भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार परिवर्तन भए देशले ठूलो सङ्कट भोग्नुपर्ने बताएका छन्। आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान् अवस्थामा सङ्क्रमणकालको व्यवस्थापन गर्न लागेको सरकार परिवर्तन गरे सङ्कट आउने बताए ।
वर्तमान सरकार सजिलै परिवर्तन हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले भने – “यो संविधान कार्यान्वयनको बेला हो, सरकार परिवर्तन गर्ने समय होइन, सरकार परिवर्तन भइरहेमा झन सङ्कट आउँछ, त्यसैले वर्तमान सरकार परिवर्तन भएमा मुलुकमा गम्भीर सङ्कट आउँछ ।”
तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेको बताउँदै उनले सरकार परिवर्तनभन्दा विरोधी दलसमेत यही सरकारमा सहभागी भएर संविधान कार्यान्वयनलाई पूरा गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।
वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गराउन सक्ने बताउँदै उनले निर्वाचन भएमा देश र जनतालाई फाइदा पुग्ने बताए । निजी मेडिकल कलेजहरुको गतिविधिबाट जनतामा त्रास पैदा भएको चर्चा गर्दै उनले मेडिकल कलेजले बिरामीको शरीरलाई प्रयोगशाला बनाउने गरेकामा रोष प्रकट गरे । रासस