arrow

[अपडेट] पहिरोमा परी प्यूठानमा आठ जनाको मृत्यु, सात जना नदीमा फसे

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
py.jpg.png
प्यूठान । पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले जानकारी दिए । 
 
मृत्यु भएका मल्ल अन्दाजी ४५ वर्षीय थिए ४० वर्षीया श्रीमती सीता मल्ल, १० वर्षीया छोरी सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको पनि पुरिएर मृत्यु भएको हो । 
 
घटनास्थलमा उद्धारका लागि प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली अग्लुङ पुगेको छ । 
रजवारा गाविसमा सडकको पहुँच नहुँदा अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ । हाल पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । 
 
त्यस्तै, गएरातिनै घर भत्किँदा उत्तरी प्यूठानकै पुजा–३ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुजाका होम बहादुर सुनार, नाम नखुलेकी उनकी श्रीमती र नातिनी रहेको थाहा हुन आएको छ । पुजामा उद्धारका लागि प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
तर रजवारामा ठूलो घटना भएकाले पुजामा तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली पुग्न नसक्ने प्रमुख जिल्ला अधिकारी पन्तले बताए । यसको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 
यसैबीच, प्यूठानको बरौला गाविसमा झिमरुक नदीको बीचमा सात जना कामदार फसेका छन् । हरियाटारमा कुलो निर्माणका लागि काम गर्दै आएका सात जना मजदुर नदीको बीचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिए । मजदुरको गएरातिदेखी आज विहानसम्म मजदुरको उद्धार हुन सकेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ