पाकिस्तानी प्रधानमन्त्रीले भने : निर्वाचित प्रजातन्त्रभन्दा चिनियाँ प्रणाली उत्तम
एजेन्सी
प्रकाशित २०७८ असार २४ बिहिबार
961
Shares
फाइल तस्बिर
इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनको एक दलीय शासन प्रणाली नै उत्तम शासन प्रणाली भएको बताएका छन्। उनले पश्चिमा मुलुकहरूमा रहेको निर्वाचित प्रजातान्त्रिक प्रणालीभन्दा चीनको शासन प्रणाली अनुपम भएको बताएका हुन्।
बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी समारोहको अवसरमा इस्लामावादमा प्रधानमन्त्री खानले उक्त टिप्पणी गरेका हुन्। पाकिस्तानी प्रधानमन्त्रीले भने, "अहिलेसम्म हामीलाई भनिएको थियो कि समाजको सुधारको उत्तम मार्ग पश्चिमी प्रजातन्त्र हो। यद्यपि सीपीसीले एक वैकल्पिक प्रणाली ल्यायो र उनीहरूले पश्चिमी चुनावी लोकतन्त्रलाई चुनौती दिँदै अभूतपूर्व उपलब्धिहरू हासिल गरेका छन्।"
खानले समाजमा सत्तारूढ कुलीन वर्गलाई जिम्मेवार ठहर्याउने र योग्यता सुनिश्चित गर्ने प्रणाली भएको मुलुक सफल हुने पनि जनाएका छन्।
उनले भने, "अहिलेसम्म यस्तो भावना थियो कि नेताहरूलाई योग्य र जबाफदेही बनाउने उत्तम तरिका चुनावी प्रजातन्त्र हो। तर सीपीसीले प्रजातन्त्र विना धेरै राम्रो उपलब्धिहरू हासिल गरिसकेको छ। प्रतिभाको पक्षमा हिँड्ने र त्यसलाई ल्याउने प्रणाली प्रजातान्त्रिक प्रणालीभन्दा उत्तम छ।"
बेइजिङको शासन प्रणालीको प्रशंसा गर्दै खानले मुस्लिम बहुमतको सिन्जियाङ प्रान्तमा चीनले लिएका नीतिहरूमा पनि पाकिस्तानको समर्थन रहेको समेत उनले जनाएका छन्। "चिनियाँ अधिकारीहरूसँगको हाम्रो अन्तरक्रिया, सिन्जियाङमा के भइरहेको छ, त्यो संस्करण हामीले पश्चिमी मिडिया र पश्चिमी सरकारहरूबाट सुनेको भन्दा बिलकुलै फरक छ," उनले भने।
चीनले सिन्जियाङमा उइगुरहरूको नरसंहार गरेको प्रशस्त प्रमाण भएको बताइए पनि पाकिस्तानले यस क्षेत्रका अल्पसङ्ख्यकहरूको व्यवहारको बारेमा बेइजिङको नीतिलाई विश्वास गरेको उनले बताएका छन्।