- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेका बेला अस्पतालहरूमा बिरामीको चाप उसैगरी बढेको छ । यस्तो परिस्थितिमा स्वास्थ्यकर्मीहरू ठूलो जोखिम मोलेर सङ्क्रमित बचाउन अहोरात्र खटिएका छन् । चिकित्सक, नर्स वा अन्य स्वास्थ्यकर्मीहरू सङ्क्रमितहरूको सेवा र उपचारमा खटिएर ‘भगवान्’ कहलिएका छन् । वास्तवमा विश्वव्यापी रूपमा फैलिएको महामारीका बेला बिरामीहरूका लागि स्वास्थ्यकर्मीहरू जीवनदाता नै बनिरहेका छन् । कतिपय बिरामीहरूका लागि चिकित्सकहरू नयाँ जीवनको प्रणेता बनेर प्रिय बनेका छन् । आफ्नो परिवार, आफ्नो स्वास्थ्य र जीवनलाई नै दाउमा राखेर सङ्क्रमितको उपचारमा खटिने ‘फ्रन्टलाइनर’ स्वास्थ्यकर्मीहरू महामारीका नायक नै बनेका छन् ।
ती नायकमध्येकी एक हुन् डा. कुन्दू श्रेष्ठ । उनको दैनिकी विगत १५ महिनायता यसरी नै सङ्क्रमितहरूको जीवन बचाउनमै बितिरहेको छ । काठमाडौंको बलम्बूस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) अर्थात् सघन उपचार कक्षको सिङ्गो व्यवस्थापनमा खटिएकी डा. कुन्दू यसबीचमा धेरै दुःख सुख झेल्दै आइरहेकी छिन् ।
सङ्क्रमण बढ्दै गएपछि कोभिड विशेष अस्पताल शुरूआतमा पर्याप्त र दक्ष जनशक्ति अभाव हुँदा पनि डा. कुन्दूको टिमले बिरामीलाई असहज हुनबाट जोगाएको थियो । ‘हुन त म विगत आठ वर्षदेखि यो सेवामा क्रियाशील भए पनि कोरोनाको महामारी एक्कासी बढ्दा शुरूआती समयमा केही असहज भयो तर अस्पतालमा बिस्तारै उपकरण र बेडहरू थपिएपछि अवस्था सामान्य बन्दै गयो’, उनले भनिन्, ‘टिमका साथीहरूलाई दक्ष बनाउँदै लगेपछि मलाई टिम व्यवस्थापन गर्न सहज भयो ।’
कोरोना महामारीको शुरूआतमा अस्पतालमा आईसीयू सञ्चालन गर्न दक्ष जनशक्ति उत्पादन तथा वृद्धि गर्न केन्द्रित रही काम गरेको अनुभव उनीसँग छ । नर्सहरूलाई ‘क्रिटिकल केयर’ मा दक्ष बनाउँदै लगेपछि सघन कक्षलाई व्यवस्थित बनाउन सकेकोमा खुशी व्यक्त गर्दै उनले भनिन्, ‘दोस्रो भेरिअन्टका कारण बिरामीको सङ्ख्या बढ्दै जाँदा बेड सङ्ख्या बढाउने, उपकरण थप्ने, अक्सिजन प्लान्ट जोड्ने, हाइ केयर युनिट खडा गरेर सङ्क्रमितको उपचारमा सहज बनाउन सफल भएका छौं ।’
सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरू अधिकांश निको भएका छन् । मृत्यु हुनेको सङ्ख्या न्यून नै छ । यसका पछाडि टिम व्यवस्थापन र अस्पतालमा उपलब्ध उपकरण नै प्रमुख भएको उनको बुझाइ छ । भन्छिन्, ‘हामीले युवा उमेर र वृद्ध उमेरका सबै किसिमका सङ्क्रमितलाई सफलतापूर्वक उपचार गराएका छौं, दीर्घरोगीहरूका सवालमा केही असफल भए पनि यहाँ भर्ना भएका बहुसङ्ख्यक सङ्क्रमित निको बनाउँदा खुशी लाग्छ ।’
गत वर्षको कोरोना सङ्क्रमण, त्यस बेलाको भेरिअन्ट र यसपालिको भेरिअन्टका कारण सङ्क्रमितको सङ्ख्या बढेका कारण २४ ऐ घण्टा बिरामीका लागि खटिनुपर्दा शारीरिक रूपमा पीडाबोध हुने गरेको उनको अनुभव छ । उनी भन्छिन्, ‘अवस्था नै त्यस्तै आएकाले हाम्रो जिम्मेवारी पूरा गरेका हौं, परिवारबाट टाढा रहेर २४ ऐ घण्टा बिरामीका लागि खट्नु हाम्रो रहर होइन जिम्मेवारी र बाध्यता हो ।’ सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकसमेत रहेकी डा. कुन्दू बिरामीको उपचार गर्ने क्रममा बिरामीसँग पारिवारिक रूपमा आत्मीय हुन पाउँदा आत्मसन्तुष्टि मिलेको अनुभव सुनाउँछिन् ।
अस्पतालको सघन उपचार केन्द्रमा रहेका काम गर्दा उनले कोभिडले सिकिस्त भएका बिरामीहरूको वास्तविक समस्या र शारीरिक समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको बताउँछिन् । ‘हामी भावनात्मक रूपमा बिरामी र बिरामीहरूका आफन्तसँग नजिक भएर काम गरिरहेका हुन्छौं, कतिपय बिरामीहरूलाई अन्तिम अवस्थासम्म प्रयास गर्दा पनि बचाउन सक्दैनौं । त्यसबेला परिवारलाई जस्तै आफूलाई पनि अत्यन्तै पीडा हुने गर्छ’ उनले भनिन् , ‘सास रहुन्जेल आश हुने भएकाले गम्भीर बिरामीका लागि सबै विधि र प्रक्रिया अपनाएर प्रयास गर्दागर्दै पनि बचाउन सकिँदैन । त्यस बेला मन भाउन्न भएर आउँछ ।’
हुन त कोरोना सङ्क्रमण भएका बिरामीहरूमध्ये पनि दीर्घरोगीहरूलाई सङ्क्रमणले धेरै सताउने भएकाले बचाउन निकै ठूलो कसरत गर्नुपर्ने उनको अनुभव छ । दोस्रो भेरिअन्ट शुरु भएयता भर्ना भएका गम्भीर बिरामीहरूको फोक्सो र मुटुमा धेरै समस्या देखिएको उनले बताइन् । साथै कतिपय बिरामीहरू कोरोना जितेर घर फर्किए पनि फेरि सङ्क्रमित भएर अस्पतालमा भर्ना भएकाहरूको पनि उपचार गरेको अनुभव सुनाउँछिन् । ‘कोरोनालाई सामान्य मान्नु हुँदैन, दोहोरिएर संक्रमण हुने उत्तिकै हुन्छ । त्यसैले स्वास्थ्य सावधानी र खानपनमा विशेष ख्याल दिनुपर्छ,’ उनले सुझाव दिइन् ।
ज्ञानोदय बालबाटिकाबाट विद्यालय स्तरको पढाइ सकेर जेभियर इन्टरनेशनलबाट प्लस टु सकेकी उनले विराटनगरको नोबेल मेडिकल कलेजबाट एमबीबीएस गरेकी थिइन् । वीर अस्पताल अन्तर्गतको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट क्रिटिकल केयर तथा एनेस्थेसियोलोजीमा विशेषज्ञता हासिल गरेकी उनी आईसीयू विशेषज्ञका रूपमा अस्पतालमा सबल नेतृत्व गर्ने महिला चिकित्सकका रूपमा उभिएकी छिन् ।
नेपालका महिला चिकित्सकहरुमध्ये डा. कुन्दूले हासिल गरेको विशेषज्ञता र अनुभव एकदमै न्यून संख्यामा मात्र छन् । ‘यो विशेषज्ञता र अनुभव मेरा लागि होइन बिरामी र अस्पतालका लागि सदुपयोग गर्न पाइरहेकी छु, एकदमै गर्व लाग्छ,’ उनले खुशी साट्दै भनिन् ।
नेपालमा दिन दिनै बढिरहेको कोरोना र फरक भेरिअन्टबाट बच्न पहिलो कुरो अनुशासनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । व्यक्ति व्यक्तिले आफ्नै लेभलबाट सचेत रहन नसके वा स्वास्थ्य मापदण्ड पालना नगरे सङ्क्रमण रोक्न नसकिने उनको बुझाइ छ । महामारीलाई नियन्त्रण गर्दै लैजान हरेक मानिस सचेत र जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । खोप अभियान देशव्यापी सबै समूहका मानिसहरूलाई पुर्याउन सकेमा केही नियन्त्रण हुनसक्ने उनी बताउँछिन् । –प्रस्तुतिः युवराज गौतम