काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाको उपचारका लागि भारतबाट ४ जना चिकित्सक आएका छन्। एपोलो अस्पताल दिल्लीबाट आएका चिकित्सकहरुले कोइरालाको उपचार आजै सवा १२ बजे बाट शुरु गरेका छन्। बरिष्ठ चिकित्सक विसी खिलनानीको नेतृत्वमा आएका ४ चिकित्सकहरुले कोइरालाको उपचारका लागि परिक्षण शुरु गरेका छन्। उनीहरुले नेपालका चिकित्सकहरुले गरेको उपचारको विधी र प्रक्रियालाई सह्राना गर्दै आफ्ना राय दिएका छन्।
भारतबाट आएका चिकित्सकहरुको टोलीमा न्यूरोलोजिष्ट, फिजिसियन, छातीरोग विशेषज्ञ र कार्डियोलोजिष्ट गरि ४ जना रहेका छन्। भारतीय टीमले सशांकको परीक्षण पछि अस्पताल प्रसासनले आजै पत्रकार सम्मेलन समेत गर्ने जनाएको छ।
निमोनियाको संक्रमण भएर अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यवस्था भने सामान्य बन्दै गएको छ। कोइरालाले विहान जुस र चिया पिएको, मुखैले झोलिलो सुप, दाल समेत पिएको उपचारमा संलग्न चिकित्सक लवनरसिंह जोशीले बताएका छन्।
कोइराला बोल्न सक्ने अवस्थामा रहेपनि तत्काल नबोल्न भनिएको छ। उनलाई हाल पनि सघन उपचार कक्ष आइसीयुमै राखिएको चिकित्सक जोशीले जानकारी दिएका छन्। उहाँलाई कुनै मेसिनको जरुरत छैन, अहिले उहाँ आफ्नै श्वासप्रश्वासमा आश्रित हुनुहुन्छ–जोशीले भनेका छन्। यद्यपि अक्सिजन दिइनै रहेको जोशीले बताए। यसअघि विहिबार राति कोइरालाले ‘अब घर जाने हैन हामी’ भनेर चिकित्सकहरुलाई सोधेका थिए। तर, स्वकिय भरत तिवारीले केही दिन यही बसेर निको भएपछि जाने भन्दै सुझाएका थिए।
चिकित्सक जोशीका अनुसार उहाँलाई अब एक दुई दिन डिस्टर्ब गर्न हुँदैन। जोशीले भने, ‘मान्छेहरू गएर बोल्दा पनि उहाँलाई संक्रमण हुन सक्छ।’ भेटघाटमा सर्तकता अपनाइएको छ।
अस्वस्थ भएपछि मङ्गलबार साँझ डा कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । बुधबार विहान वान्ता भएपछि खाना सर्किँदा महामन्त्री कोइरालाको स्वास्थ्य गम्भीर भएकामा चिकित्सकको टोलीले विहिबार दिउँसो मात्रै भेन्टिलेटरबाट बाहिर निकालेको थियो । यद्यपि, कोइरालाको स्वास्थ्यमा आएको चामत्कारिक सुधारले चिकित्सकनै छक्क परेका छन्।