arrow

बाढी पहिरोमा ४७ जनाको मृत्यु, १६ बेपत्ता

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
shakti-basnet-new-photo.jpg.jpeg
काठमाडौँ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाख यता मुलुकका विभिन्न भागमा भएका बाढी पहिरोका घटनामा परी ४७ जनाको मृत्यु हुनुका साथै १६ जना बेपत्ता भएको जानकारी दिनुभएको छ । 
 
व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी गराउने क्रममा उहाँले यो अवधिमा भएका १२१ वटा बाढी पहिरोका घटनामा परेर ५७ जना घाइते भएको बताउनुभयो । बाढी पहिरोबाट १३८ घर पूर्ण क्षति हुनुका साथै १६० मा आंशिक क्षति पुगेको उहाँले सदनलाई जानकारी दिनुभयो । 
 
बाढी पहिरोबाट खासगरी सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, सल्यान, लमजुङ, रोल्पा, धादिङ, बाग्लुङ, सिन्धुली, गुल्मी, बाजुरा, चितवन, मोरङ, दाङलगायतका जिल्ला प्रभावित भएको गृहमन्त्री बस्नेतले जानकारी दिनुभयो । 
 
अरनिको राजमार्गमा चार किलोमिटर, दार्चुला, कर्णाली, पासाङ राजमार्ग बाढी पहिरोका कारण अवरुद्ध भएकामा सडक विभाग र सुरक्षा फौजको सक्रियतामा तत्कालै खुलाउने प्रयास भइरहेको बताउँदै उहाँले भूउपयोग नीतिलाई योजनाबद्ध रुपमा अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 
 
उहाँले विभिन्न स्थानमा भएको अतिवृष्टि र खण्डवृष्टिले पनि बाढी पहिरोका घटना वृद्धिले मानवीय र धनको क्षति हुन पुगेको धारणा राख्नुभयो । 
 
चट्याङबाट मुलुकभर भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै गृहमन्त्री बस्नेतले ललितपुरको टौखेलमा पर्खाल भत्किँदा बालबालिकाको मृत्यु भएको घटनाबारे पनि सदनलाई जानकारी गराउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ