काठमाडौं । विश्वभरका इस्लाम धर्मावलम्बिले वुध र विहिबार इद उल फित्र मनाउँदै छन् । नेपालमा पनि यस वर्ष विशेष तयारीका साथ इद मनाउने तयारी छ । नेपालका मुसलमानहरु नयाँ संविधान आएपछि आफुहरु स्वतन्त्र भएको र छुट्टै संवैधानिक आयोग बनेको भन्दै निकै हर्षित पनि छन् । जुन हर्ष इस्लामी संघ नेपालका अध्यक्ष खुर्सिद हुसेनको बोलीबाट समे प्रस्ट भएको छ । यद्यपि, मुस्लीम धर्मगुरु र नेपालको मुस्लीम इतिहासका जानकारहरु भने नेपाल हिन्दु राष्ट्र कायम हुन नसकेकोमा चिन्तित छन् ।
यो मेरो व्यक्तिगत विचार होइन । जो मुसलमान नेपालमै जन्मे, हुर्के । ४–५ पुस्ता देखि मुसलमानको नेपालमा आफ्नै इतिहास छ । ‘हिन्दू राष्ट्र भए हामी सुरक्षित हुन्छौ’–ती सबैको सामुहिक विचार हो । यी शब्दावली हुन् मुस्लिम धर्मगुरु अब्दुल रहमानका । रहमानले नेपाल हिन्दु राष्ट्र नरहे नेपालका राष्ट्र नै टुक्रा–टुक्रा हुने तथा हिन्दू र मुस्लीम दुबै लोप हुने बताए । उनले हिन्दुहरुकै आडमा आफुहरु नेपालमा टिकेर बसेको सुनाए ।
इतिहास कोट्याउँदै रहमानले भने, ‘नेपालमा राजतन्त्र हुँदा, हिन्दु राष्ट्र हुँदा जुन सुख र स्वतन्त्रता हामी मुस्लिमले पाएका थियौं त्यस्तो स्वतन्त्रता विश्वमा रहेका कुनै पनि मुसलमानहरुलाई थिएन ।’ सनातन धर्मले छुट्याएको न्याय र अधिकार हाम्रै अगाडी छ ।
जनकपुरमा रहेको राजा जनकको दरबार पडछाडी पश्चिममा उ जमानामा त्यही राजदरबार बनाउने कालिगढले बनाएको एउटा मस्जिद अहिले पनि कायम छ, रहमानले थपे, ‘शाह वंशले दिएको योगदान, नारायणहिटी राज दरबारको अघि रहेको काश्मीरी तलिया मस्जिद पनि यथावत छ । प्रमान अध्ययनको जरुरत नै छैन । थुप्रै प्रमाण छन् ।’ दुनियालाई गुम्राहामा राख्ने यो निरपेक्षताको अवधारणा ल्याइएको छ ।
यसले हाम्रो देशको धर्मलाई सखाप पार्ने र मित्रता बर्वाद गर्ने खेल हो । रहमानले कडाईका साथ भने, ‘हामीलाई लडाएर देश टुक्र्याउने खेल भइरहेको छ । जहाँ ६० प्रतिशत हिन्दु इसाईमा रुपान्तरण भएका छन् ।’ हिन्दूमाथिको प्रहार हामीमाथिको प्रहार हो । रहमानले हिन्दू धर्मलाई जति नजिकबाट चिनेका छन् इस्लामी संघ नेपालका अध्यक्ष खुर्सिद हुसेन त्यसरी चिन्दैनन् । उनको आफ्नै मत छ ।
हाम्रो संघर्षको पहिलो उपलब्धि नै धर्मनिरपेक्षता हो : अध्यक्ष खुर्सिद
इस्लामी संघ नेपालका केन्द्रीय अध्यक्ष खुर्सिद हुसेन धर्मनिरपेक्षताकै लागि आफुहरुले संघर्ष गरेकाले हिन्दु राष्ट्र भनिरहनु राम्रो नहुने बताए । धर्मनिरपेक्षतामा सबैलाई समानता हुन्छ । स्वतन्त्रता हुन्छ, हुसेनले भने, ‘राजतन्त्र चाहिन्छ भन्ने कोही कसैको माग होला तर धर्म निरपेक्ष हामी सबै धर्मावलम्बिको माग हो ।’
अब्दुर रहमानको विचार चैं ? जवाफमा उनले भने, ‘उहाँको त्यो व्यक्तिगत विचार होला । तर हामी सबै नेपालमा रहेका मुस्लीमहरुको विचार होइन ।’ अब्दुल रहमान तपाईहरुकै धर्म गुरु हुन् नी ? उहाँलाई म चिन्दिन, हाम्रो धर्म गुरु भूतपूर्व इस्लामी संघको अध्यक्ष अजुल हुसेन हुनुहुन्छ–अध्यक्ष खुर्सिदले भने । तपाईहरुलाई राज संस्थाले नै स्थापित गराएको भनिन्छ ? जवाफमा उनले आफुलाई इतिहासबारे त्यति जानकारी नभएको बताए । यद्यपि, नारायणहिटी अघिको काश्मीरी मस्जिद र नेपाली जामे मस्जिद नारायणहीटी दरबार बन्नु अघिनै बनेको उनले सुनाए ।
राजाहरुले कर्तव्य निभाएका हुन्, भावना गलत थिएन
उ बेला हामीहरुलाई स्थापित गरेको भनेर राजाहरुलाई श्रेय दिनु भन्दा पनि कुनै पनि शासकले मुलुभित्र बसोबास गर्ने हरेक नागरिक र धर्मको संरक्षण गर्नु उसको कर्तव्य हो । उनले भने, ‘यसमा कर्तव्यको कुरा आउँछ ।’ तर उनीहरुको भावना गलत थिएन । पूर्व राजपरिवारका सदस्यहरुले आफुहरुमाथि कहिल्यै गलत धारणा नराखेको भने अध्यक्ष खुर्सिदले स्वीकारे ।
धर्मनिरपेक्षमा भने हामी सबैको समान धारणा बन्न जरुरी रहेको उनले सुनाए । उनले आफुहरुको संघर्षको पहिलो उपलब्धिनै धर्मनिरपेक्षता रहेको बताए । पछिल्लो समय संविधानले छुट्टै संवैधानिक आयोगको रुपमा मुस्लिम आयोगको व्यवस्था गरिदिएको छ । उनीहरु संविधानप्रति पूर्ण खुस छन् ।
नेपालमा विहिबार इद
विहिबार इस्लाम धर्मावलम्बीहरुले इद मनाउँदै छन् । असार २३ गते बिहीबार इद उल फित्र परेको हुनाले सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुने छन् ।
साउदी अरबमा बुधबार इद उल फित्र मनाउने निर्णय भइसके पनि भारत, पाकिस्तान लगायत दक्षिण एसियाली मुलुकमा त्यसको भोलिपल्ट अर्थात् असार २३ गते बिहीबार मनाउने गरिन्छ । सरकारले यस वर्षका सार्वजनिक विदाहरुमा केही परिवर्तन गरेको भए पनि इदको अवसरमा सबैका लागि सार्वजनिक विदा कायम राखेको छ ।