काठमाडौं । देशको ठूलो तरकारी बजारको रूपमा रहेको कालिमाटी तरकारी तथा फलफूल बजारमा अनुगमनको लागि गएका आपूर्ति मन्त्री गणेशमान पुन मंगलबार बल्खुको तरकारी तथा फलफूल बजारमा पुग्दा उनीमाथि सम्मान भन्दा पनि आक्रमणको प्रयास भयो । विशेषगरी समाचार संकलनको लागि गएका केही पत्रकार र कर्मचारीहरू व्यापारीको झोंकमा परे ।
नापतौलको विषयमा शंका लागेपछि नापतौलमा प्रयोग गरिने ढक र तराजु जफत गर्ने प्रयास गर्दा उनीहरूले आक्रमणको प्रयास गरेका हुन् । यसरी राज्यको मन्त्रीसहितको अनुगमन टोलीमाथि आक्रमणको प्रयास हुनु आफैंमा राम्रो त पक्क होईन । तर, यसलाई उपभोक्तावादीहरूले भने उपभोक्ताविरूद्ध काम गर्न सिकाउन मन्त्री आफैं यस्तो व्यवहारको शिकार बनेको आरोप लगाउने गरेका छन् ।
उनीहरूले बल्खुको तरकारी बजारमा देखिएको यस्तो उश्रृंखल व्यवहारले उपभोक्ताहरू कसरी लुटिन्छन् व्यवसायीबाट भन्ने कुरा स्पष्ट भएको जिकिर गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णुप्रसाद तिमल्सिनाले राज्यको जिम्मेवारी भन्दा बाहिर रहँदा उश्रृंखल व्यवहार सिकाएका मन्त्री आफैंले त्यसको परिणाम भोगेको भन्दैं उपभोक्ताको हितमा देखाउने भन्दा पनि केही काम गरेर देखाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए । उनी भन्छन् ‘मन्त्री ज्यू को यो व्यवहारले राज्यको जिम्मेवार तहमा पुगेपछि केही जिम्मेवारी बहन गर्नुपर्छ भन्ने ज्ञान फिरेको भएपनि अनुगमनले मात्रै पर्याप्त होइन ।’ आवश्यक मापदण्ड बनाउनु पर्दछ ।
मन्त्री पुन २०६३ सालदेखि २०७० सालसम्म माओवादीको युवा दस्ता वाइसीएलको अध्यक्ष रहेका बेला व्यापारीहरूलाई राज्य प्रशासनविरूद्ध उछृङ्खल गतिविधि छेड्न उक्साउने गरेको टिप्पणी छ । अहिले आफू स्वयं तिनै व्यवसायीको आक्रमणको शिकार बनेको भन्दै विभिन्न अड्कल काटिना थालेका छन् ।