arrow

बसको ठक्करले दुईको मृत्यु

logo
प्रकाशित २०७३ असार २२ बुधबार
भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा यात्रुवाहक बसको ठक्करबाट आज बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्तनगरबाट डडेल्धुराको जोगबुढाका लागि यात्रु लिएर हिँडेको ना ५ ख १४१५ को महाकाली यातायात व्यवसायी समितिको बसले अर्जुनीस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने राजमार्गमा बिग्रिएर रोकिएको सुदूरपश्चिम यातायातको बसलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । 
 
ठक्करबाट बस मर्मत गर्ने मिस्त्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका ३० वर्षीय मदन पन्त र ना ४ ख ४०३५ नम्बरको सुदूरपश्चिम यातायातका बस धनी कैलालीको अत्तरियाका ५५ वर्षीय पदम रोस्याराको घटनास्थलमै मृत्यु भएको हो । 
 
सुदूरपश्चिम यातायाताको ना ४ ख ४०३५ नम्बरको बस मङ्गलबार बिग्रिएपछि उक्त बसका धनी मृतक रोस्याराले आज बिहान भीमदत्तनगरबाट बसको मर्मतका लागि मिस्त्री मदन पन्तलाई लिएर अर्जुनी पुगेका थिए । मिस्त्री बसको मुनि बसेर बनाइरहेका थिए भने बसधनी रोस्यारा छेउमा उभिएका बेला भीमदत्तनगरबाट गएको ना ५ ख १४१५ नम्बरको बसले ठक्कर दिएपछि दुवै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 
 
त्यसैगरी, बसले राजमार्गमै गुडिरहेको से १ च १२७५ नम्बरको स्कारपियो जिपलाईसमेत ठक्कर दिएको छ । ठक्कर दिने बसका केही यात्रु घाइते भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलसहित प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । 
 
दुर्घटनामा परी विष्णु भाट र भारदा भुल गम्भीर घाइते भएको तथा उपचारका लागि कैलालीको अत्तरियातर्फ रिफर गरिएको छ भने बाँकी घाइतेको अवस्था सामान्य रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ