arrow

विप्लप माओवादीको चन्दा असुली तीव्र; शिक्षण संस्थाहरु निसानामा (पत्रसहित)

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
biplav.jpg.jpeg
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा माओवादीको तीन महिने चन्दा अभियानले अहिले विभिन्न व्यापारिक तथा शैक्षिक प्रतिष्ठानहरुमा तनावमा रहेको पाइएको छ। सशस्त्र युद्धको बाटोलाई नै छोड्ज नसकेको नेकपा माओवादी अहिले विप्लवको हस्ताक्षर भएको चन्दा अपिल सहित तीन महिने चन्दा अभियानमा रहेको छ। 
 
अभियानमा रहेकाहरुले विप्लवको हस्ताक्षर भएको चन्दा अपिल दिदै आफ्ना कुरा राख्ने क्रममा अब हुने सशस्त्र लडाइका लागि हतियार किन्न सहयोग गर्न भनेर दवाव दिने गरेको एक शैक्षिक संस्थाका लगानीकर्ताले नाम नबताउने शर्तमा बताए। वैद्य नेतृत्वको माओवादीबाट समेत विभाजित भएर शुरु भएको विप्लव नेतृत्वको माओबादीले यतिबेला हतियार किन्नको लागि भन्दै विभिन्न क्याम्पसहरूमा चन्दा उठाउन थालेपछि त्यस्ता शिक्षण संस्थाहरु अहिले तनावमा रहेका छन्। 
 
उनीहरुको आँखामा यतिखेर प्राविधिक विषय अन्तर्गत्का विभिन्न मेडिकल कलेज, इन्जिनियरिङ कलेज र म्यानेजमेन्ट संकायमा अध्ययन गराउने क्याम्पसहरू परेका छन्। भर्नाको समय भएका कारण पनि अहिले माओवादीहरु चन्दा उठाउन अभियानमा रहेका हुन्। माओबादी सम्वद्ध कार्यकर्ताहरूले १५ लाख देखि २५ लाख रूपैयाँसम्म दिनुपर्ने भन्दै आफूहरुलाई दवाव दिइरहेको काठमाडौंका एक कलेज सञ्चालक बताउँछन्। उनीहरूले हरेक प्राविधिक विषयका क्याम्पसमा १५ लाखदेखि २५ लाखसम्मको रसिद थमाउँदै हिडेका छन्। स्वेच्छाले भनेपनि उनीहरुले तोकेको दरमा नदिए जे पनि गर्न सकिने भन्दै उनीहरुका तर्फबाट दबाब पनि आएको ति सञ्चालकहरुको भनाई।  
 
नेकपा माओबादीका महासचिव विप्लवको हस्ताक्षर सहित लेखिएको पत्रमा गत बैशाख १ गतेदेखि पार्टीले ३ महिने विशेष आर्थिक सहयोग अभियान सञ्चालन गरेको उल्लेख गरिएको छ। हाम्राकुरा डटकमलाई प्राप्त उक्त पत्रमा त्यस्तो धम्कीपूर्ण शब्द प्रयोग नगरिएको भएपनि आर्थिक सहयोगको माग गरिएको पत्र बोकेर आउने कार्यकर्ताहरूले क्याम्पस प्रशासनमा धम्की दिँदै हिँड्ने गरेको ती क्याम्पस सञ्चालकहरूले गुनासो गरेका छन्। यसरी पठाईएको पत्रमा भने राष्ट्रिय उन्नती विकास एवं भ्रष्टाचार विरोधि अभियानमा लागेको बताउँदै विशेष सहयोगको लागि आग्रह गरिएको छ। 
 
पार्टी चलाउन पैसा उठाएका हौः वास्तोला
नेपाल कम्युनिष्ट पार्टी माओबादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले पार्टी संचालनको लागि अभियानको रूपमा नै पैसा सञ्चालन गर्दै आएको स्वीकार गरेका छन्। उनले आफूहरूले राष्ट्रवादी पुँजीपति वर्गसँग आफूलाई इच्छा लागेजति रकम सहयोग गर्न आग्रह गर्ने गरिएको दाबी पनि गरे। ‘हामीले राष्ट्रवादी पुँजीपति वर्गसँग आग्रह गर्ने गरेका छौं।’ उनले भने ‘तर हामीले सामन्तवादी र भ्रष्टाचारी प्रवृत्तिका व्यक्तिहरूले भने दिएपनि पैसा नलिने गरेको पनि उनले बताए।’ 
अहिलेसम्मको व्यवहारमा सबैले राम्रै प्रतिक्रिया जनाएको भएपनि धेरै पैसा भने उठि नसकेको पनि उनले जानकारी दिए। उनले भने ‘रेस्पोन्स त राम्रै आएको छ तर पैसा भने भेरै उठिसकेको छैन। हामीले सबैसँग आग्रह भने गरिरहेका छौं जवर्जस्ती कसैलाई गरिएको छैन।  
 
तर, कलेज संचालकहरू भने उनीहरूले रकम नै तोकेर पैसाको माग गर्ने र नदिए जे पनि हुनसक्ने धम्की समेत दिने गरेको गुनासो गर्छन्। एक कलेज सञ्चालकले नाम नबताउने शर्तमा भने ‘तिर्न पनि कति तिर्नु, अलिअलि भएपो हुन्छ । उनीहरूलाई २५ लाख तिरेर कलेज चाहिँ टाट पल्टिने ?’ सरकारले शान्ति सुरक्षा कुरा मात्रै गर्ने गरेको भन्दै काठमाडौंमा समेत यस्तो धम्कीमा बाँच्नु परेपछि राज्यको सुरक्षा कहाँ छ?’ राज्यले आफूहरूलाई सुरक्षाको महसुश गराउन नसकेको आरोप पनि उनको थियो। 
 
त्यसो त यस विषयमा बाहिर हल्ला गर्दा आफू झनै असुरक्षित रहने भएकोले पनि आफूहरू चुपचाप बसेर पैसा तिर्नुपर्ने स्थितीमा पुगिसकेको पनि उनले बताए। अहिले केही समय अगाडि केही एनसेलको टावरमा आक्रमण गरेपछि विप्लव माओबादीका कार्यकर्ताहरुले चन्दा उठाउन आउँदा एनसेलको हालत बनाइदिने सम्मको धम्की समेत दिने गरेका छन्।  
 
उजुरी आए कार्वाही हुन्छः गृह प्रवक्ता
तर, सरकार भने सरकारले जो कोहीलाई पनि शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी दिएको दाबी गर्छन्। यसरी आपराधिक क्रियाकलापमा संलग्नहरूलाई कारबाही गर्नको लागि निर्देशन दिईसकेकोले गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाले जानकारी दिए। ‘कोही कसैले पनि कानून भन्दा बाहिर गएर केही नराम्रो काम गर्छ भने उसलाई कानून बमोजिम कारबाही गर्नको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिईसकेका छौं।’ उनले भने ‘तर सूचना भने पीडित पक्षले नै दिनुपर्ने हुन्छ।’
 
उता, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले कोही पनि अपराधी प्रहरीको फन्दाबाट उम्किन नसक्ने भन्दै यस विषयमा अहिलेसम्म कुनैपनि गुनासो र उजुरी नपरेको बताए। ‘कोही अपराधि छ भने उ हाम्रो फन्दाबाट उम्किन सक्दैन’ उनले भने ‘यदी त्यस्तो छ भने हामीलाइै गोप्य रूपमा पनि उजुरी दिन सकिन्छ। हामी त्यसलाई ठीक पार्ने काम गर्छौ।’
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ