arrow

२७ महिनाका सुजनलाई संसार देखाउने आमा-बाबुको रहर अधुरै

आर्थिक अभावमा सुजनको उपचार हुन सकेको छैन

logo
राम बहादुर थापा
प्रकाशित २०७३ असार २४ शुक्रबार
jal-bindu.jpg.jpeg
बागलुङ। बुर्तिवाङ–४ कुमालगाउँका एक शिशु सुजन कुमालको दुवै आँखामा जलविन्दु छ । २७ महिने कुमाल अरूको सहारामा हिँड्डुल गर्छन् । 
 
कुमाललाई संसार देखाउने उनका अभिभावकको रहर अधुरै छ । आर्थिक अभावमा सुजनको उपचार हुन सकेको छैन । कुमालले आफूअघि कोही बोलेको सुने छामछुम गर्ने, हाँस्ने गर्छन् । स्पष्ट बोल्ने कुमाल पिँढी, आँगनमा दौडन खोज्छन्, तर झुक्किन्छन्, लड्छन् । 
 
उनका आँखा अस्वाभाविक लाग्ने गरी ठूला र नीला भएका छन् । “धेरै नजिकको वस्तु, बाटो धमिलो देख्छ होला, टाढा देख्ने कुरै भएन”, सुजनका बुबा धनबहादुरले भन्नुभयो, “खै, अब उपचार नपाए सँधैभरिलाई दृष्टि गुम्ने हो कि, भन्ने चिन्ता छ ।” 
 
ऋण धन गरेर एकपटक उपचार गरिए पनि जलविन्दुको समस्या नटरेको उहाँको भनाइ छ । “डेढ वर्षअघि काठमाडौँमा लगेर उपचार गराएका हौँ, अस्पतालले थप उपचारका लागि ल्याउन भनेको थियो, आर्थिक स्रोत नभएकाले पछि लान सकेनौँ”, धनबहादुरले भन्नुभयो । 
 
तिलगङ्गा आँखा अस्पतालमा गरिएको पहिलो शल्यक्रियापछि पनि कुमालको समस्या उस्तै छ । जलविन्दुको समयमै उपचार नगरे पछि पूर्णरुपमा दृष्टि गुम्ने चिकित्सकले बताएको सुजनकी आमा जमुना कुमालले बताउनुभयो । 
 
“ऋण काढेर उपचारका लागि काठमाडौँ लग्यौँ, तिलगङ्गा अस्पतालमा शल्यक्रिया गरेपछि बाबुका आँखा झन् ठूला भएका छन्, बिग्रिएजस्ता देखिन्छन्”, जमुनाले भन्नुभयो । उहाँले शल्यक्रियाको दुई महिनापछि चिकित्सकले जाँचका लागि ल्याउन भने पनि आर्थिक अभावका कारण जान नसकेको बताउनुभयो । 
 
समयमै पहिचान गरेर उपचार गरे जलविन्दु रोकथाम गर्न सकिने चिकित्सक बताउँछन् । मजदुरी गरेर परिवार धान्दै आएका कुमाल परिवारले कतैबाट सहयोग पाए सुजनलाई थप उपचारका लागि लैजाने बताएका छन् । छोराको समस्या थप बल्झँदै गएपछि कुमाल दम्पती निराश बनेका छन् । “उपचार हुने भए र सहयोग पाएमा त लैजाने थियौँ, पछि झन् पूरै नदेख्ने हुन्छ भन्नुभएको छ, डाक्टरले”, सुजनका बुबा धनबहादुरले भन्नुभयो । 
 
बुबा आमा दुवै मजदुरीमा जाँदा हजुरआमा सन्तकुमारी कुमालले सुजनको हेरचाह गर्ने गर्नुभएको छ । सुजनका दुई दाइ सन्देश र दिनेश छन् । उनीहरु विद्यालय जान्छन् । 
 
प्रारम्भिक तह पढ्ने बेला सुजन भने आँखा नदेख्ने समस्याबाट गुज्रेका छन् । कमजोर आयस्तरका कारण उनको पालनपोषण, सरसफाइमा पनि समस्या देखिएको छ । चरम गरिबी रहेको कुमाल गाउँका मिलन कुमालले सुजनमा सानैदेखि समस्या रहेपनि बेलैमा उपचार पाउन नसकेको बताउनुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ