर्धकदको देवकोटाको सालिकको ठाउँमा पूर्णकदको देवकोटाको सालिक राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 
 
गत असार १३ गते बसेको बैठकले देवकोटा चोकमा रहेको बुद्धको प्रतिमालाई भारतबाट नेपाल प्रवेश गर्ने बेलहिया नाकामा रहेको पर्यटन कार्यालयमा स्थानान्तरण गर्ने निर्णय एकपक्षीय भएको भन्दै बौद्ध धर्मसँग सम्बन्धित सङ्घसंस्थाले भैरहवामा सर्वदलीय, सर्वपक्षीय भेला आयोजना गर्दै निर्णय सच्याउन आग्रह गरिएको थियो । उनीहरुको आग्रह पश्चात पहिलेको निर्णय सच्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ