arrow

प्राकृतिक विपत्तिको असर लुम्बिनीमा पनि, विभिन्न जिल्ला जोड्ने सडक अवरुद्ध

logo
नारायण वली,
प्रकाशित २०८१ असोज १२ शनिबार
Dang-Salyan- Road.jpg

लुम्बिनी । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडकखण्डका दर्जनाै स्थानमा पहिरो झरेको छ । पहिरोका कारण आवागमन प्रभावित भएको छ । भने सडक चालु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनी स्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी खोलामा पहिरो झरेको छ । नौवहीनी गाउँपालिका–७ कालिमाटी स्थित मैरामारेदेखी बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ । अर्घाखाँची स्थित पाणेनी गाउँपालिका–२ सालझण्डी ढोरपाटन सडक, गोरुसिंगे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ । 

पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ सल्यान राप्ती राजमार्ग, घोराही लमही–सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ । पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ । सन्धिखर्क–११ धारामाथी वस्ने जुद्ध बहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको बताईएको छ । शितगंगा नगरपालिका–७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको २ तले कच्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षती पुगेको छ । आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न अपिल गरेको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गरेका छन् । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा अपिल गरेका छन् । जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कहीँकतै विपद् आईपरेको खण्डमा आफु सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन आग्रह गरेका छन् । 

लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको हाल सम्म बाढीका २८ वटा घटना घटेका छन् । जसमा परेर ९ जनाको मृत्यु भएको छ भने ४ जना घाईते र ८ जना वेपत्ता छन् । पहिरोका २१ वटा घटना भएका छन् । जसमा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगलागीका ४८ वटा घटना भएका छन् ।

जसमा परेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका थिए । चट्याङका १७ वटा घटना भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ भन् २२ जना घाईते भएका छन् । पानीमा डुबेर ४८ जनाको मृत्यु भएको छ भने ७ जना घाईते र एक जना बेपत्ता छन् । मानव सिर्जित विपद्का घटनाहरुले मानवीय क्षति बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताएका छन् । लुम्बिनी प्रदेश भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपदको उच्च जोखिममा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ