arrow

शिक्षामा नयाँ क्रान्तिको नेतृत्व शिक्षकले गर्नुपर्छ : मन्त्री पोखरेल

logo
प्रकाशित २०७३ असार १९ आइतबार
Giriraj.jpg.jpeg
महोत्तरी। समृद्ध राष्ट्र निर्माणका लागि शिक्षामा नयाँ क्रान्तिको आवश्ययकता रहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । शिक्षा विधेयक प्रमाणीकरणको अवसरमा महोत्तरीको बर्दिवासमा आज आयोजित अन्तक्रियात्मक चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षामा नयाँ क्रान्तिको नेतृत्व विद्यालयका शिक्षकले गर्नुपर्नेमा जोड दिए । शिक्षकले विद्यालयलाई जागिर पकाउने स्थलको रुपमा नलिई समाजलाई परिवर्तन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने उहाँको ठहर छ । 
 
मन्त्री पोखरेलले भने , “शैक्षिक प्रशासन विद्यालय सञ्चालनका लागि प्रमुख छ । त्यसैले विद्यालयमा शौचालय, सुरक्षा, पुस्तकालय जस्ता पूर्वाधार निर्माण गर्नुपर्छ ।” उच्च शिक्षा पढ्न चाहनेलाई प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने व्यवस्था शिक्षा विधेयकमा उल्लेख रहेको मन्त्री पोखरेलको कथन थियो । 
 
दुई तिहाइ अभिभावकको सहमति बिना निजी विद्यालयले शुल्क बढाउन नपाउने व्यवस्था नयाँ विधेयकमा रहेको बताउँदै महोत्तरी क्षेत्र नं १ का सांसदसमेत रहेका मन्त्री पोखरेलले कम्पनी ऐन अन्तर्गत स्थापित विद्यालयलाई गुठीमा आउन सर्वजनिक अपिल पनि गरे । 
 
मावि र उच्च माविमा हाल २३ हजार शिक्षकको आवश्यकता रहेको बताउँदै अर्थ मन्त्रालयसँग बजेट माग गरेर दरबन्दी खुलाउन आफू लागिपरेको समेत मन्त्री पोखरेलले दाबी गरे । मन्त्री पोखरेलले भने , “४० हजार राहत र १५ हजार अस्थायी कार्यरत रहेका शिक्षकलाई खुल्ला प्रतिस्पर्धाबाट स्थायी हुने ऐनले बाटो खुल्ला गरेको छ ।” 
 
“राहत शिक्षकलाई सात वर्षभित्र दरबन्दी मिलान गर्दै र ५० वर्ष पुगेका शिक्षकलाई स्वेच्छिक अवकासको व्यवस्था गर्न लागि परेको छु,” उनले भने , “३४ हजार बालविकासमा कार्यरत शिक्षिकालाई अन्तर्राष्ट्रिय श्रमको कानुनअनुसार रु तीन हजारबाट वृद्धि गरी तलब रु ६ हजार पुर्‍याउने सरकारले नीति लिएको छ ।” शिक्षा सम्बन्धी अफवाहलाई भरखरै प्रमाणीकरण भएको शिक्षा विधेयकले चिरेको मन्त्री पोखरेलले दाबी गरे । 
 
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका निर्देशक दिनेश श्रेष्ठ, महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक जनक भट्टराईलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा, सिन्धुली, रौतहट, बाराका जिल्ला शिक्षा अधिकारीसहित शिक्षकको सहभागिता रहेको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ