जर्मनीको क्रिश्चियन डेमोक्रेटिक पार्टीको मार्गमा ओली नेतृत्वको एमाले
यस्तो छ संघीयता र धर्म निरपेक्षताको विषयलाई बहसमा ल्याउनुको अन्तर्य
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
983
Shares
काठमाडौं । गत असार १९ गते शनिबार बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले पेश गरेको प्रस्तावले तरंग ल्याएको छ । सरकार चलाइरहेको देशकै ठूलो राजनीतिक दलको केन्द्रीय कमिटीको बैठकमा स्वयं प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट बस्नेतले संघीयता र धर्मनिरपेक्षताको विषयलाई बहसमा लैजाने गरी प्रस्ताव गरेपछि तरंग आउनु स्वभाविकै पनि हो । उनले संघीयता र धर्म निरपेक्षतासहित आठ प्रस्ताव पेश गरेपछि अहिले राजनीतिक वृत्त फेरि गर्माएको छ ।
बस्नेतको एकल विवेकले यस्तो प्रस्ताव अघि सारेको राजनीतिको कखरा बुझेका कसैले पनि पत्याएका छैनन् । ओलीले घोषणा गरेको चुनाव भइहाले ती चुनावमा यी विषयलाई राजनीतिक मुद्धा बनाएर लैजाँदा कति फाइदा कति बेफाइदा हुने भन्ने परीक्षण गर्न एमालेले विवादास्पद छविका नेता बस्नेतलाई पात्रका रुपमा खोजेको सहजै अनुमान गर्न सकिन्छ । संघीयताको खारेजी र धर्मनिरपेक्षता हटाउन तत्काल सम्भव होला नहोला तर यसलाई चुनावी एजेण्डा बनाएमा सके बहुमत आउने नभए पनि ठूलो दल हुन सकिने विश्लेषण पछि यो प्रस्ताव फालिएको एमाले स्रोतको दाबी छ ।
हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाले जनताको मत पाए पनि पार लगाउन नसकेको विगतलाई हेर्दै यस विषयमा छिनोफानो गर्ने प्रतिवद्धतासहित एमाले जनताको बीचमा जाने भित्री तयारीमा रहेको पनि एमाले स्रोत बताउँछ । राष्ट्रवादमा धर्म मिसाउँदा विश्वका कतिपय देशका राजनीतिक दलले लिएको लाभबाटसमेत ओली रणनीति प्रेरित रहेको देखिएको छ ।
एमालेले बोक्न खाजेको यो नयाँ धारणाले दोस्रो विश्वयुद्धपछि जर्मनीमा उदाएको क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सीडीयू) पार्टीको झल्को दिएको छ । लाखौं यहुदीको हत्या गरी प्रोटेस्टेन्ट र रोमन क्याथोलिक दुवै क्रिश्चियनलाई धार्मिक मानसिकताबाट माथि उठाएर राष्ट्रियता मात्रै कायम गर्ने हिटलरको योजना थियो । तर जर्मनीका नागरिकहरुलाई धार्मिक मानसिकताबाट हटाएर राष्ट्रियतालाई मात्रै केन्द्रबिन्दूमा राख्ने हिटलरको विचारधारा सफल हुन सकेन । हिटलरले युद्धका बेला नागरिकहरुलाई धार्मिकतासँग नजोडेर राष्ट्रियताका लागि मात्रै लड्न तयार पारेका थिए ।
हिटलरको पतनसँगै क्रिश्चियन धर्मलाई मुख्य केन्द्रमा राखेर सन् १९४५ को जुन २६ मा क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सीडीयू) को स्थापना भएको थियो । कोनराड अडिनयर अध्यक्ष एवं संस्थापक रहेको सीडीयूको संस्थापन पक्षमा युद्धपूर्वको क्याथोलिक सेन्टर पार्टीकै सदस्यहरु रहेका थिए । क्रिश्चियन केन्द्रीत प्रजातन्त्र, उदारवादी संरक्षक र युरोप समर्थित विचारधारा बोकेको सीडीयू पहिलो निर्वाचनमा नै ३१ प्रतिशत सीट जित्दै सत्तामा आएको थियो ।
राजनीतिमा धार्मिक एजेण्डा मिसाउँदा हुने सफलता सीडीयूको यो उपलब्धी उदाहरणको रुपमा हेरिँदै आइएको पाइन्छ । जस्तो कि हिटलरले व्यापक असफलताको पछाडि धर्म पन्छाउने एजेण्डाको भूमिका पनि एक कारण मान्न सकिन्छ । सीडीयूको व्यापक सफलताको पछाडि धर्म अर्थात् क्रिश्चियनिटीलाई केन्द्रमा राख्नु थियो । सन् १९४९ देखि १९६९ सम्म जर्मनीमा सीडीयूले सत्ता कायम राखेको थियो ।
नेपालमा पनि खासगरी माओवादी सशस्त्र द्वन्द्व र २०६२–०६३ को जनआन्दोलनको मुख्य उपलब्धीका रुपमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई हेरिएको छ । तर लामो संघर्षपछि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको उपलब्धी भए पनि यी तीनै कुराका विरोधीहरु पनि उत्तिकै छन् । अर्कापट्टी देशमा अझैं स्थिरता कायम हुन सकिरहेको छैन । यसैबीच एमाले्को बैठकमा औपचारिक रुपमै महेश बस्नेतले धर्मनिरपेक्षता र संघीयता परिमार्जनको प्रस्तावले एमाले कतै जर्मनीको सीडीयूले झैँ फाइदा उठाउन सकिन्छ की भन्ने सोचबाट अघि बढ्न खोजेको प्रतित हुन्छ।
हिन्दू धर्मलाई केन्द्रबिन्दूमा राखेर संघीयता खारेज गर्ने विषयलाई चुनावी एजेण्डा बनाएर जनता सामु जाँदा बहुमत पाउन सक्ने एमालेको यो आँकलनले सीडीयूको शुरूआती अवधारणासँग मेल खाएको देखिन्छ । अर्को संयोग जसरी वर्तमान राजनीतिक अवस्थामा सानाठूला दलहरु राजनीतिक र वैचारिक रुपले तितरबितर भएको अवस्था छ यस्तै अवस्था दोस्रो विश्वयुद्धपछि जर्मनीका पार्टीहरुको थियो । सीडीयूका संस्थापक अध्यक्ष कोनराड अडिनयरले जर्मन डेमोक्रेटिक पार्टी, जर्मन नेशनल पिपुल्स पार्टी र जमर्न पिपुल्स पार्टी लगायतलाई एकीकरण गरेर सीडीयूलाई झनै शक्तिशाली बनाएका थिए ।