लण्डन । ब्रिटिश खेलाडी एन्डी मरे र स्वीस खेलाडी रोजर फेडेरर इङ्ल्याण्डमा जारी वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विश्व नम्बर दुई मरेले प्रिक्वार्टरफाइनलमा निक किर्गिसलाई सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा ठाउँ पक्का गरेका हुन् । मरे ७–५, ६–१ र ६–४ को सोझो सेटमा विजयी हुँदै नवौं पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा ठाउँ बनाएका हुन् ।
अब मरेको भिडन्त बुधबार १२ औं वरियताका फ्रेन्च खेलाडी जो वेल्फ्रेड सोङ्गासंग हुनेछ । सोङ्गाले सातौं वरियताका रिचर्ज ग्यास्केलाई पराजित गरेका हुन् ।
त्यस्तै तेस्रो वरियताका फेडेररले सातौं वरियताका स्टेभ जोन्सनलाई ६–२, ६–३ र ७–५ ले पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाएका हुन् । अब फेडेररको भिडन्त सन् २०१४ को युएस ओपन च्याम्पियन क्रोएसियन खेलाडी मारिन सिलिकसंग खेल्नेछन् । सात पटकका विम्बल्डन च्याम्पियन फेडेररले सन् २०१२ पछि यो उपाधि जित्न सकेका छैनन् । गत वर्षमात्र उनी फाइनलमा विश्व नम्बर एक सर्वियन खेलाडी नोभाक जोकोभिचसंग पराजित भएका थिए ।
जोकोभिच तेस्रो चरणबाटै बाहिरिइसकेका अवस्थामा यसपटक जसले जिते पनि नयाँ च्याम्पियन हुनेछ । अन्य क्वार्टरफाइनलमा अमेरिकन खेलाडी साम क्विरीले क्यानेडियन खेलाडी मिलोस राओनिकसंग तथा चेक खेलाडी यिरी भेसेलीले टमस बर्डिज र लुकास पाउलीबीचको विजेतासंग खेल्नेछन् ।