arrow

‘हिन्दू राष्ट्रको प्रस्ताव काँग्रेस केन्द्रीय समिति मै जान्छ’

logo
प्रकाशित २०७३ असार २० सोमबार
khum-bhahadur-khadka-new-bardiya.jpg.jpeg
काठमाडौं । हिन्दू राष्ट्रको एजेण्डा सेलायो भन्ने अड्कल काटिएकै बेला प्रमुख विपक्षी नेपाली कांग्रेसभित्रको एक समूह फेरि जाग्ने भएको छ । यसअघि हिन्दु जागरण अभियान चलाएको कांग्रेस नेता खुमबहादुर खड्का समूह फेरि जुर्मुराउन थालेको छ । सोमबार बर्दीया पुगेका नेता खुमबहादुर खड्कालाई कार्यकर्ताले ३० किलोको माला लगाएपछि उनी निकटस्थहरुले फेरि उनको दौडाह सुरु भयो भन्ठाने । 
 
तर, उनीसंगै रहेका सहयोगीहरुले साथी संगी भेटघाट मात्रै हो–भने । यद्यपि, खड्काको निकै नजिक मानिने कांग्रेस नेता संकर भण्डारीले तत्काल हिन्दु राष्ट्रबारे हल्ला खल्ला नभए पनि आफुहरु कांग्रेस केन्द्रीय समितिमै प्रस्ताव लाने तयारीमा रहेको बताए । उनले भने, ‘अबै छिट्टै हामी प्रस्ताव लैजान्छौं । हाल सम्म केही पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन नभएकाले केन्द्रीय समिति पूर्ण भएको छैन ।’ केन्द्रीय समितिको पूर्णता लगत्तै प्रस्ताव जाने संकेत भण्डारीले गरे । 
 
खड्का समूह १३औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा पक्षमा लागेको छ । यद्यपि, देउवासंगको पूर्व सहमति पालना नभएको भन्दै रुष्ठ भएको खड्का समूहले महाधिवेशन लगत्तै हिन्दु राष्ट्रको एजेण्डा पार्टीभित्र बहस गराउने बताएको थियो ।  
 
नेता भण्डारीले भनेका छन्, ‘यो धेरै जनताको मागको र चाहानाको कुरा हो । यो विषयमा हामी अब पार्टीमा नै कुरा उठाउँछौं ।’ पार्टीमा कुरा उठाउने भनेको औपचारिक रूपमा कि अनौचारिक ? जवाफमा भण्डारीले भने, ‘हामी केन्द्रीय समितिमै प्रस्ताव लैजान्छौं ।’ कहिले ? उनले यस विषयमा धेरै जनताको माग रहेकोले छिट्टै जाने मात्रै भने तर स्पष्ट तिथि खुलाएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ