arrow

के छ सरकारको विपद् प्रतिकार्य योजना ?

जोखिम न्यूनीकरणका लागि नक्सा र पहिरोको पनि पूर्व सूचना

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ असार ४ शुक्रबार
myagdi-flood-river.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले मनसुनको समयमा विपद्बाट हुन सक्ने घटनाको न्यूनीकरणका लागि ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ बनाएको छ । सरकारले विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना तयार गरेको हो। 

सो प्रतिकार्य योजनालाई गृह मन्त्रालयले बुधवार पारितसमेत गरिसकेको छ। प्रतिकार्य योजनामा घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरिएको छ। नक्सालाई आधार मानेर विपद्को जोखिमको मूल्याङ्कन र आवश्यक  तयारी गर्न सकिने छ। 

प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको घटना भएको ३० मिनेट भित्रमा उद्धारसमेत गर्ने गरी रणनीति बनाइएको छ। सडक सुविधा भएको स्थानमा सो समय भित्र प्रभावितहरूको उद्धारमा सुरक्षा संयन्त्र पुगिसक्ने छन्।

गृह मन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बुधवार बसेको बैठकले कार्य योजना पारित गरेको हो। 

गृह मन्त्रालय स्रोतले विपद्बाट हुन सक्ने क्षति रोकथामका लागि गरिने पूर्व तयारी र क्षतिपछिको अवस्थालाई तत्काल सहज बनाउने गरी प्रतिकार्य योजना बनाइएको जानकारी दिएको छ। 

प्रतिकार्यको प्रभावकारी कार्यान्वयनका लागि बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन वटै सुरक्षा निकाय सम्मिलित डेडिकेटेड डिजास्टर रेस्पोन्स टिम (डीडीआरटी) समेत गठन गरिएको छ। 

यस्तै घटना भएको स्थानबाट प्रभावितहरूलाई अस्थायी बसोबासको प्रबन्ध गरी क्षति पुगेका घरहरूको पुनर्निर्माण गरिने योजना प्रतिकार्य योजनामा राखिएको छ।

यसै गरी तराइका बाढीको उच्च जोखिम रहेका जिल्लाहरूमा थप मोटर बोट र रबर बोटको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ। 

पारित विपद् प्रतिकार्य योजनामा मुख्य गरी पहिरोको वडा स्तरीय नक्सा तयार पारी जोखिम न्युनकिरणका कार्यक्रम समावेश गरिएको छ। यस्तै बाढी र कोभिड तथा पहिरोको र कोभिडको जोखिम पहिचान गरी नक्सा समेत तयार पारिएको छ।

पहिरोबाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न यसै वर्षदेखि पहिरोको पूर्व सूचना प्रणाली पनि विकास गरिएको छ। यस्तो सूचना पहिरोका जोखिम रहेका नौ जिल्लामा दिन सकिने गरी व्यवस्था मिलाइएको छ। 

यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिने गरी प्रणालीको विकास गरिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए। 

उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका एक लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन्। 

सरकारले बाढीबाट हुने क्षतिलाई समेत बाढी आउने पूर्व सूचना प्रणालीबाट कम गर्दै आएको छ। मङ्गलवार राती सिन्धुपाल्चोकमा भएको घटनामा पनि पूर्व सूचना प्रणालीले धेरैको ज्यान जोगिएको अधिकारीहरूले भनेका छन्। 

पारित प्रतिकार्य योजनामा मानिसको सुरक्षित व्यवस्थापनका  लागि मुलुकका विभिन्न क्षेत्रमा १५५ वटा खुला स्थान तय गरिएको छ। 

यसै गरी आपत्कालीन कार्यका लागि स्रोत साधनको विवरण सङ्कलन तथा व्यवस्थापन र परिचालनका आवश्यक तयारी पनि प्रतिकार्य योजनामा समावेश गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले प्रतिकार्य योजना पारित भएसँगै सरकारका सबै संयन्त्रलाई बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको काममा परिचालन गर्न सहज भएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ