arrow

बङ्गलादेशमा मारिएका सात जापानीको शव टोकियो पुर्‍याइयो

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
n-bodies-a-20160706-870x537.jpg.jpeg
टोकियो । गएको शनिबार बङ्गलादेशको राजधानी ढाकामा भएको आतङ्ककारी आक्रमणमा मारिएका सतजना जापानी नागरिकको शव मङ्गलबार जापान पुर्‍याइएको छ ।  टोकियोबाट प्राप्त समाचारअनुसार मङ्गलबार बिहान सबेरै ती शव लगेको जहाज विमानस्थलमा अवतरण गरेको थियो । जापानी सरकारी विमानबाट ती शव टोकियो पुर्‍याइएको जनाइएको छ । 
 
टोकियोको हानेदा विमानस्थलमा मङ्गलबार बिहान ती शव अवतरण गराइएको थियो । त्यस समयमा उक्त विमानस्थलमा जापानी विदेशमन्त्री फुमिओ किसिदाको पनि उपस्थिति रहेको थियो । साथै सो विमानस्थलमा जापानी उच्च सरकारी अधिकारी र मारिएका व्यक्तिका परिवारको पनि उपस्थिति रहेको थियो । 
 
आज नै सो आक्रमणमा परी घाइते भएका एकजना जापानी नागरिकलाई पनि टोकियो लगिएको छ । उहाँलाई भने विमानस्थलबाटै अस्पताल पुर्‍याइएको दृश्य टेलिभिजनहरुले देखाएका थिए । बङ्गलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेन्टमा शनिबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी सातजना जापानीको ज्यान गएको थियो । 
 
उक्त आक्रमणमा २० जना विदेशी नागरिक मारिएका थिए । त्यसमा नौ जना इटालीका नागरिक थिए भने तीमध्ये एकजना भारतीय किशोरी पनि रहेको जनाइएको थियो । उक्त हत्याकाण्डको विश्वव्यापी रुपमा नै निन्दा गरिएको छ । यसको संयुक्त राष्ट्रसंघ, जापान, इटाली, भारत एवम् अन्य देशले पनि कडा शब्दमा निन्दा गरेका छन् । 
 
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजधानी ढाकास्थित सो रेष्टुरेन्टमा भएको आतङ्कककादी आक्रमणप्रति दुःख व्यक्तगर्दै बङ्गलादेशबाट आतङ्कवादी तथा हिंस्रक चरमपन्थीलाई निर्मूल पार्न सम्पूर्ण कारबाहीका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
 
ढाकास्थित उच्च सुरक्षा प्रबन्ध गरिएको कूटनीतिक क्षेत्रमा अवस्थित उक्त रेष्टुरेन्टलाई त्यहाँको आतङ्ककारी संगठनका लडाकूहरुले विदेशी नागरिकलाई कब्जामा लिई धारिलो हतियारको प्रयोग गरी क्रूरतापूर्वक हत्या गरेका थिए । 
 
बङ्गलादेशी कमाण्डो रेष्टुरेन्टमा पुग्दा बीसजनालाई धारिलो हतियारद्वारा हत्या गरिएको पाइए पनि सेना र अन्य सुरक्षाकर्मीद्वारा गरेको संयुक्त कारबाहीमा छ जना आतङ्ककारीको मृत्यु भएको छ भने एकजनालाई जीवितै सुरक्षा नियन्त्रणमा लिइएको छ । 
 
उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लिएको भएपनि बङ्गलादेशका अधिकारीहरुले भने उक्त आक्रमणमा आइएसको नभई बङ्गलादेशमा नै करिब नौ वर्षअघिदेखि प्रतिबन्ध लगाइएको एक आतङ्ककारी संगठनको हात रहेको जनाएका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ