arrow

सुवेदीको कृति भूमि, किसान र राज्य विमोचन

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
jhalak-subedi-pustak.jpg.jpeg
काठमाडौं। उपन्यासकार र राजनीतिक टिप्पणीकार झलक सुवेदीको भूमिसम्बन्धी नविन्तम कृति ‘भूमि, किसान र राज्य’को विमोचन भएको छ। पुस्तकको विमोचन गान्धीवादी अभियन्ता तथा गान्धी पिस फाउन्डेसनका पूर्व उपाध्यक्ष राजागोपालन भिपी र मानवशास्त्री जनक राईले संयुक्त रुपमा गरेका थिए। 
 
पुस्तकमाथि बोल्ने क्रममा राजागोपालनले आफ्नो ह्रदयमा भएको विषय भूमिमाथि पुस्तक लेखेकोमा सुवेदीलाई धन्यवाद दिए । उनले भने, ‘लाखौं मानिसको पहिचान, सुरक्षा र आत्मसम्मानसँग गाँसिएको भूमिलाई राज्यसँग जोडिदिएकाले म खुसी छु । यो पुस्तकले भूमिलाई फेरि बहसमा ल्याउने प्रयास गरेको छ । यसले संसारभरिका भूमि आन्दोलनलाई उर्जा दिनेछ ।’  
 
पुस्तकमाथि टिप्पणी गर्दै राईले सुवेदीको सानो, चिटिक्क पुस्तकले गहन विषय सरल भाषामा उठान गरेको छ भने । उनले थपे, ‘आदिवासीहरुको भूमिसँगको अन्योन्याश्रित सम्बन्ध कसरी परिवर्तन हुँदै गयो भन्ने राम्रो चित्रण पुस्तकमा छ । भूमि आन्दोलनको पीडालाई बुझ्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’
 
लेखक सुवेदीले भने, ‘राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरूङ जस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेका परिवर्तनबारे समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा पुस्तक तयार पारिएको हो । यो पुस्तक तयार पार्ने क्रममा भूमिलाई हेर्ने  मेरो दृष्टिकोण नै परिवर्तन भयो ।’ 
 
यस पुस्तकमा बिर्ताप्रथा र गुठीप्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानका पीडाको जीवन्त चित्रण पनि पाइन्छ ।
 
६६ वर्षयता नेपालमा भूमि सुधारका नाममा भएगरेका काम, नेपालको अर्थ–राजनीतिक इतिहास र वर्तमानबारे लेखिएको यो पुस्तक आदिवासी समुदाय र राज्यबीचको सम्बन्ध तथा भूमि, किसान र राज्यबीचका सम्बन्धको इतिहास जान्न चाहनेका लागि उपयोगी हुनेछ । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य २५० रुपैयाँ छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ