काठमाडौं । गम्भीर (स्टेबलाइजिङ) अवस्थामा चावहिलको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य अवस्थालाई स्थीर (स्टेबल) मा ल्याउने प्रयास भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा ८–१० जनाको चिकित्सकको टोलीले डा. कोइरालाको उपचार गरिरहेको छ । चिकित्सकले डा. कोइरालाको अवस्था ‘स्टेबलाइजिङ्ग’ रहेको बताएका छन् ।
चिकित्सकले गरेको पत्रकार सम्मेलनमै डा. कोइरालाको अवस्था खतरामुक्त नरहेको बताएका हुन् । उपचारमा उनकै श्रीमती डा. सुपात्रा कोइराला पनि सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा. सुपात्राले निरन्तर डा. सशांकको निगरानी गरिरहेकी हुन्। न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार राति भर्ना भए पनि आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो । वान्ता स्वासप्रश्वास नलीमा गएपछि डा. कोइरालाको स्वास्थ्यमा थप जटिल समस्या परेको हो ।
गम्भीर अवस्थाका काँग्रेस महामन्त्री कोइरालालाई एयर एम्बुलेन्समार्फत भारत लैजानेबारेसमेत नेताहरुबीच छलफल चलिरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्नका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा रामशरण महतलगायत सयौंको संख्यामा ओम अस्पतामा पुगिसकेका छन् । त्यस्तै सयौं काँग्रेस कार्यकर्ता र अरु दलका नेता पनि अस्पतालमा पुगिसकेका छन् ।