arrow

भगवान् शिवको ध्यान, रामको रहस्य

logo
ज्ञान,
प्रकाशित २०७८ जेठ २४ सोमबार
shiva3.jpg

एक पटक अत्यन्त प्रसन्न मुद्रामा बस्नुभएका भगवान् शिवलाई माता पार्वतीले अनुकूल समय जानी करबद्ध विनम्र पूर्वक प्रश्न गर्नुभयो, 'हे विश्वनाथ! तपाइ त्रिभुवनका गुरु हुनुहुन्छ, कृपा गरेर मलाई सम्झाउनुहोस् कि राम को हुन्? यदि उनी राजाका पुत्र हुन भने ब्रह्म कसरी हुन्? सतीका रूपमा मैले उनको जुन लीला देखेँ, त्यो मैले तपाईँलाई बताए, तर त्यसको फल मलाई राम्ररी मिलिसकेको छ।  हे नाथ! म मन, वचन, कर्मले तपाईँकी दासी हुँ, कृपा गरेर रामको निर्गुण र सगुण रहस्य तथा भक्ति, ज्ञान, वैराग्यको विवेचन गरेर यो बताउनुहोस् कि त्यो नाम के हो? जसको तपाईँले सदा ध्यान गर्नुहुन्छ ।'

भगवान् शङ्कर यस्तो लोक कल्याणकारी प्रश्न सुनेर अति प्रसन्न हुनुभयो अनि आफ्नो सहज राममय स्वरूपको ध्यानमा कहिबेर मग्न रहेपछि राम कथाको वर्णन गर्दै भन्नुहुन्छ- नजानेसम्म झुटो पनि सत्य लाग्छ, जसरी नचिन्नाले डोरी सर्प जस्तो देखिन्छ। उस्तै प्रकार जसलाई जानेपछि यो जगतको माया समाप्त हुन्छ, जसरी सपनाबाट जागेपछि सपनाका भ्रम समाप्त हुन्छ उस्तै प्रभु राम हुनुहुन्छ जसको नाम जप्नाले समस्त सिद्धि प्राप्ति हुन्छ । जसले अमङ्गललाई हरेर मङ्गल गर्दछन् ।

माता पार्वतीद्वारा राम कथा प्रसङ्ग सोधिएकोमा प्रसन्न भगवान् शङ्कर फेरि भन्नुहुन्छ, 'हे उमा। तिमी समान उपकारी व्यक्ति कोही छैन, किनभने यो प्रसङ्ग समस्त जगतका कल्याण गर्ने पवित्र गङ्गा समान छ। रघुवीरको श्री चरणको अनुरागी भएर लोक-कल्याणको लागि यस्तो प्रश्न सोध्ने हे पार्वती ! रामको कृपाले तिम्रो मनमा सपनामा पनि कुनै शोक, मोह, सन्देह वा भ्रम छैन।'

भगवान् शङ्कर भन्नुहुन्छ, 'हे उमा तिमिले यो शङ्का रहित प्रश्न यस कारण सोध्यौ किनकि यसको विवेचन गर्नाले र यसको श्रवण गर्नाले सबैको कल्याण हुनेछ। जसले आफ्नो कानले हरि कथा (सत्सङ्ग) सुन्दैन, उसको कान सर्पको प्वाल समान हो, जसले आफ्नो आँखाले सन्तहरूको दर्शन गर्दैन,  उसको आँखा मयुरको प्वाँख समान हो । जसले गुरु महाराजको  चरणकमलमा प्रणाम गर्दैन उसको शिर तितो चिन्डो समान हो। अनि आफ्नो हृदयमा भगवान् भक्ति नराख्ने व्यक्ति जीवितै मुर्दा समान हो। प्रभुको गुणगान नगर्नेको जिब्रो भ्यागुताको जिब्रो समान हो, हरि कथा अर्थात् सत्सङ्ग सुनेर खुसी नहुनेको हृदय कठोर वज्र समान हो । हे पार्वती! रामको लीला दैवी प्रकृति भएको मनुष्यको लागि हितकर छ अनि असुरहरूलाई  विमोहित गर्छ । कामधेनु समान यो राम कथा जसले श्रद्धापूर्वक श्रवण गर्छ, उसलाई यसले सबै सुख प्रदान गर्छ । यो कथाको गुणगान सुन्ने सत्सङ्गीहरूको समाज नै देवलोक हो।'

भगवान्  शङ्कर भन्नहुन्छ,'यस्तो अभागी को होला जसले यस्ता परम कल्याणकारी कथालाई सुन्दैन। अज्ञानीहरू आफ्नो अज्ञानको कारण 'राम'लाई जान्दैनन् । यस्ता जड प्राणीले आफ्नो मोहको आवरणमा प्रभुलाई अरू नै केही सम्झन्छन् । जसरी आकाशमा बादलले घामलाई छोपेको देखेर क्षुद्र बुद्धिका मानिसले भन्छन्, बादलले घामलाई खायो।

राम सच्चिदानन्द दिनेसा।
नहीँ तह मोह निशा लवलेसा ।।

राम सच्चिदानन्द अविनाशी ब्रह्म हुन्, जो सबैदेखि पर सबैको हृदयभित्र वास गर्छन्, जसको दर्शन आफ्नो हृदयमा  हुनसाथ हामी यो स्वप्न वत् संसारबाट जाग्छौँ। अनि यो त्यो नर रूप हरि अर्थात् सद्गुरुदेव महाराजको शरणमा गएर त्यो  राम नामलाई जान्नाले नै सम्भव हुन्छ । तब श्रीरामचरित्रमानसलाई बुझ्न सकिनेछ।'

धर्तीमा अधर्म र अधर्मीहरूको नाश गर्न त्यस प्रभुको हर युगमा अवतार हुँदै आएको छ। त्रेता युगमा यज्ञहरूमा विघ्न गर्ने, ऋषि-मुनिहरूलाई सताउने- मार्ने रावणका अनुचर राक्षसहरूदेखि यज्ञको रक्षा गर्न जब मुनि विश्वामित्रले राम र लक्ष्मणलाई राक्षसी ताडका भएको बाटो भएर लिएर गए, तब प्रभु रामले एउटै बाणले ताडकाको वध गर्नुभयो। तब ऋषिले आफ्नो मनमा प्रभुलाई विद्याको भण्डार हुन् भनेर जानेर पनि (लीला पूर्ण गर्नका लागि) यस्तो विद्या दिए जसद्वारा भोक-प्यास लाग्दैन थियो अनि शरीर अतुलित तेज र बलशाली बन्थ्यो। रामले मारिचलाई एउटै बाण हानेर सय योजन समुद्रको पारी पुर्‍याएर फ्याँक्नु भयो अनि सुवाहुलाई अग्नि बाणले मार्नुभयो । लक्ष्मणले राक्षसहरूको सेनाको संहार गरे । मुनि विश्वामित्रको साथ दुवै भाइ सीताको स्वयंवरमा भाग लिन जानुभयो। मुनिको आदेशले दुवै भाइ जनकपुरीको अद्भुत शोभा हेर्न घुम्न जानुभयो, जहाँ गौरी पूजन गर्न सीता सखीहरूको साथमा आइन् । सीताको विलक्षण  सौन्दर्यलाई देखेर रामले उनको त्यो अद्भुत सुन्दरताको कुनै  उपमा दिन सक्नु भएन।

सारा राजा गणले जब धनुषलाई तोड्नु त परै रह्यो त्यसलाई हल्लाउन पनि सकेनन्, तब मुनिको आज्ञा पाएर प्रभु राम उनलाई प्रणाम गरी अगाडि सर्नुभयो । माता जानकीकी माता सुनयनाको मनमा यो शङ्का हुन गयो कि यस्ता सुकोमल सुकुमार रामले यो पर्वतराज जस्तो शक्तिशाली धनुषलाई  कसरी उठाउन सक्ने छन्! तब एक सखीले उनलाई सानो कुम्भज ऋषि (अगस्त्य मुनि) द्वारा अपार समुद्रको सारा पानी पिएको प्रसङ्ग सुनाएर भन्छिन्, हेर्दा सूर्यको आकार कति सानो देखिन्छ, तर त्यो सूर्य उदय हुनसाथै त्रिभुवनको अन्धकार भागेर जान्छ। उस्तै ब्रह्मा, विष्णु, महेश, सारा देवता र समस्त सृष्टि जुन परमलघु मन्त्रको वशमा छन्, उस्तै प्रकार विशाल मद मस्त हात्तीलाई एउटा सानो तीखो अङ्कुशेले तत्काल वशमा गर्छ । जसरी काम देवताले फूलको धनुष-बाणद्वारा सारा संसारलाई वशमा गर्छ, उस्तै प्रकार हे महारानी!  तेजवान् पुरुषको शरीरलाई देखेर उनलाई सानो नसम्झनुहोस्, निश्चित रूपले रामले यो शिव धनुषलाई अवश्य तोड्नु हुनेछ।

त्यसपछि प्रभु रामले त्यो शिव धनुषलाई सहज उठाएर तोड्नु भयो । धनुष तोड्न साथै श्री रामका जय-जयकार हुन थाल्यो । सन्त तुलसीदासकी भन्छन्, शिव धनुष जहाज हो अनि रामको भजनहरूको बल समुद्र हो, धनुष टुट्नाले उनीहरू सबै डुबे जो पहिले यो जहाजमा चढेका थिए । राम र सीताको अनुपम विवाहको विचित्र मण्डप, नाना प्रकारका वाद्य यन्त्र, ढोल, नगाड़ा तथा नाना प्रकारका अलौकिक रचनाहरूलाई देखेर असङ्ख्य पुरवासीहरू साथै आकाशमाथि आश्चर्यचकित देवताहरूलाई शिवजी भन्नुहुन्छ, धैर्य राखेर विचार गर कि यो प्रभुको महा-महिमामयी शक्ति सीताजी र अखिल ब्रह्माण्डको परम ईश्वर श्री रामको विवाह हो। अनि भगवान् शिव स्वयं पनि प्रभुको सुन्दर रूपलाई पार्वतीसहित आफ्नो सजल नेत्रले हेरेर अति प्रसन्न हुनुभयो ।

जय ध्वनि, बन्दी ध्वनि, वेद ध्वनि, शङ्ख ध्वनि, मंगलगान अनि नमाडाहरुका गान सुनेर देवगण हर्षित भई कल्पवृक्षको फूलहरू वर्षा गर्न थाले। रामद्वारा धनुष भङ्ग एवं सीतासँग विवाहको शुभ समाचार धर्ती, आकाश,  पाताल र नागलोक सर्वत्र फैलियो। समयअनुसार मुनि विश्वामित्रको आज्ञा अनुसार प्रभु रामले अवध पुरीमा प्रवेश  गर्नुभयो जहाँ सबै नर-नारी प्रभुलाई देखेर आफ्नो नेत्र सफल गरी अत्यन्त खुसी भए । सबैले आफ्नो घर, नगर, द्वार, बाटो, दोबाटो, चौबाटो सजाए। खुसीले आँखाबाट प्रेमको आँसु झार्दै सबैले भेट, पूजा, मणि, भूषण, वस्त्र आदि चढाउँदछन् ।

यस प्रकार भगवान् शंकरको हृदयस्थित मानसरोवरबाट प्रवाहित भइरहेको महामन्त्रको सदृश्य मानस कथाको व्याख्या गर्दै तुलसीदासकी भन्छन्- मन्त्र महामनि बिषय व्याल का
 मेटत कठिन कुअंक भाल के।।

त्यो नामरूपी महामन्त्र यस्तो अद्भुत मणि हो जसको स्मरण गर्नाले मात्र संसारको विषय-वासनारूपी सर्पको विष तत्काल समाप्त हुन्छ । त्यो महामन्त्रले हाम्रो भागमा (निधार) लेखेको कठिन, नमेटिने नराम्रो लेखलाई पनि मेटाइदिन्छ । हाम्रो भाग्यलाई उल्टाइदिन्छ, यस्तो छ त्यो परम शक्तिशाली प्रभुको नामरूपी मन्त्र।



नयाँ