काठमाडौं। नेपालले आफूलाई आवश्यक पर्ने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट नेपाल ल्याउने गरेको कुरा सबैमा जानकारी कै विषय हो। तर सोही मुलुकबाट नेपाल भित्र्याएको पेट्रोलियम पदार्थ नेपालको भन्दा भारतमा महंगो हुन्छ भन्ने सुन्दा अचम्म लाग्ला। तर छिमेकी मुलुक भारतको भन्दा नेपालको मुल्य झण्डै २० रूपैयाँले सस्तो रहेको नेपाल आयल निगमले जनाएको छ।
निगमले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणालीको चलन बसालेपछि पनि झण्डै ५ महिनादेखि पेट्रल तथा डिजेलको मूल्यमा समायोजन गरेको छैन। जसले गर्दा नेपालको र भारतको मुल्यमा यस्तो अन्तर देखिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिएको छ। निगमले केहीदिन अघि हवाई इन्धनको मुल्य समायोजन गरेको भएपनि पेट्रोल तथा डिजेलको मुल्यमा समायोजन नगर्ने जनाएको छ।
अहिले वीरगंजको दशगजावारी र पारीको पेट्रोलियम पदार्थको भाउमा भारी अन्तर देखिएको छ। भारतीय बजार रक्सौलमा ९३ रूपैयाँ ८७ पैसाको दरमा डिजेल विक्री भईरहेको छ। त्यसैगरी पेट्रोलमा १ सय ७ रूपैयाँ ७ पैसाको दरमा रक्सौलमा तेल विक्री भईरहेको प्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार पेट्रोलियम पदार्थको भाउ घट्दा पनि भारत सरकारले अन्तशुल्क बढाएर पेट्रोलियम पदार्थ बेचेकोले यस्तो भिन्नता आएको हो।
नेपालमा पनि हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा पेट्रोल र डिजेलमा १ रूपैयाँ ५० पैसाको भिन्नता रहने गरेको छ। ढुवानीको कारणले गर्दा यस्तो भएको निगमले जनाएको छ। निगमले यसरी पेट्रोलियममा देखिएको कमिले गर्दा सीमानामा तस्करीको सम्भावन पनि रहेकोले यस विषयमा सुरक्षा निकायले चासो दिनुपर्ने कुरामा पनि सचेत गराएको छ।