काठमाडौं । निमोनियाको संक्रमण भएर अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । कोइरालाले विहान जुस र चिया पिएको तथा दिउँसो मुखैले झोलिलो (सुप), दाल समेत पिएको उपचारमा संलग्न चिकित्सक लवनरसिंह जोशीले बताए ।
कोइराला बोल्न सक्ने अवस्थामा रहेपनि तत्काल नबोल्न भनिएको छ । उनलाई हाल पनि सघन उपचार कक्ष (आइसीयु) मै राखिएको चिकित्सक जोशीले जानकारी दिए । उहाँलाई कुनै मेसिनको जरुरत छैन, अहिले उहाँ आफ्नै श्वासप्रश्वासमा आश्रित हुनुहुन्छ–जोशीले भनेका छन् । यद्यपि अक्सिजन दिइनै रहेको जोशीले बताए । यसअघि विहिबार राति कोइरालाले ‘ अब घर जाने हैन हामी ’ भनेका थिए । तर, स्वकिय भरत तिवारीले केही दिन यही बसेर निको भएपछि जाने भन्दै सुझाएका थिए ।
चिकित्सक जोशीका अनुसार उहाँलाई अब एक दुई दिन डिस्टर्ब गर्न हुँदैन । जोशीले भने, ‘मान्छेहरू गएर बोल्दा पनि उहाँलाई संक्रमण हुन सक्छ ।’ भेटघाटमा सर्तकता अपनाइएको छ ।
अस्वस्थ भएपछि मङ्गलबार साँझ डा.कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । बुधबार विहान वान्ता भएपछि खाना सर्किँदा महामन्त्री कोइरालाको स्वास्थ्य गम्भीर भएकामा चिकित्सकको टोलीले विहिबार दिउँसो मात्रै भेन्टिलेटरबाट बाहिर निकालेको थियो । यद्यपि, कोइरालाको स्वास्थ्यमा आएको चामत्कारिक सुधारले चिकित्सकनै छक्क परेका छन् ।