arrow

अमेरिकी सहर डालसमा पाँच प्रहरीको मृत्यु, सात घाइते

logo
प्रकाशित २०७३ असार २५ शनिबार
ss-160708-nationwide-protests-mbe-.jpg.jpeg
डालस (अमेरिका)। दुई फरकफरक राज्य मिनेसेटा र लुजियानामा दुई जना अश्वेत नागरिकलाई प्रहरीले हत्या गरेपछि भड्किएको हिंसाका कारण यहाँका विभिन्न सहरमा प्रदर्शनका क्रममा तैनाथ प्रहरी अधिकारीमाथि बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा पाँच जना प्रहरीको मृत्यु भएको डालसका नगर प्रमुखले शुक्रबार बताए । 
 
घटनामा सात जना सुरक्षाकर्मी र अन्य दुई नागरिक घाइते भएका नगरप्रमुख माइक रलिङ्सले अमेरिकी सञ्चारमाध्यमलाई बताएको जनाइएको छ । घाइतेमध्ये केही प्रहरीको अवस्था चिन्ताजनक रहेको डालसका प्रहरी प्रमुखले बताएका छन् । घटनालगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामा ट्वीट गर्दै यस घटनालाई क्रुर, सुनियोजित एवम् घृणित बताउदै घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याइने बताए । 
 
नगरप्रमुख रलिङ्सले घटनामा संलग्न भएको बताइएका एक आक्रमणकारीको पार्किङस्थल नजिकै मृत्यु भएको बताए। यसैगरी प्रहरीलाई नसगाएको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरी हिरासतमा लिइएको छ । यसैबीच डालस आक्रमणमा टेक्सास निवासी २५ वर्षीय मिका जोनसन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ । 
 
स्थानीय समाचार संस्था सीबीएस न्युज तथा एनबीसी न्युजले पछिल्लो समय जोनसन डालसको बाहिरी भूभागमा अवस्थित मेक्सिटमा बस्दै आएको बताएका छन् । उनी झडपमा मारिएका थिए । अमेरिकी प्रशासनले आक्रमणलाई अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ पछि कानुन अधिकारीमाथि भएको सबैभन्दा ठूलो क्षति भनी बताएको छ । 
 
सुरक्षाकर्मीले आफ्ना जीवन अमेरिकी नागरिकको सुरक्षाका लागि आहुती दिएका बताउदै रलिङ्सले सीएनएन टेलिभिजनसँग भने यो भयङ्कर दुःखद घटना हो । लुजियानाका आल्टन स्टर्लिङ र मिनेसोटाका फिलान्डो क्यास्टाइलमाथिको आक्रमणपछि अमेरिकी एटलान्टा, सिकागो, लस एन्जेल्स, सेन्ट पल, वासिङटनलगायतका सहरमा हजारौँ प्रदर्शनमा उत्रेपछि अमेरिकी राष्ट्रपति ओबामाले भाबुक बन्दै प्रहरी प्रशासनमा सुधार गरिनुपर्ने बताएका छन् । 
 
नेटो सम्मेलनका लागि पोल्यान्ड पुगेका राष्ट्रपति ओबामाले घटनाप्रति सबै अमेरिकी नागरिक चिन्तित हुनुपर्ने बताउएका हुन् । घटना हेर्दा छालाको रङ्गकै कारण उनीहरुलाई त्यस्तो व्यवहार गरिएको छ जस्तो लाग्छ । यो अत्यन्त दुःखद कुरा हो, अमेरिकी राष्ट्रपतिले भने । उनले केही समुदाय प्रहरीप्रति अविश्वास गरेको बताउँदै यसलाई सम्बोधन नगरिए न्याय सम्पादन थप जटिल हुने जनाए । 
 
राष्ट्रपति ओबामाले आन्तरिक विभेद हटाउनका लागि कानुन कार्यान्वयन गर्ने एकाईहरुसँग आग्रहसमेत गरे । राष्ट्रपति ओबामाले घटनाका सम्बन्धमा डालसका नगरप्रमुखसँग फोन वार्ता गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्  । राष्ट्रपतिले घटनाका दोषीलाई कानुनी कठघरामा ल्याई पीडितलाई न्याय दिलाउन आफ्नो साथ रहने आश्वासनसमेत दिएको बताइएको छ ।एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ